कनकाई अनलाईन
कोरोना संक्रमणबाट गएराती झापा कनकाई नगरपालिकाका एक ४६ बर्षिय पुरुषको मृत्यु भएको छ । उनी स्थानीय विद्यालयका कर्मचारी भएको बुझिएको छ ।
कनकाई नगरपालिका ९ घैलाडुब्बाका राजवंशी थरका पुरुषको मृत्यु भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
सुगर र प्रेसर रोगी ती पुरुष मेची प्रादेशिक अस्पतालमा उपचारका लागि गएका थिए । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरमा गएका थिए । त्यहाँ उनलाई कोरोना संक्रमण देखिएपछि कोभिड अस्पताल बिराटनगरमा लगिएको र त्यहि गएराती शनिवार उनको मृत्यु भएको कनकाई नगरपालिका स्वास्थ्य साखाका नारायण अधिकारीले जानकारी दिनुभयो । कनकाई नगरपालिकामा यो सगै मृत्यु हुनेको सड्ख्या २ पुगेको छ । यसअघि कोरोना संक्रमित एक महिलाको समेत मृत्यु भएको थियो ।
कनकाई नगरपालिकाले आफ्ना नागरिकको कोरोनाको कारण मृत्यु भएमा दाहसस्कारका लागि कनकाई सामुदायिक वनमा राख्ने निर्णय गरेपनि पछिल्लो समय जिल्लाकै मानिसको मृत्यु भएमा कनकाई घाटमा दाहसस्कार गरिन थालेपछि कनकाईको समेत उत्तरतर्फ रहेको एउटा घाटमा दाहसस्कार गरिदै छ । यसैविच आज झापामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिर्तामोड–१ की एक जना ९० वर्षीय बृद्धा, अर्जुनधारा–३ का एक ५१ वर्षीय पुरुष र दमक–५ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीय हुन् । दमक र अर्जुनधारामा भेटिएका कोरोना संक्रमितको स्वाब धरानमा संकलन गरिएको थियो ।
झापामा योसँगै कोरोना संक्रमितको संख्या ८४७ पुगेको छ । आजसम्मा ७७४ जना उपचार पछि डिस्चार्ज भएका छन् । २५ हजार ५१४ जनाको स्वाब संकलन गरिएको छ । ६६ जना आइसोलेसनमा उपचाररत छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।