Kanakai Online

घरेलु मदिरा उत्पादन गर्न पाउनुपर्ने माग


आइतवार, माघ २०, २०७५ |

कनकाई अनलाईन ।
झापाको स्थानीय तह र प्रहरीले जिल्लालाई मदिरा नियत्रित जिल्ला घोषणा गरे पछि आदिवाशी जनजाति समुदाय संस्कृति र रोजगारीमा प्रहार भएको भन्दै आन्दोलित बनेका छन ।
झापा हल्दिवारी गाउँपालिकाका महिलाहरु स्थानीय सरकारको मदिरा नियन्त्रण अभियानले आफ्नो धर्मपरम्परामाथि निर्मम प्रहार भएको भन्दै आन्दोलित बनेका हुन । मेचे , राई , लिम्बु , तामाङ, गुरुङ लगायातका समुदायमा स्थानीय रक्सी –मदिरा) जन्मदेखि मृत्युसंकारसम्मलाई आवश्यक पर्ने तर सरकारले आफुले घरमा उत्पादन गरेको रक्सीलाई प्रतिवन्ध गरि वहुराष्ट्रिय कम्पनीका रक्सीमात्रै उत्पादन गर्ने अनुमति दिदा धर्म संस्कृतिमा प्रहार र आफुहरुको रोजीरोटीनै खोसिएको स्थानीय अनिता मेचेले बताउनुभयो । संस्कृतिको संरक्षण सहित न्युन बर्गिय परिवारको रोजीरोटीको प्रबन्धविना यस्तो कदम चाल्नु गरिव परिवारमा समस्या भएको महिलाहरुको गुनासो छ । झापाका १५ वटै स्थानीय तहमा निम्न वर्गका आदिवाशी जनजाति महिलाले आफ्नो परिवारको लालनपालन र परिवारको शिक्षाका लागि घरेलु मदिरा उत्पादन गरि बजारमा समेत बिक्रि गर्दै आएका छन ।
उनीहरुले सरकार समक्ष आफ्नो रोजीरोटीको विकल्प दिएर मात्रै घरेलु मदिरा उत्पादनमा रोक लगाउन माग गर्दै आएका छन । घरेलु मदिरा उत्पादन र विक्री गर्न नपाउदा आफ्नो परिवार पाल्नै समस्या हुने गुनासो महिलाको छ । हामीले मदिरा उत्पादन नगर्ने तर विदेशी मदिराचाहि उत्पादन भइरहने हो भने कसरी हुन्छ मदिरा नियन्त्रण यो त गरिबकै रोजीरोटी खोस्ने तरिका भयो स्थानीय निशु मेचेले भन्नुभयो । यसरी कसरी वालवच्चा पढाउने कसरी परिवारको पेट पाल्ने मेचेले गुनासो गर्नुभयो । यस क्षेत्रमा धर्मसंस्कृतिको लागि प्रयोग हुने मदिरा उत्पादन गर्न पाउनुपर्ने माग राख्दै हल्दिवारी गाउपालिकामा स्थानीय झमबीर नेम्बाङको अध्यक्षतामा सरकारसग माग राख्ने भन्दै २१ सदस्यीय सङ्घर्ष समिति समेत गठन गरिएको छ । राज्यले ठुला लगानीका मदिरा उद्योगकै जस्तो साना लगानीका मदिरा उत्पादनलाई समेत घरेलु उत्पादनका रुपमा कर लिएरै मान्यता दिइनुपर्ने सङ्घर्ष समितिको माग छ । मदिरा नियन्त्रण गर्ने हो भने विदेशी मदिरामा पनि यो नियम लागु हुनुपर्ने सङ्घर्ष समितिका संयोजक नेम्बाङको भनाई छ । यता हल्दिवारी गाउपालिकाका ४ नम्बरका वडासदस्य महेशलाल मेचेले समेत बरु राज्यले घरेलु मदिरा उत्पादन गरिरहेका महिलाहरुलाई करको दायरामा ल्याउनु उत्तम हुने बताउनुभयो ।
स्थानीय सरकार र प्रशासनले माघ १ गतेदेखि झापालाई खुल्ला मदिरा विक्रि उत्पादनमा प्रतिवन्द लगाएर कार्वाही अगाडि वढाउने निर्णय गरिसकेको छ । यसवारेमा झापाका प्रहरी प्रमुख भीम ढकाल धर्म संस्कृति वाहेकका उत्पादन र सेवनमा झापामा मदिरा रोक लगाइसकिएको बताउनुभयो । ५ महिना अगाडि झापाको कनकाई नगरपालिकामा झापाका १५ स्थानीय तह र प्रहरी , प्रशासनको भेलाबाट झापालाई माघ १ गतेदेखि मदिरा निषेधित जिल्ला घोषणा गरेको थियो ।