Kanakai Online

हल्दिवारीमा घरायसी विवादमा श्रीमतीको हत्या


बुधवार, जेठ ६, २०८३ |

कनकाई अनलाईन
झापाको हल्दीबारी गाउँपालिकामा ५ धनुषपोखरीमा घरायसी विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।

हल्दीबारी गाउँपालिका वडा नम्बर ५ स्थित धनुषपोखरी नजिकै गएराति सामान्य विवादका कारण गोकर्ण भनिने गणेश भण्डारीले आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको टाउकोमा दाउ प्रहार गरी हत्या गरेका हुन् । उर्मिलाको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय बासिन्दाका अनुसार भण्डारी दम्पतीबीच विगत लामो समयदेखि झगडा हुँदै आएको थियो। मंगलवार राती करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन भएको थियो। सोही क्रममा विवाद बढ्दै जाँदा आवेशमा आएर उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ।

श्रीमतीको हत्या गरिसकेपछि गोकर्णले छिमेकीको घरमा पुगेर आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरेका थिए। घटनाबारे बताएलगत्तै स्थानीयवासीले प्रहरीलाई खबर गरी भण्डारीलाई नियन्त्रणमा लिएका थिए।

उर्मिला गोकर्णकी कान्छी श्रीमती थिइन् । जेठी श्रीमतीसंग सम्बन्ध विच्छेद भएपछि उनले उर्मिलासंग घरजम गरेका थिए । मृतक उर्मिलाका एक छोरी र एक छोरा रहेका छन्। आमाको हत्या र बुबा प्रहरीको नियन्त्रणमा परेपछि ती बालबालिकाहरूको विचल्ली भएको छ।

पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।