कनकाई अनलाईन
– मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीको शतक र देव खनालको अर्धशतकको सहयोगमा नेपालले दोस्रो ओडिआई खेलमा पपुवा न्युगिनीलाई २ सय ७९ रनको बलियो लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १ सय ४० बलमा ७ चौकासहित सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । दीपेन्द्रले १ सय ३६ बलमा ६ चौकासहित आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरेका थिए ।
उनी नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने तेस्रो खेलाडी हुन् । यसअघि पारस खड्काले २०१९ मा युएईविरुद्ध १ सय १५ र पपुवा न्युगिनीविरुद्ध रोहितले १ सय २६ रनको इनिङ खेलेका थिए । दीपेन्द्रले एली नाओलाई ४७ औं ओभरको तेस्रो बलमा कभरमा दुई रन बटुल्दै शतक पूरा गरेका थिए ।
दीपेन्द्र नर्मन भानुआको ४८ औं ओभरको पहिलो बलमा लङ अफमा चाद सोपरबाट क्याच आउट भए । देव खनाल ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । करिअरको दोस्रो अन्तर्राष्ट्रिय खेल खेलेका देवले ७२ बलमा २ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका थिए ।
देवले २४ औं ओभरको अन्तिम बलमा नर्मन भानुआलाई डिप मिडविकेटमा सानदार छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । देव स्पिनर चाल्र्स अमिनीको बलमा बलमा एलबीडब्लू आउट भए । दुबै ओपनर ५ रनमा गुमाएको अवस्थामा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २९ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले मजबुत ब्याटिङ गरेको थियो ।
जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो । नेपालबाट यसअघि पाँचौं विकेटकालागि शुक्रबार पपुवा न्युगिनीविरुद्ध आरिफ शेख र रोहित पौडेलले १ सय ४ रनको उच्च शतकीय साझेदारी गरेका थिए । ओपनर कुशल भुर्तेल रोयल डक आउट ९इनिङको पहिलो बलमै० पेभेलिएन फर्के ।
तीव्र गतिका एलि नाओको पहिलो ओभरको पहिलो बाउन्सर बलमा कुशल सट लेगमा लेगा सियाकाबाट क्याच आउट भए । नाओको नै तेस्रो ओभरको पहिलो बलमा विकेटकिपर अनिल शाह १ रनमा विकेटकिपर सिमोन अतिबाट क्याच भए । २०१८ पछि पहिलो पटक नेपाली टोली फर्केपनि दुबै खेलमा राम्रो गर्न सकेनन् । पहिलो खेलमा अनिल ६ रनमा आउट भएका थिए ।
त्यसपछि देव र दीपेन्द्रले इनिङ उकासेका थिए । चौथो विकेटका लागि रोहित र दीपेन्द्रले ५८ रनको साझेदारी गरे । रोहित ४० औं ओभरमा ठूलो सट खेल्ने धुनमा मिस हुँदा ३५ रनमा बोल्ड आउट भए । रोहितले ३६ बलमा ३ चौका प्रहार गरे । भीम सार्की १९ बलमा १ चौका र १ छक्कासहित २६ रनमा आउट भए ।
आरिफ शेख ४ र पवन सरार्फ शून्यमा आउट भए । सन्दीप लामिछाने ९ बलमा २ चौका र १ छक्कासहित २४ रनमा अविजित रहे । सोमपाल कामी ३ रनमा अविजित रहे ।
पपुवा न्युगिनीका एली नाओले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । नर्मन भानुवाले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले १–१ विकेट लिए । दुई ओडिआई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ६ रनले पराजित भएको थियो ।