कनकाई अनलाईन
प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिनको समय आह्वान गर्नुभएसँगै सरकार गठनको प्रक्रिया अगाडि बढेको छ। प्रदेश सरकार गठन गर्न सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले र गठबन्धनको दोश्रो ठूलो दल नेकपा माओवादी केन्द्र दुबैले प्रदेश सरकारको नेतृत्व दाबी गरेको छ। प्रदेश सभाको आइबारको बैठक सकिए लगतै दुवै पार्टीका संसदीय दलका नेताले सरकारको नेतृत्वमा आफ्नो दाबी रहेको प्रतिक्रिया दिनुभयो।
बैठकबाट सँगसँगै बाहिरिनुभएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एकैठाउँमा उभिएर मुख्यमन्त्रीमा आ(आफ्नो दाबी रहेको बताउनुभयो।
माओवादी केन्द्रका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभाको पहिलो कार्यकालमा आफूहरुले नेकपा ९एमाले०को नेतृत्वलाई मुख्यमन्त्री, सभामुख जस्ता प्रमुख पदहरु छोडेर सहयोग गरेकोले यस कार्यकालमा स्वभाविक रुपमा मुख्यमन्त्रीमा दाबी रहेको बताउनुभयो। ‘पहिलो कार्यकालमा हामीले एमालेलाई मुख्यमन्त्री, सभामुख जस्ता प्रमुख पदमा सघायौं,’ नेता आङ्बोले भन्नुभयो, ‘यसपटक हामीलाई एमालेले सघाउनु हुनेछ। गठबन्धनभित्र केन्द्रमा हुने सहमति हामी पालना गर्छौं।’ उहाँले प्रदेश सभाको ठूलो दल नेकपा एमालेले मुख्यमन्त्रीमा गरेको दाबीलाई स्वभाविक रुपमा लिएको बताउनुभयो।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमालेले पनि प्रदेश १ सरकार आफ्नै नेतृत्वमा बनाउने बताउनुभयो। ‘पहिला एमालेसँग बहुमत थियो र हामीले दाबी गरेका थियौँ,’ नेता कार्कीले भन्नुभयो, ‘अहिले कसैसँग बहुमत छैन त्यसैले केन्द्रमा सहमति बनाएर नेकपा एमालेको नेतृत्वमा प्रदेश सरकार गठन गर्छौं।’
उहाँले नेकपा एकीकृत समाजवादीसहितलाई सरकारमा समावेश गरेर अगाडि बढ्ने बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘अहिले प्रदेश संरचनालाई बलियो र स्थायी बनाउनु पर्ने आवश्यकता रहेकोले हामी नेकपा एकीकृत समाजवादी मात्र होइन मिलेसम्म कांग्रेसलाई पनि सरकारमा सहभागी हुने आग्रह गर्दै सबै दलको सरकार बनाउन पहल गर्छौं।’
प्रदेश १ मा अहिलेको सत्ता गठबन्धनलाई सरकार बनाउन आवश्यक संख्या सहजै जुट्नसक्ने अवस्था छ। कुल ९३ सदस्यीय प्रदेश सभामा नेकपा ९एमाले०को ४०, नेकपा माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६ र जनता समाजवादी पार्टीको १ सिटसहित सत्ता गठबन्धनसँग ६० सिट सुरक्षित छ।


