कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा प्रदेश नं. १ स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता शनिवार आजबाट सुरु भएको छ । सुरुङ्गा जेसीजको आयोजनामा सुरु भएको उदघाटन खेलमा दमक नगरपालिकाले आयोजक कनकाई नगरपालिकालाई ११–२५, १७–२५ र २०–२५ को सोझो सेटमा पराजित गरेको छ ।
कनकाई माध्यमिक बिद्यालयको खेल मैदानमा भएको प्रतियोगिताको उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभयो । आगामी पुस २१ गतेसम्म हुने प्रतियोगितामा प्रदेश नं. १ का ६ वटा पालिकाको सहभागीता रहेको छ ।
प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिका, मोरङको बेलबारी नगरपालिका, झापाको दमक नगरपालिका, भद्रपुर नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकाको टिमको सहभागीता रहने खेल संयोजक विवेक शिवाकोटीले जनाउनुभएको छ ।
प्रतियोगिातामा प्रथम हुने टिमले एकलाख एकहजार एकसय ११, दोस्रोलाई ५१ हजार एक हजार एकसय ११ र तेस्रो हुनलाई २५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र, मेडल र ट्रफि प्रदान गरिने जनाइएको छ । उदघाटन कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई शिक्षापछि खेलकुदको हव बनाइछाडने प्रतिवद्धता जनाउनुभयो । अहिलेपनि हाम्रा कनकाईका ५ जना चेलीहरु नेपालको राष्ट्रिय टिममा सहभागि भएर खेल खेलीरहेका छन अब हरेक विधागत खेलमा नगरपालिकाले खेलाडी उत्पादन गरेर देशलाई कनकाई नगरपालिका दिन चाहन्छ नगरप्रमुख पोखरेलले बताउँनुभयो । खेल विधालाई अध्यानमा समेत समावेश गर्ने नगरपालिकाको तयारी रहेको पोखरेलले बताउँनुभयो ।
यसअघि सुरुङ्गा गोल्डकप प्रतियोगिता गर्दै आएको जेसीजले आर्थिक अभाव र कोरोना कहरका कारण फुटवल गराउन नसकेको बताउँदै भलिबल थोरै खर्चिलो भएकाले यस खेललाई निरन्तरता दिने जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ९ लाख १६ हजार ७ सय ७७ रुपैयाँ अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।