Kanakai Online

इस्टुले पारिश्रमिक नदिने बिरूद्ध उजुरी दिने


बिहिवार, असोज ८, २०७७ |

कनकाई अनलाइन।भद्रपुर, ८ अशोज ।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको अशोज ३ गतेको जिल्ला भेलाको निर्देशन अनुसार श्रम ऐन तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त अनुसार शिक्षक कर्मतारीको पारिश्रमिक नदिने संस्थागत विद्यालय बिरूद्ध कानुनी उपचार सुरू गरिने भएको छ ।

पहिलो चरणमा अशोज १२ गतेबाट शिक्षक कर्मचारीलाई तलव नदिने विद्यालयहरूको नाम किटान गरी श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गर्ने तयारी गरिएको हो ।उजुरी समितिमा झापाका एक सय विद्यालयले शैक्षिक वर्ष २०७६ कै पारिश्रमिक नदिएको उजुरी आइ सकेको छ भने २०७७ बैशाखदेखि भदौसम्म पारिश्रमिक नदिने तीन सय विद्यालयको नाम शिक्षक कर्मचारीले दिइसकेका छन् ।

उजुरी समितिका संयोजक राजु वरालले श्रम ऐन तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त अनुसार पारिश्रमिक नदिने विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई अशोज १२ गतेभित्र उजुरी दर्ता गराउन आव्हान गरेका छन् ।संस्थागत विद्यालय शिक्षक युनियन केन्द्रीय समितिले साउन ४ को प्याब्सन एन प्याब्सनसितको सहमती कार्यान्वयन नभएको ठहर गर्दै देशभर अशोज ११ बाट आन्दोलनको घोषणा गरिसकेको छ भने इस्टु झापाले पालिका स्तरबाट सञ्चालित आन्दोलनलाई अनुमोदन गरेर निर्णायक चरणमा पुर्याउन सवै पालिका समितिलाई आव्हान गरिसकेको छ ।

यसै बीच भद्रपुर नगर समितिले निर्णायक आन्दोलनका रूपमा सञ्चालन गरिरहेको आन्दोलनमा वार्ता तथा संवादले निकास दिन नसक्ने ठहर गर्दै कानुनी उपचार मार्फत भण्डाफोर अभियान अगाडि बढाउने प्रष्ट पारेको छ । भद्रपुरमा शैक्षि वर्ष २०७६ को तलव नदिने ११ वटा विद्यालयको नाममा उजुरी आइसकेको छ भने २०७७ बैशाखयता तलव नदिने विद्यालयको नाम संकलन सुरू गरिएको छ । पारिश्रमिक नपाएर पीडित हुन पुगेका शिक्षक कर्मचारीलाई उजुरी दिन आग्रह गरिएको छ ।