लसुना,फागुन ७।झापा गाउँपालिका-४ मा रहेको डिल्लीराज माध्यमिक विद्यालय वि.सं -२०२० मा स्थापना भएको थियो।जुन विद्यालय अहिले झापा गाउँपालिकाकै नमुना विद्यालय हुने प्रयत्नमा छ।तर यता त्यही सालमै स्थापना भएको नेपाल भारत सिमाको नजिकै रहेको झापा गाउँपालिका-१ को लसुना स्थित अमरसिंह प्राथमिक विद्यालय भने गायबै हुने स्थितीमा छ।जहाँ जम्मा २०८ विद्यार्थीको रजिष्टरमा नाम रहेको छ।बालविकास गरेर कक्षा-५ सम्म पढाइ हुने विद्यालयमा कुल विद्यार्थीको संख्या २०८ हो।विद्यार्थीको संख्या यति भए पनि पूरा विद्यार्थी भने उपस्थित हुदैनन।
प्रावी स्तरमा स्कुलमा ४ जना शिक्षकको दरबन्दी रहेको छ।२ जना बालबिकास शिक्षक रहेका छन भने १ जना कार्यालय सहयोगी रहेको प्राध्यापक मायानन्द ठाकुरले बताए।२०२० सालमा स्थापना भएको विद्यालयको पुरानो भवन जिर्ण भएको छ।हाल नवनिर्मीत दुई कोठे भवनमा एउटा कक्षा संचालन गरिएको छ भने एउटा कक्षा प्रबिधी शिक्षाका लागि छुट्याइएको ठाकुरले बताए।
जम्मा ४ कोठामा मात्र अध्यापन गर्न सकिने भएकाले भवनको अभाव रहेको ठाकुर सुनाउछन।”१ देखि ५ कक्षा सम्म कम्तीमा पनि ५ कोठा चाहिन्छ,यता बालबिकास समेत गरेर कम्तीमा ६ कोठा चाहिन्छ,शिक्षक पनि कम्ती रहेकाले कार्यालय सहयोगीले समेत शिक्षकको काम गर्छन,कम्तीमा पनि हामीलाई अब १ शिक्षकको आवश्यकता छ” उनले भने।
विद्यालयमा सौचालयको अबस्था पनि जिर्ण रहेको छ।पुर्णरुपमा घेराबारा नभएकाले विद्यालयका भवनका टिनका छानामा बग्रेल्ती ढुङ्गा देखिन्छ।मुस्लिम समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा विद्यार्थी विद्यालय आउनको सट्टा मदरसामा जाने गरेका छन।हरेक वर्ष नयाँ भर्नाका लागि अबिभावकका घरदैलोमा समेत जाने गरेको व्यवस्थापन समितिका अध्यक्ष सम्भुप्रसाद गणेशले बताए।तर यस्ता कार्यक्रम लिएर गए पनि मुस्लिम समुदायका बच्चाहरु कम आउने गरेको उनी बताउछन।
यसै विच झापा गाउँपालिका-१ का वडाध्यक्ष राजकुमार यादवले आफुहरुले अमरसिंह प्राविलाई माया गरेको बताए।उनले विश्वव्यापी कोरोना भाइरस महामारीमा समेत गाउँपालिकाको तर्फबाट विद्यालयमा दुई कोठे भवन निर्माण गरेको बताए।आगामी दिनमा विद्यालय घेराबारा,भवन आदि थप्ने योजना रहेको यादव बताउछन।”एकैचोटी सबै काम गर्न सकिँदैन,विद्यालयलाई हामीले माया गरेका छौ,बिस्तारै समस्या हल गर्दै लान्छौ” उनले भने।