कनकाई अनलाईन
नेपालको पुर्वीद्धारमा रहेको एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने एसियाली राजमार्ग आइपुगेको मेचीनगर काँकरभिट्टामा संचालित छ लेनको मितेरी पुलको आइतवार उद्घाटन गरिएको छ ।
नेपालको सुदुरपूर्वीनाका काँकडभिट्टामा रहेको छ लेनको नयाँ पुल निर्माण भएको डेढ वर्षपछि सञ्चालनमा आएको छ ।
मेची भन्सार कार्यालय र भारतीय भन्सार कार्यालयका अधिकारीहरुले आइतवार आ–आफ्नो मुलुकको झण्डा फहराउँदै यातायातका साधनलाई प्रस्थान अनुमति दिएर पुल सञ्चालन ल्याइएको हो ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकले नेपालतिर र नक्सलबारी भन्सार डिभिजनकी उपआयुक्त छिरिङ शेर्पाले भारततिर पुलको रिबन काटेर पुलको उदघाटन गर्नुभएको हो ।
काँकडभिट्टाबाट भारतको पानीटंकी नाका जोड्ने मेची नदीमा निर्मित ‘मितेरी पुल’ ५७५ मिटर लामो छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले २०७३ सालमा पुल निर्माणको सम्झौता गर्नुभएको थियो । पुलको आधा भाग नेपाली सीमाभित्र र आधा भाग भारतमा रहेको छ । एसिया उपक्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको भारतीय एक अर्ब ६० करोड ऋण सहयोगमा भारत सरकारले नै पुलको निर्माण गरेको हो ।
निर्माणको क्रममा पुलको पश्चिमी भागमा पाँच सय मिटर एप्रोच सडक बनाउँदा त्यहाँ बसोबास गरेका ४३ परिवारलाई तीन करोड ३७ लाख रुपैयाँ मुआब्जा नेपाल सरकारले दिएको थियो ।
नयाँ पुल फराकिलो र सुविधाजनक भएकाले नेपाल भारत सिमामा आवतजावतमा सहज भएको छ । पुलबाट सबै प्रकारका यातायातका साधनले आवागमनको अनुमति पाएको छ भने दक्षिणतर्फ रहेको पुरानो पुलबाट तीन चक्के टेम्पो, रिक्सा, मोटरसाइक र साइकललाई प्रवेश दिइने बताएको छ ।
नयाँ पुल पुर्णरुपमा सञ्चालनमा आएपछि नाकाको अस्तब्यस्तता हट्ने र यात्रीलाई सहज हुने स्थानीयको भनाई छ ।


