कनकाई अनलाइन
झापा,भदौ ११।गोरु काटेको विषयलाई लिएर विवाद उत्पन्न भएपछि तनावग्रस्त बनेको झापा गाउँपालिका-३ को कामाटोली बजार सामान्य बनेको छ ।
बिहीबार बिहान ७ बजेसम्म चिया नास्ता पसलहरु सञ्चालनमा आइसकेका छन् भने अरु पसलहरु समेत खुल्ने तरखरमा छन् । स्थिति सामान्य बन्दै गएपछि राति अबेरसम्म तैथान सुरक्षाकर्मी पनि कामाटोली बजारबाट फर्किएको बताइएको छ ।
गोरु काटेको आरोपमा दुई जना स्थानीयलाई पक्राउ गरि जिल्ला प्रहरीतर्फ ल्याउने क्रममा स्थानीय मुस्लिम समुदायले आक्रमण गरेपछि भएको दोहोरो झडपमा परि झापा गाउँपालिका ३ कामाटोली बजारमा एक जना मुस्लिमको गोली लागि मृत्यु भएपछि कामाटोली बजार हिजो साँझ तनाबग्रस्त बनेको थियो।
प्रहरीको गोली लागेका झापा गाउँपालिका ३ कामाटोलीका अन्दाजी ४८ बर्षिय रफिक मियाको मृत्यु भएको छ। मियाको उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनको ढाडमा २ गोली लागेको बताइएको छ ।
आरोपीलाई ल्याउने क्रममा स्थानीयले प्रहरी जवानलाई हातपात गरेर प्रहरीको राइफल खोस्न थालेपछि बाध्य भएर प्रहरीले फायर खोलेको प्रहरीले जनाएको छ ।
यता उक्त घटनाबाट स्थानीय एक जना पनि घाइते भएको स्थानीयले बताएका छन । उनको टाउकोमा चोट लागेको छ ।