किरण थापा
मेलम्ची, २४ पुस ः इन्द्रावती गाउँपालिका वडा नं ११ र १२ का स्थानीय दिनभरजसो बगरमै भेटिने गरेका छन् । त्यहाँका स्थानीयको आयआर्जनको मूल बाटो नै बगर रहेको छ ।
घरखर्च चलाउन होस् या केही खर्चको जोहो गर्न स्थानीयलाई बालुवा चाल्नुको विकल्प छैन । इन्द्रावती–११ का गोरे माझी इन्द्रावती नदीको बगरमा टिपरमा बालुवा लोड गर्दै गर्दा भेटिनुभयो । बालुवा चाल्नु र सो बालुवा बेच्नु उहाँको दिनचर्या बनेको छ । उहाँलगायत अरु दुई÷चार जनाको समूहले चालेर जम्मा गरेको बालुवा लिन टिपर आउने गरेका छन् । बिहानैदेखि दिनभरी बालुवा जम्मा गरेर नबेचे बेलुका घरको चुलो बल्न समस्या हुने उहाँले बताउनुभयो । आर्थिकरुपमा विपन्न तथा बेरोजगार परिवारका माझीले विगत लामो समयदेखि बगरमा बालुवा चाल्दै आउनुभएको छ । बालुवा चालेर बिक्री गरी आएको रकमले उहाँको परिवारको घरखर्च चल्दै आएको छ । ‘सिजन’मा रु ५०÷६० हजारसम्म आम्दानी गर्ने उहाँले बताउनुभयो । सो पैसाले घरको खर्च धान्न र अरु काममा खर्च प्रयोग गर्ने उहाँले बताउनुभयो । सामूहिकरुपमा बगरमा बालुवा चाल्ने काम गर्दै आएका दनुवार तथा माझी समुदायका स्थानीयलाई एक टिपर लोड गरेबापत रु तीन हजार पाँच सय आउने गरेको छ ।
कुनै दिनमा दुई÷तीन गाडीसम्म लोड गर्न सकिने उहाँको भनाइ छ । बेरोजगार भएकाले आम्दानीको स्रोत बनेको बगरबाट आएको पैसाले घरको खर्च चलाउनुका साथै विवाह, छेवरलगायतका पर्वमा खर्च गर्नुपर्ने हुन्छ तर बालुवा चालेको रकम पर्याप्त नहुने उहाँले बताउनुभयो । “बेरोजगार भएकै कारण बालुवा चाल्नु परेको हो, पढाइ पनि छैन र अरु सिप पनि छैन”, उहाँले भन्नुभयो । रोजगारी नहुँदा इन्द्रावती–११ का माझी समुदायका व्यक्ति नदीको बगरमा बालुवा चाल्ने काममा संलग्न हुँदै आएका छन् । इन्द्रावती–११ कै बाबुराम माझी समेत बालुवा चाल्दै आउनुभएको छ । बालुवा चालेर एक दिनमा रु चार सयदेखि पाँच सयसम्म कमाउने गरेको उहाँ बताउनुहुन्छ । “गत वर्ष असार १ गतेको बाढीले खेत बगायो”, उहाँले भन्नुभयो, “कमाइ खाने खेत नभएपछि अहिले बालुवा चालेर गुजारा गर्ने गरेको छु, तर ढुक्कले बालुवा बेच्न पनि पाइँदैन, पालिकाले ठेक्का लगाएकाले बगरमा जाँदा प्रहरीले दुःख दिन्छन्, अब हामीले गरिखाने ठाँउ नै हराउला भन्ने डर भयो”, उहाँले भन्नुभयो । विशेषगरी असार, साउन, भदौ र असोजमा यहाँको माझी समुदायले बालुवा चालेर बेच्ने गरेका छन् । गाउँपालिकाले ठेक्का प्रक्रियामार्फत बगरको जिम्मा लगाउने गर्दा स्थानीयलाई समस्या हुने गरेको छ । बालुवा चाल्ने काम बन्द हुँदा यहाँका स्थानीय ज्यामी काम गर्ने गरेका छन् । हरेक दिनजसो स्थानीयलाई प्रहरीले दुःख दिने गुनासो आउने गरेको वडा नं ११ का वडाध्यक्ष रामजी माझीले बताउनुभयो ।
व्यावहारिकता हेर्ने हो भने स्थानीय मारमा परेको तर कानुनीरुपमा भने गाउँपालिकाले ठेक्का लगाइसकेको हुँदा समस्या हुने उहाँले बताउनुभयो । माझी समुदायका व्यक्तिमा सीप र शिक्षा नभएका कारण बालुवा चालेर गुजारा गर्न बाध्य भएको वडाध्यक्ष माझी बताउनुहुन्छ । गत वर्षको असार १ गतेको बाढीपछि बगरमा काम गरेर गुजारा गर्ने व्यक्ति बढेको उहाँले बताउनुभयो । “पहिला दुई हजार रोपनीजति खेत थियो, बाढीले सबै खेतलाई बगर बनायो”, वडाध्यक्ष माझीले भन्नुभयो । पहिला धान र आलु लगाउने गरिएको खेत अहीले बगर बनेको उहाँले बताउनुभयो । पहिला माछा प्रशस्त पाउने भए पनि हाल खोलामा माछा पाउनै छाडेको छ । त्यसकारण पनि स्थानीयलाई गुजारा चलाउन बालुवाकै भर पर्नुपरेको छ । बिरामी भयो भने उपचार गर्न र घरखर्च चलाउन माछा बेचेरै कमाउने माझी समुदाय हाल बालुवा चाल्ने काम गर्दै आइरहेका छन् ।
“यो पेसा दिगो हैन, हामी विकल्पमा केही उपाय सोचिरहेका छौँ”, अध्यक्ष माझीले भन्नुभयो, “जिन्दगी चलाउने हिसाबले यो काम नगर्नुस् भनेर भनेका छौँ ।” अहिले पनि सो समुदायका चार सय घरधुरीका ९० प्रतिशतभन्दा बढी व्यक्ति बगरकै भरमा गुजारा गर्दै आइरहेका छन् । वडाबाट बङ्गुरपालन, कुखुरापालनलगायतमा जोड्ने काममा अनुदान दिइरहेको उहाँले बताउनुभयो । कृषिलाई आधुनिक तरिकाबाट खेती गर्न केही किसानलाई अनुदानका रूपमा टनेल र तरकारीको बीउ वितरण गरेको वडाध्यक्ष माझीको भनाइ छ ।(रासस)