Kanakai Online

कुमरखोद छोटी भन्सारको कथा आम्दामी भन्दा खर्च धेरै


शुक्रवार, मंसिर २०, २०७६ |

लीलाराज झापाली ।
सामान्यतय भन्सार भन्ने वितिक्कै वढी राजस्व संकलन हुने र कर्मचारीको पनि रोजाईमा पर्ने भन्ने हुन्छ । तर झापाको कुमरखोद छोटी भन्सारमा भने यो नियम लागु नहुन पनि सक्छ ।
द्धन्द्ध कालमा विस्तापित भएपछि गत माघ १ गतेदेखि संचालनमा आएको यस छोटी भन्सार संचालनका हिसावले झण्डै एक वर्ष पुग्न अव केहि दिन मात्रै बाकी छ तर आम्दामीका हिसावले हो भने अरु भन्सारको एक दिनको रकम वरावर पनि रकम संकलन गर्न सकेको छैन ।
भन्सारमा सुब्बा शक्ति जोशी राईको नेतृत्वमा ३ जना कर्मचारी राजस्व संकलनमा खटिनुभएको छ तर यस विचमा हालसम्म जम्मा २ लाख ७६ हजार ८ सय सत्ताइस रुपैँयामात्रै राजस्व संकलन गर्न सकेको भन्सारका कर्मचारी हुप्ना मुर्मुले बताउनुभयो ।
भन्सार कार्यालयले सबैभन्दा वढी गत असार महिनामा ६४ हजार १ सय ७६ रुपैँया राजस्व संकलन गरेको तथा सबैभन्दा कम गत भदौ महिनामा ६ हजार ९ सय ७८ रुपैँया राजस्व संकलन गरेको रेकर्ड छ ।
भन्सार कार्यालयले यस वाहेक माघ महिनाभरमा १२ हजार ५ सय ४६ रुपैँया, फागुन महिनामा १९ हजार ८ सय १९, चैत्रमा १२ हजार ३ सय ९१ रुपैँया, वैखाशमा २६ हजार ८ सय २६ रुपैँया, जेठमा ५२ हजार ८ सय ७५ रुपैँया, साउन महिनामा ५० हजार २३ रुपैँया , असोज महिनामा ८ हजार १ सय ३९ रुपैँया र कार्तिक महिनामा २० हजार ६ सय ६१ रुपैँया राजस्व संकलन भएको छ । मंसिर महिनाको ११ गतेभित्र समेत २ हजार ३ सय ९३ रुपैँया मात्रै राजस्व संकलन हुन सकेको भन्सार कर्मचारी मुर्मुले बताउनुभयो ।
अझ कुनैकुनै दिन एकजना पनि भन्सार काट्न नआउदा दिनभर भन्सार रुङ्नुपरेको भन्सार कर्मचारीको भनाई छ । कनकाईकर्मी बुधवार कुमरखोद छोटी भन्सार दिउसो ३ बजे पुग्दा सो दिन जम्मा १ सय ८० रुपैँयाको राजस्व बिल काटिएको पाइएको थियो । राजस्व नउठेपनि कार्यालय रुध्नुको विकल्प नरहेको कर्मचारीको भनाई थियो । सो नाका बाट तरकारी , कपडा, विस्कुट र कहिलेकाही मेशीनरी सामानहरु आउने गरेको कर्मचारीको भनाई छ ।
कुनै समय झापाको सदरमुकाम समेत रहेको सो नाकाको भारततर्फको डिघलबैँक तर्फको कस्टम भारत सरकारले सुरक्षाको कारण देखाउदै बन्द गरेपछि भारततर्फको सबैभन्दा कम क्षेत्रमै बन्दरगाह भेट्ने सो नाका हाल सुनसान रहेको स्थानीय युवा सद्धाम अन्सारीले बताउनुभयो ।
यसवारेमा झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले भारततर्फको क्षेत्रमा चाडै कस्टम संचालनमा ल्याउनका लागि भारत पंचायात र सरोकारवालालाई बषौँदेखि भनेपनि सुनुवाई नभएको बताउनुभयो । सो नाका पुर्ण रुपमा संचालनमा आउदा नेपाल अधिराज्यभर सामानको भाउ ढुवानीको कारण सस्तो पर्ने अध्यक्ष शाहको भनाई छ ।
भारतको सिमा हुदै पुर्वपश्चिम राजमार्ग सुरुङ्गा सम्म जोड्ने २४ किलोमिटर सडक कालोपत्रेका लागि यसैबर्षदेखि काम सुरु भएपनि भारततर्फ कस्टम नबस्ने हो भने सो सडकबाट समेत नेपालीले फाइदा लिन नपाउने शाहको भनाई छ । कस्टम राख्न नेपाल सरकारको केन्द्रिय लेवलबाटै पहल हुनुपर्ने शाहको भनाई छ ।

फोटो ः झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा रहेको सुनशान छोटी भन्सार कार्यालय तस्वीर ः लीलाराज झापाली