झापा, ६ चैत :धुलाबारी क्याम्पसमा सञ्चालित पोलिटेक्निक इन्स्टिच्युटको आज उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिका–१० मा न्यूनतम शुल्कमा उच्च तहको प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको इन्स्टिच्युटको मेचीनगरका प्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीभिटीको साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित इन्स्टिच्युटमा आर्किटेक्चर इञ्जिनीयरिङ र सूचना प्रविधिको तीन वर्षे डिप्लोमा तहका दुई कार्यक्रम सञ्चालन हुनेछन् । नगरप्रमुख आचार्यले स्वास्थ्य र शिक्षा हरेक मानिसका नैसर्गिक अधिकार भएकाले नगरवासीले सर्वसुलभ ढङ्गबाट शिक्षा प्राप्त गर्न सक्ने हुँदा सबैसँग सहयोगको अपेक्षा गरेको बताउनुभयो । अहिलेको युग प्रविधिको युग भएकाले हरेक मानिसले प्रविधिलाई पछ्याउनुपर्ने उहाँको भनाइ थियो । उपप्रमुख एवं इन्स्टिच्युटका उपाध्यक्ष उप्रेतीले कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारदेखि अन्य कुनै पनि कुराको कमी हुन नदिने बताउनुभयो । इन्स्टिच्युट सञ्चालनका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको उहाँको भनाइ थियो ।
मेचीनगरलाई शैक्षिक हवका रुपमा विकास गर्न स्थानीय सरकार लागि परेको उहाँको भनाइ छ । इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेलले कलेजमा विभिन्न विषयमा अध्ययन गराउने तथा विद्यार्थीले चाहेको विषय पढ्न टाढाटाढा धाउनुपर्ने बाध्यताको अन्त्यका लागि धुलाबारीमा प्राविधिक विषयको पढाइ शुरु गरेको बताउनुभयो । हाललाई धुलावारी क्याम्पसकै संरचना प्रयोग गर्ने तथा कूल सात बिघा जमीनमध्ये पाँच बिघा जमीनमा प्राविधिक क्याम्पस सञ्चालन हुने धुलाबारी क्याम्पसका प्रमुख रहनुभएका पौडेलले जानकारी दिनुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा इन्स्टिच्युटका प्रमुख व्यवस्थापक होमनाथ भण्डारीले दुवै कार्यक्रममा ४८/४८ जना विद्यार्थी कोटा रहेको बताउनुभयो । यहाँ अध्ययनका लागि माध्यमिक शिक्षा परीक्षामा गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड तथा अङ्ग्रजीमा डी प्लस गरेको हुनुपर्ने तथा विगतको एसएलसी उत्तीर्ण विद्यार्थीका हकमा गणित, विज्ञान अङ्ग्रेजी विषय लिएको हुनुपर्ने आवश्यक योग्यता कायम गरिएको छ ।(रासस)