Kanakai Online

इतिहासले सिकाएका विपदका पाठहरु।


मङ्गलवार, वैशाख ३०, २०७७ |

 ✍️उदय मैनाली

विपत्तिहरु इतिहासमा नआएका होइनन् । यसले निम्त्याएका बहुआयमिक र दुरगामी प्रभावहरु सहनुको विकल्प मानवसँग छैन । तथापी यसको लागि सजगता र पूर्व तयारी भने आवश्यक विषयहरु हुन् , जुन विपत्तिका अगाडी कहिल्यै पर्याप्त हुँदैनन् ।

हालको विश्वको अवस्था पनि यस्तै महामारीले पिल्सिएको छ । जसबाट हामी सकेसम्म जोगिने प्रयत्नमा लागेका छौँ । यस्ता महामारीबाट बच्न धेरै हदसम्म व्यक्तिगत सोच, मनोभावना र आ–आफ्ना सामार्थ्यको महत्वपूर्ण भूमिका रहन्छ ।

यस्ता विपत्तिहरु समयको अन्तरालमा र प्रकृतिको नियमित प्रक्रियाको रुपमा समय समयमा आइरहेको हुन्छन् । भविष्यमा यो भन्दा डरलाग्दो अवस्थाको सामना गर्न तयार रहनुपर्ने अवस्था पनि आउन सक्छ । विपदले अनेकौँ समस्या र प्रकोपिय स्थिति ल्याए पनि यसलाई हामीले कसरी ग्रहण गर्छौँ र आफुलाई मनोवैज्ञानिक रुपमा कसरी तन्दुरुस्त राखेर माहोलको सामना गर्दै अगाडी बढ्छौँ भन्ने मुख्य कुरा हो ।

इतिहासको कालखण्डमा मानव जातिले खप्नुपरेको विपत्तिहरु अत्यन्त्यै अत्यासलाग्दा छन् । मानव जातिले यस्ता विपदसँग लड्दै र सँहदै आजको युगसम्म आइपुगेका हुन् ।

विपदले सामाजिक, आर्थिक, राजनीतिक, साँस्कृतिक र मानसिक विचलन ल्याउने कार्य गर्दछ । तर मानव विकासक्रम हेर्ने हो भने विपदको दुष्परिणामले हाम्रो समाज अझ परिष्कृत हुँदै गएको देख्न्न पाइन्छ । सोचमा परिवर्तन, सहयोग र उद्दारको भावनामा वृध्दि, सामाजिक र धार्मिक सद्भावको प्रगाढता, जीवनशैलीमा सकारात्मक परिवर्तन, उत्पादन र वितरणमा सहजता, आर्थिक उपार्जनका नयाँ शैलीको विकासले गर्दा यस्ता कहालीलाग्दा विपदबाट हाम्रो समाज अझै सजग र सचेत बन्न पुगेको छ ।

चौधौँ शताब्दीको बुबोनिक प्लेगबाट भएको २० करोड मानवीय क्षती, सोहौँ शताब्दीको बिफर प्रकोप जसले ५ करोड ५० लाख मानिसको ज्यान लियो, सन् १९१४ को प्रथम विश्वयुध्द र सन् १९३९ को दोस्रो विश्वयुध्दले गरेको ठुलो आर्थिक तथा मानवीय क्षती जस्ता विपत्तिबाट पाठ सिक्दै अगाडी बढेको विश्व समाजले त्यसपछि गरेको औद्योगिकीकरण, व्यापारमा विस्तार, प्राविधिक विस्तारले विश्वमा आमूल परिवर्तन ल्याउन उल्लेख्य योगदान गरे । धेरै समुदायको सामाजिक र आर्थिक हैसियतमा सुधार आयो , संयुक्त राष्ट्र संघ जस्तो शक्तिशाली संगठनको निर्माण भयो, मानव अधिकार र महिला अधिकारका क्षेत्रमा व्यापक सुधार आयो, तानाशाहहरुको अन्त्य र साम्राज्यवादी युगको अवशान भयो, श्रमिकहरुको सामाजिक अवस्था र आयमा वृध्दि भयो, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार भयो, विश्व स्वास्थ्य संगठनको स्थापना भयो ।

यसरी विपत्तिसँगै मानव समाज जुर्मुराएको इतिहास हामीसँग प्रशस्तै छन् । नेपाल कै परिप्रेक्ष्यमा चाहे त्यो वि.सं. १९९० र २०७२ को भुँइचालो होस् वा माओवादी गृहयुध्द, दुष्परिणामका अलावा सामाजिक, मनोवैज्ञानिक र राजनीतिक रुपमा मानिस सचेत र अनुशासित बन्दै गएको छ ।

तर एक पछि अर्को लगातारको विपदमा फसेका राष्ट्रहरु भने अझै घुँडा टेकेको अवस्था छ । हालको कोभिड १९ कोरोना भाइरस पनि ठुलो विपत्तिको रुपमा आएको छ । तथापी दुःख, पिडा, कष्ट, अभाव र त्रासका बावजुद पनि यो विपत्ति पछि आउने परिवर्तन सकारात्मक हुनेछ भन्नेमा आशावादी रहन सकिन्छ । अर्गानिक भोजन, स्वस्थ जीवनशैली, व्यायाम, स्वस्थकर रहनसहन, गाउँले परिवेशको महत्व र परिवारको खाँचो यस महामारी पछि सबैको चेतनाको विषय बन्ने नै छ । त्यस्तै आपदविपदमा सम्हालिने बानी, स्वास्थ्य सचेतनामा वृध्दि, जनस्वास्थ्यमा लगानी वृध्दि, स्वास्थ्य बिमालाई प्राथमिकता, आपसी सहयोग र सहकार्यमा विस्तार, स्वास्थ्यकर्मी तथा अस्पतालको व्यापक पहुँचमा जोड जस्ता विषयमा सक्षम बनाउने छ भन्ने कुरामा आशावादी रहने प्रशस्त ठाउँ छन् ।

लेखक-उदय मैनाली(पुर्णचन्द्र)
बिर्तामोड नगरपालीका-२ चारपाने
हाल-झापा गाउँकार्य पालीकाको कार्यालयमा सहायक पाँचौ तहमा कार्यरत

सम्बन्धित खबर