कनकाई अनलाईन
धकेलेर महिलाको हत्या गरेको आरोपमा झापा अर्जुनधाराका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्जुनधारा वडा नं. ५ कंचनवारी बस्ने २४ वर्षीय किरण गौतम रहेका छन् । उनले अर्जुनधारा वडा नं. ८ कुशलचोक बस्ने यामबहादुर बस्नेतकी श्रीमती २९ वर्षीया काजल सुवेदी बस्नेतलाई धकेलेर हत्या गरेका हुन् ।
घटना विवरण अनुसार जेठ २ गते राति ९;१५ बजे अर्जुनधारा वडा नं. ८ कुशलचोकस्थित एम्स सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिमतर्फ रहेको खुल्ला चौरमा गौतम र बस्नेत अत्यधिक मदिरा सेवन गरि मातेर बसिरहेको अवस्थामा उनीहरुबीच विवाद भएको थियो । त्यसक्रममा गौतमले बस्नेतलाई धकेल्दा खुल्ला चौरको बिचमा सिमानाको लागि बनाएको कंक्रिटको प्लममा उनी ठोक्किएकी थिइन् । टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी बस्नेतलाई स्थानीयले फेला पारी उपचारको लागि स्थानीय शंकर अस्पतालमा पठाएका थिए । सोहि दिन थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड हुँदै प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । आज बिहान ४.४० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अभियुक्त गौतमलाई हिजो घटनास्थलबाटै पक्राउ गरेको थियो । गौतमलाई ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गर्न आज जिल्ला अदालत झापामा उपस्थित गराई ५ दिन म्याद प्राप्त गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा हाल दुवईमा रहेको बुझिएको छ ।


