कनकाई अनलाईन
बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणाको तयारीमा छ । बाह्रदशीमा पर्ने चकचकी २०७४ माघ २ गते खुल्ला दिसामुक्त घोषणा भयो । सोही घोषणा समारोहमा उपस्थित सबैले खुल्लामा दिसा नगर्ने, संस्थागत सरसफाइको समुचित प्रवन्ध गर्ने लगायतका सपथ खाए । तर, समाज परिवर्तनमा अगुवाइ गर्ने त्यही खुल्ला दिसामुक्त घोषित गाउँका विद्यालयहरुमा अहिले पनि चर्पी छैनन्, भएका चर्पी पनि बन्द छन्, विद्यार्थी दिसा गर्न बाहिर जान वाध्य छन् ।
बुधबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोली पुग्दा जनविकास आधारभूत विद्यालयमा प्रधानाध्यापक श्यामनारायण गोश्वामी भेटिएनन् । शिक्षक बुधु राजवंशीले नयाँ चर्पी बनाउँदै गरेकोले पुरानो चर्पी फोहर भएको उत्तर दिए । “नयाँ बन्दैछन्, त्यसैले पुरानो फोहर भएको छ”, उनले भने । राजवंशीले स्पष्टीकरण दिइरहँदा चर्पी ब्लकमा रहेको शिक्षकहरुको चर्पी भने सफा देखियो ।
विद्यालयमा दुई वटा चर्पी र यूरिनल भएको एउटा चर्पी छ । एकातर्फको विद्यार्थीका लागि प्र्रयोग हुन्छ, अर्कोतर्फको शिक्षकका लागि ३ सय ८२ विद्यार्थीका लागि एउटा चर्पी छ ।
यूरिनलसमेत दिसाले भरिएको छ । दिसा गर्ने चर्पी प्रयोगमा नै छैन । प्यान प्लास्टिकका बोतल र ढुंगाले भरिएको छ ।
विद्यालय हाताभित्रै दुई वटा चर्पी निर्माणाधीन अवस्थामा रहेका छन् ।
यस्तै अवस्था रहेको छ फूलबारी माध्यमिक विद्यालयको समेत । चर्पीका चार ब्लक छन् । एउटा ब्लक पुरानो भएको र भत्किइसकेको छ । अर्को ब्लक समेत पुरानो भएको छ । सेप्टिक टंकीको ढक्कन फुटेको छ, बाहिरैबाट दिसा देखिन्छ । केही महिनाअघिसम्म प्रयोग गर्न मिल्ने अवस्थामा रहेको चर्पी अहिले प्रयोग गर्न मिल्ने अवस्थामा समेत छैन ।
“हामीले एक वर्षअघि यहाँ अभिमुखीकरण चलाउँदा यी चर्पी मर्मतसम्भार गरी प्रयोग गर्न सुझाव दिएका थियौं”, सरसफाइ अभियानकर्ता किसन गौतम भन्छन्, “तर, अहिले आउँदा पूरै भताभुंग भैसकेछन् ।”
अर्को दुई वटा चर्पी ब्लक रहेका छन्, जहाँ धारा समेत छ । पुरानो दुईकोठे ब्लकमा रहेका चर्पी प्रयोग भैरहेका देखिन्छन्, तर चर्पी पूरै फोहर छन् । धारामा पानी आउने भए पनि प्यानमा दिसा पखालिएको छैन ।
अर्को नयाँ चर्पी ब्लकमा चर्पी र यूरिनल छन् । छात्राले प्रयोगमा ल्याउने यूरिनलमा बाहिरै समेत पिसाव फेरिएको छ । प्यान दिसाले भरिएको छ ।
विद्यालयको भौतिक अवस्था सुधारका लागि करोडबढी रकम
बाह्रदशी गाउँपालिकाले चालु आर्थिक वर्षमामात्र विद्यालयको भौतिक अवस्था सुधार र मर्मतसम्भारका लागि एक करोड रुपैयाँभन्दा बढी विनियोजन गरेको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । “विद्यालयको भौतिक अवस्थामा सुधारका लागि यहाँ पैसालेमात्र नहुँदोरहेछ, बल लगाउनुपर्ने रहेछ”, जिल्लाको अनुगमन टोलीलाई उनले भने, “खुल्ला दिसामुक्त गर्नका लागि पनि बल लगाउनुप¥यो । स्कूलको चर्पीको सही प्रयोगका लागि पनि बल लगाउनैपर्ने देखियो ।” दुई दिनभित्र सम्पूर्ण विद्यालयको अनुगमन गरी त्यसको प्रतिवेदन गाउँपालिकामा पेश गर्नका लागि वडाअध्यक्षहरुलाई निर्देशन र जिम्मेवारी दिने पनि अध्यक्ष राजवंशीले बताए ।
जनविकास आधारभूत विद्यालयमा भौतिक विकास अन्तर्गत दुई वटा चर्पी ब्लक निर्माण भैरहेको छ, तर मर्मत सम्भार, पानीको व्यवस्थापन लगायतका क्रियाकलाप सञ्चालन भएका छैनन् । “हप्ताको एक पटक मेस्तरलाई बोलाएर सफा गर्न लगाउछौं, अरु दिन यस्तै हुन्छ”, शिक्षक बुधु राजवंशीले भने, “विद्यार्थी हुन्, भनेर लाग्दैन ।”
फूलबारी माध्यमिक विद्यालयको अवस्था भने फरक देखियो । नयाँ बन्दै गरेको भवनको सिंढीमुनीको भागमा चर्पीका लागि ठाउँ बनाइएको छ । तर, अहिले भैरहेका चर्पीको दुरावस्था छ । चर्पीको माथि पानीको टंकी राखिएको छ । पानी पनि आउँछ, तर चर्पीमा कसैले पानी हाल्दैन । चर्पीको बाहिर हात धुने वास बेसिन राखिएको छ, तर साबुन छैन, र त्यसबाहिर झाडी भएकोले साना विद्यार्थी त्यहाँ गएर हात धुन सक्तैनन् ।
विद्यालयभित्र दिसाको व्यवस्थापन हुन सकेको छैन, तर भवनहरुको अगाडि बाँसको घेराबार लगाएर फूल रोपिएको छ । “यो विश्व वातावरण दिवसको दिनमा रोपिएको विरुवा होला”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रुद्रबहादुर न्यौपानेले भने, “वातावरण दिवसको दिनमा विरुवा रोप्न सम्झिने विद्यालयले त्यही दिन राष्ट्रिय सरसफाइ सप्ताह समेत हो भन्ने कुरा सम्झिएनछ । त्यसैले विरुवा रोपियो, चर्पी सफा भएन ।”
संस्थागत चिन्तन नै भएन
जिल्लामा खुल्ला दिसामुक्त अभियान जारी छ । गाउँपालिकामात्र होइन, जिल्लाकै सरसफाइ कभरेज ९८ प्रतिशतभन्दा माथि छ, खुल्ला दिसामुक्त अवस्था हासिल गर्ने तयारीमा छ । तर, विद्यालय, निकाय र कार्यालयहरुको सरसफाइ सुविधा कमजोर हुनुमा सरसफाइको संस्थागत चिन्तनमै कमी भएको बताउँछन् अभियानकर्ता गौतम । “विद्यालयले विद्यार्थीको मस्तिष्कमा सफाइ आफ्नै लागि हो र आफै गर्नुपर्छ भन्ने घुसाउनै सकेन, न यतातर्फ ध्यान नै दिएको देखियो”, उनी भन्छन्, “विद्यालय पर्खालले घेरिएको छ । विद्यालय बन्द हुनासाथ गेट बन्द हुन्छ, बाहिरबाट खेल्ने केटाकेटी भित्र प्रवेश गर्न नसक्नेगरी सुरक्षित अवस्थामा रहेको विद्यालय यस्तो हुनु भनेको शिक्षकको दिमागमा सरसफाइ नहुनु नै हो ।”
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य एवम् खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका महासचिव बाबुराम कार्की सरसफाइलाई विद्यालयको पाठ्यक्रममा राखेरमात्र नपुग्ने र यसलाई व्यवहारिक सिकाइको रुपमा अघि बढाउनुपर्ने बताउँछन् ।
जिल्ला समन्वय समिति झापाकी उपप्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाकी उपाध्यक्ष मीना पराजुली स्थानीय तहले आउँदो वर्षमा सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई अझै व्यापक रुपमा निरन्तरता दिनुपर्ने खाँचो औंल्याइन् । “सरसफाइका माध्यमबाट सामाजिक रुपान्तरण गर्ने हो भने कम्तिमा पनि विद्यार्थी र शिक्षकले चर्पीको समुचित प्रयोग गर्ने र चर्पीलाई माया गर्ने वानी बसाल्नुपर्छ”, उनले भनिन् ।
ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोद शर्माले आफूले गरेको दिसा पखाल्न नसिकाउने विद्यालयबाट विद्यार्थीले समुन्नत जीवन दर्शन सिक्लान् भन्नु व्यर्थ भएको बताए । “चर्पी नभएर दिसा गर्ने ठाउँ खोज्दै हिड्नुपर्ने विद्यालय, र चर्पीमा दिसा पनि गर्न नजान्ने विद्यार्थीबाट कस्तो भविष्यको परिकल्पना गर्नु ?”, उनको प्रश्न छ, “यहाँबाट देश हाँक्ने कस्ता कर्णधार जन्मिएलान् ?”