Kanakai Online

‘सिसौको रूख कटानमा आफ्नो संलग्नताको प्रमाण पुर्याए सजाय भोग्न तयार छु’ प्रदेश सांसद प्रधान


आइतवार, असोज ११, २०७७ |

कनकाई अनलाईन
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं। २ ९ख० का प्रदेश सांसद बृखबहादुर प्रधानले सुखानी सहिद स्मृति उद्यान परिसरमा रहेका सुकेका सिसौका रुखहरु व्यवस्थापन समितिले नै कटान गरेकाले सो सम्बन्धमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

विभिन्न सञ्चार माध्यममा विषयान्तर गरी आफ्नो चरित्र हत्या गर्ने आशयले समाचार आएको भनी उद्यान परिसरमा आज पत्रकार सम्मेलन गर्दै सांदस प्रधानले चरित्र हत्या गर्ने नियतले प्रचारबाजी भएको भन्दै रुख काटेको प्रमाणित गर्नसके जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन् ।

अर्जुनधारा–११ स्थित सुखानी सहिद स्मृति उद्यान परिसरमा सिसौ प्रजातिको तीन वटा रुख काटिएको घटनामा सांसद प्रधानको नाम जोडिएर आएको थियो । समाचारमा उल्लेख भएअनुसार आफ्नो कुनै संलग्नता नभएको दोहोर्याएका उनले केही व्यक्तिबाट समाचार सम्प्रेषण गर्न प्रेरित गरिएको पाएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको ठोकुवा गरे ।

घटनाको विषयमा सत्यतथ्य र विना प्रमाण एकपक्षीय र व्यावसायिक मर्यादालाई पालना नगरी केही मिडियाहरुले आफूमाथि लाञ्छना लगाएको उनको भनाई छ । सुकेको रुखहरुका कारण उद्यान परिसरमा रहेको कछुवा उद्दार तथा संरक्षण केन्द्रमा हुनसक्ने क्षतिलाई जोगाउन उद्यान व्यवस्थापन समितिको बैठकमा एजेण्डाको रुपमा प्रवेश गरेको रुख काट्ने विषयमा मौखिक सहमति भएको हुँदा समितिले उक्त रुखहरु काटेको उनले प्रष्ट पारे । समितिले नै रुख काट्न लगाएको निर्णयको प्रतिलिपी उनले पत्रकारसामु पेश गरेका थिए ।

रुख कटानको समयमा उनको उपस्थितिका बारेमा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘हो, मैले रुख कटान गर्दै गरेको देखेको हुँ । भैंसी घर ल्याउन आहालमा गएको बेला रुख कटान भइरहेकोले कछुवा संरक्षण केन्द्रतर्फको वाल जोगाएरमात्र ढाल है भनेको हो ।’ यस्ता भ्रामक हल्ला फैलाएर आफ्नो चरित्र हत्या गर्ने जोकोहीलाई पनि कानून बमोजिम कार्वाही गर्न प्रशासन समक्ष माग गर्दै उनले यस्तो विषयमा राजनीतिक प्रतिशोध नसाँध्न सबैसँग अनुरोध पनि गरेका छन् ।

यता उद्यान व्यवस्थापन समितिले पनि परिसरभित्र रहेका सुकेका रुखहरु कटान गर्ने विषयमा अनौपचारिक छलफल भइरहेको अवस्थामा हावा हुण्डरी आउन थालेपछि अचानक रुख काट्नु परेको स्वीकारेको छ । अचानक वर्षासँगै आएको हावाहुरीले सुकेको रुखका कारण कछुवा उद्दार तथा संरक्षण केन्द्रलाई क्षतिबाट जोगाउन तत्काल तीन वटा रुख काटिएको असोज ८ गते बसेको बैठकले निर्णय गरेको छ ।

बैठकको निर्णयअनुसार कछुवा उद्दार तथा संरक्षण केन्द्रमा जोखिम अवस्थामा रहेका अन्य सुकेको सिसौ प्रजातिको रुखहरु कटान गर्न आवश्यक प्रक्रिया पूरा गरी पहल गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।

सम्बन्धित खबर