कनकाई अनलाईन
झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भिर घाइते बनेका छन । शिवसताक्षी नगरपालिका ११ स्थित बच्चाबगरमा आइतवार विहान साढे २ बजेको समयमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६१ बर्षिय कृष्णमाया भण्डारीको मृत्यु भएको हो ।
आईतबार बिहान साढे २ बजे जंगली हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो । हात्तीले घर भत्काउन थालेपछि चिच्याउँदै बाहिर निस्कने क्रममा हात्तीले आक्रमण गरी भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।
घाइते अवस्थाकी कृष्ण माया लाई अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्तीको आक्रमणबाट उनका श्रीमान शान्तिाराम पनि गम्भीर घाइते हुनुभएको छ ।
रतुवामाई वृक्षारोपण आयोजनाको जंगलबाट आहाराका लागि जंगलबाट हत्ती गाउँ पसेका थिए । केहीदिनदेखि शिवसताक्षी नगरमा हात्तीले मानिसको जनधनको क्षति गर्न थालेको छ ।
एउटा छावा सहित ४ वाटको समूहमा रहेको हात्तीले राति ११ बजेदेखि नै गाउँमा उपद्रो गर्न लागेको स्थानीयको भनाई छ । आहाराका लागि छावा भण्डारण गरिएका अन्न खान घरभित्र पस्ने र माउ हात्तीले छावालाई घर बाहिर निकाल्दा घर भत्काउने गरेको स्थानीयाको भनाई छ । हात्तीले अन्य एकजना छिमेकीको समेत घर भत्काएको छ । जंगली हात्तीको समुह अहिलेपनि शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बजारमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरिक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।