कनकाई अनलाईन
तेह्रथुम । झापा हल्दिबारी गाउँपालिकाको जलथल एफसी दोस्रो भगिमानसिं तुम्बाहाम्फे स्मृति गोल्डकपको च्याम्पियन बनेको छ ।म्याङलुङ खेलमैदानमा आयोजित बिहीबार भएको फाइनल खेलमा आयोजक बिटिएफसीलाई २(१ गोलअन्तरले पराजित गर्दै जलथलले उपाधि रक्षा गरेको हो । पहिलो संस्करणको विजेता माइभ्याली एफसी इलाम पहिलो खेलबाटै बाहिरिएपछि दोस्रो संस्करणमा झापाले उपाधि उचालेको हो ।
पहिलोपल्ट फाइनल पुगेको आयोजक बिटिएफसीले खेल नजिते पनि घरेलु दर्शकको मन जित्न सफल भएको छ । आयोजकले अन्य खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको खेलमा पहिलो गोल भने झापाले गरेको थियो ।खेलको १४औँ मिनेटमा झापाका वाङ्चु तामाङले गोल गरेर अग्रता दिलाएका थिए । प्रदर्शनको तुलनामा झापाभन्दा उत्कृष्ट प्रदर्शन बिटिएफसीले गरेको थियो । १(० गोलले पछि परेको अवस्थामा बिटिएफसीले झापालाई अधिकांश समय दबाबमा राखेको थियो ।अग्रता कायम गरे पनि झापाले बिटिएफसीको पोस्टमा आक्रमण कमै बुन्न पायो । दुवै टोलीका सदस्यले गोल गर्ने अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा नतिजा दोब्बर बनाउन पनि सकेनन् भने खेललाई बराबरीमा पुर्याउन गाह्रो बनेको थियो ।खेलको इन्जुरी समयमा आयोजक बिटिएफसीका तर्फबाट सन्जोक लिम्बूले गोल गर्दै खेलमा फर्किने प्रयास गरेको थियो । ८० मिनेटको निर्धारित समय सकिएलगत्तै उनले गोल गरेका हुन् ।७ मिनेटको अतिरिक्त समयमा दुवै टोली आक्रामक बनेका थिए ।
यसैबीच, खेलको ८५औँ मिनेटमा झापाका विशाल राईले गोल गरेर उपाधि चुमाएका हुन् ।फाइनल खेलको म्यान अफ दी म्याच जलथल झापाका कप्तान कर्ण लिम्बू घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार पाए ।त्यस्तै, गोल्डकपमै सर्वाधिक २ गोल गरेका झापाका सरोज कार्कीले हाइस्कोरको उपाधिसँगै नगद २५ हजार पाए । त्यस्तै, उत्कृष्ट गोलरक्षक झापाका राजकुमार लिम्बू, उत्कृष्ट मिडफिल्डर झापाकै लक्ष्मण चौधरी घोषित हुँदा आयोजकका सन्देश लिम्बू उत्कृष्ट डिफेन्डर र आयोजककै दिनेश लिम्बू गोल्डकपकै उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद २५–२५ हजार पाए ।
यसैबीच, बिबा मिडियाको गोलनेपाल डटकमले तेह्रथुमका फुटबल रेफ्रीका लागि ६ सेट रेफ्री जर्सी सेट र एक थान सब्सिच्यूट बोर्ड प्रदान गरियो ।भगिमानसिं तुम्बाहाम्फे स्मृति प्रतिष्ठान तेह्रथुमले आयोजना गरेको गोल्डकपको विजेता झापा हल्दिबारी गाउँपालिकाको जलथल एफसीले नगद ३ लाखसहित ट्रफी पायो भने उपविजेता आयोजक बिटिएफसीले नगद एक लाख ५० हजार र ट्रफीमा चित्त बुझायो ।मंसिर २० गतेदेखि सञ्चालित गोल्डकपमा झापा, मोरङ, इलाम, पाँचथर, सुनसरी, उदयपुर, काठमाडौँ र तेह्रथुमका आठ टिम सहभागी थिए ।


