द्रोण अधिकारी
व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामिण क्षेत्रमा जल विद्युतीकरणको प्रभाव कम भएर सिञ्चाइ कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको हो ।
यो प्रविधि आएयता दक्षिणी झापाका अधिकाम्स जमिनमा हरियाली छाएको छ । वर्षामा भर परेर एक बाली मात्र लाग्ने यहाँका अधिकाम्स जमिनमा सौर्य सिञ्चाई प्रयोगमा आएयता वर्षैभरी खेती बाली लाग्न थालेको देखिन्छ । कामको खोजीमा हिड्नेहरू अरूलाई काम दिने अवस्थामा रूपान्तरण भइसकेका छन् । जमिन हुनेहरू आफ्नै जमिनमा र नहुनेहरू भाडाको जमिनमा व्यवसायिक खेती गरेर जीवनस्तर उकास्न थालेका छन् ।
जल विद्युत खेतबारीको कुना कुनसम्म पुर्याउन असंभव देखिएपछि व्यवसायिक कृषिमा सौर्य उर्जा सिञ्चाई प्रविधिको अवधारण लिएर दक्षिणी झापामा धान सुपरजोन देखा पर्यो । यस प्रविधिको प्रवेशसितै कृषिमा भविष्य खोज्ने किसानहरूको संख्या पनि बढ्दै गएको छ । जसले दक्षिणी झापाको उर्वर माटोलाई आम्दानीको मुहान बनाएर हरियाली समेत छाइरहेको छ ।
कृषि क्षेत्रमा यान्त्रिकीकरण तथा व्यवसायिक वातावरणका लागि कार्य गर्दै आइरहेको धान सुपर जोन बनियानी झापाले ४ वर्ष अगाडि सिञ्चाइमा नयाँ प्रविधिका रूपमा भित्र्याएको सौर्य उर्जा प्रविधि झापाका अधिकाम्स ग्रामिण कृषि क्षेत्रमा विस्तार भइ सकेको छ । सुपर जोनले सिञ्चाइमा लागत कम गराइ भूमिगत पानी तान्न आधुनिक सौर्य उर्जा प्रविधि मार्फत नयाँ विधिको सुरुवात गरेयता विद्युत अभावमा सिञ्चाइ नभएका जमिन वर्षैभरी खेती लगाउन सकिने गरी रूपान्तरण भएका छन् ।
ग्रामीण कृषि क्षेत्रमा विद्युतीकरण विस्तारमा लागत तथा समय बढी लाग्ने देखिएपछि सुपर जोनले स्थीर विद्युतीकरण र दीर्घकालिन लागत घटाउने प्रविधि सौर्य उर्जालाई कृषकका खेतवारीमा ४ वर्ष अगाडिबाट ल्याएको थियो ।
यो प्रविधिका लागि ५ लाख प्रति बोरिङ खर्च हुने गरेको छ । सुपर जोनले कम्तीमा २ बाली व्यवसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनौट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिने गरी यस प्रविधिलाई कृषक समक्ष ल्याइएको थियो ।
सुपर जोन सञ्चालक समितिमा आबद्ध कृषकका अनुसार कृषिलाई प्रतिष्पर्धी व्यवसायका रूपमा विस्तार गर्न यान्त्रिकीकरणमा कृषकको पहुँच कार्यक्रमका रूपमा सौर्य बोरिङ ल्याइएको हो । उनीहरूका अनुसार व्यवसायिक कृषि कार्यमा सहभागी रहेका कृषकहरूका समूह मार्फत सुपर जोनले ८५ प्रतिशत लागत रकम व्यहोर्ने तथा १५ प्रतिशत सम्बन्धित किसानले लिने गरी छनौट प्रकृया मार्फत सौर्य पम्प वितरण गरिने गरिन्छ ।
धान उत्पमदनमा नेपाललाई आफैँ आत्मनिर्भर बनाउन सरकारले झापाको बनियानीमा धान सुपर जोन परियोजना गठन गरी काम गरिरहेको छ । परियोजनाले कृषिमा यान्त्रीकीकरणका लागि विभिन्न नयाँ नयाँ प्रविधि ल्याएर व्यवसायिक कृषिको उत्थानका कामहरू गरिरहेको छ । परियोजना आएयता दक्षिणी झापामा धान, मकै आलु लगायत उत्पादन बढे पनि सरकारले बजारीकरणमा ध्यान नदिँदा लागत अनुपातमा मूल्य पाउन नसकेको गुनासो कृषकको छ ।
छिमेकी देश भारतको तुलनामा नेपालमा मल, बिऊ, र श्रमिकको क्षेत्रमा लागत बढी भएका कारण यहाँ उत्पादित अन्न तथा तरकारी जन्य उत्पादन भारतको तुलनामा महंगो पर्ने हुँदा सिमाना पारीबाट निर्वाध आउने खाद्यन्न रोक्न नसकेसम्म नेपाली किशानको उत्पादनले उचित मूल्य नपाउने कृषकहरू बताउँछन् ।