कनकाई अनलाईन
नेपाल भारत सिमास्थित झापा गाउँपालिकाको लसुना नाकाबाट चाइनिज स्याउको अवैध चोरी पैठारी बढ्दै गएको पाइएको छ ।
भारततर्फ लैजान लागेको १०४ काटुन स्याउ पक्राउ परेको करिव दुई सातापछि फेरि ५४ काटुन स्याउ प्रहरीले बरामद गरेको हो ।
आईतवार दिउँसो २.५० बजे झापा गाउँपालिका १ बेलाइतीबारीस्थित वादिरुद्धिन शेखको घरमा नेपालबाट भारततर्फ लैजानको लागि स्याउ लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक नारायण तामाङको कमाण्डमा मोबाईल गस्ती टोली खटिएको थियो । त्यहाँ सामान खानतलासीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायव निरीक्षक चुक्तबहादुर विष्टको कमाण्डमा अर्को टोली खटिएको प्रहरीले जनाएको छ ।
दुवै संयुक्त टोलीले अवैध रुपमा लुकाई राखेको विलविजक विनाको ५४ काटुन स्याउ बरामद गरेको हो । अन्दाजी ३ लाख २४ हजार बराबरको १०८० के.जी. स्याउ बरामद गरी भन्सार बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाइएको छ ।
यसअघि गत बैशाख १५ गते झापा गाउँपालिका वडा नं. १ सालमारास्थित जालिम मियाको घरमा नेपालबाट भारततर्फ लैजानका लागि स्याउ लुकाईछिपाई राखिएको भन्ने विशेष सूचनाको आधारमा संयुक्त सुरक्षा टोलीले ठूलो परिमाणमा अवैध स्याउ बरामद गरेको थियो । खानतलासीका क्रममा बिलबिजकविनाको १०४ काटुन स्याउ फेला परेको थियो । नेपाल भारत सिमा सुरक्षा कडा बनाइएपनि रातीको समयमा यस क्षेत्रमा भन्सार छलेर सामानहरु नेपाल तथा भारतमा चोरी तस्करीको घटना वढिरहेको स्थानीयको भनाई छ ।


