विदेश विदेश नै हो, जे गर्ने हो आफ्नै देशमा गर्नुपर्छ मुल्यांकन र सम्मान यहि माटोमा पाइन्छ, यहि माटोले समाजमा गर्वले छाति फुलाएर हिड्ने वातावरण बनाइदिन्छ’ यी भनाई विरबहादुर दर्नाल, ४५ को जीवनसँग मेल खान्छ ।
पुख्र्यौली थलो ताप्लेजुङ भइ हाल बिर्तामोडका स्थायीवासी दर्नाललाई पनि बैदेशिक रोजगारीले खाडीका तीन देशमा १० वर्ष घुमायो । अहिलेका युवाले जस्तो १२ कक्षा सकेपछि कुन देशमा पढ्न जाने भनेर विदेश पढ्न जाने सोँच बनाएका थिएनन् दर्नालले न त यो देशमा केही हुन्न भनेर नै बसेका थिए । काठमाडौंमा नेपाल कर्मस क्याम्पस मिनभवनमा बिबिएस पढ्दै गर्दा उनले काठमाडौको सबैभन्दा पुरानो शहर लाजिम्पाट कोल्ड स्टोरमा काम गरे । पढ्दै काम गदै कमाइ सबै पढाइमै सकिने र अरु काममा प्रयोग गर्न नपाइने स्थिति देखेपछि कान्तिपुरमा छापिएको फ्री भिषा र फ्री टिकेटको विज्ञापन हेरेर दुबईमा काम गर्न जाने सोच बनाए ।
फ्री भिसाको डिमाण्ड निकाल्ने गोर्खा म्यानपावरमा गएर अप्लाई गरे । विविएस सकेका उनी सहजै छानिएपछि ‘कस्टमर सर्भिस असिस्टेन’को रुपमा दुवई पुगे । त्यहाँ उनले कस्टमर सर्भिस असिस्टेनको रुपमा पेट्रोल पम्पमा तीन वर्ष काम गरे । त्यतिबेला उनको तलब १८ हजार रुपैयाँ थियो ।
त्यहाँ तीन वर्ष काम गरेपछि उनले कामकै लागि ओमान जाने अबसर पाए । उनी कार्यरत कम्पनीको एमडी बिट्रीस नागरिक थिए । मालिकले ओमान जाने बेला ‘मसँगै ओमान जाने भए हिड’ भनेपछि उनीसहित ४ जना ९२ जना नेपाली र २ जना इण्डियन० ओमान पुगे ।
ओमानमा तीनवर्ष काम गरेर नेपाल फर्किएर पुनः कतार गए । कतारमा ३ वर्ष काम गरे । कतार फ्युल ९वकुद्० को अर्ध सरकारी कम्पनी सुबिधायुक्त पेट्रोल पम्प ९जहाँ सुपर मार्केट, कार सर्भिस, क्याफे आदी सहितको सुविधा छ० मा साइड इन्चार्जको रुपमा काम गर्दा उनको तलब झण्डै डेढ लाख थियो । सो कम्पनीमा १४० जना कर्मचारी उनको मातहतमा थिए । दुबई, ओमानदेखि सामाजिक काममा सक्रिय हुँदै आएका दर्नालले प्रवासमा रहँदा संचारकर्मीको रुपमा धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइको समस्या समाधानको पहलमा कलम समेत चलाएका थिए । कतारमा पनि संघसंस्थामा आबद्ध भएर नेपाल र नेपालीको हितको लागि काम गरे ।
कतारमा उनले इटहरीका कुमार कार्की, इन्जिनियर सन्तोष श्रेष्ठ, युवराज श्रेष्ठ सुनसरी, मनोज बस्नेत, सरोज वास्तोला लगायतलाई भेटे । उनीहरूले सबै मिलेर नेपालमै लगानी गर्ने सोँच बनाए । उनीहरूको त्यहि सोच नै ‘ट्रेडभिजन इन्भेष्टमेण्ट’ कम्पनीको रुपमा परिणत भयो । झण्डै ५० लाख लगानी गरेर कम्पनी खोलियो । ट्रेडभिजनमार्फत काठमाडौंमा ‘भिजन बेकरी’ र ‘नमस्ते गेष्टहाउस’ खोलियो भने झापाको विर्तामोडमा ‘सुविधा टेक्निकल इन्स्टच्यूट’ खोलियो । विदेशमा बसेर जसरी सोच बनेको थियो त्यसरी नै विजनेस हाउसहरू खोलेर काम सुरु भयो । तर, सामूहिक रुपमा गरिएको व्यवसायले सफलता भने पाउन सकेन् । अनि त केही महिनामै ती सबै बेचेर जसको भागमा जतिपर्छ त्यति बोकेर उनीहरू आ–आफ्नो क्षेत्रमा लागे । ‘कुमार जी उतै बसेर लगानी गर्नुभएको थियो उहाँ त्यहि काम गर्नुभयो । सरोज जी पनि उतै फर्कनु भयो, सन्तोषजीले यतै अर्को विजनेस गर्नुभएको छ’ दर्नालले भने ।
झापामा मनोज र दर्नाल मिलेर सुविधा टेक्निकल इन्स्टच्यूट चलाएका थिए । त्यसले पनि सफलता हासिल गर्न सकेन् । कम्प्युटर क्षेत्रमा कम ज्ञान भएका उनीहरूको व्यवस्थापनले त्यति राम्रो काम गरेन र त्यो पनि बन्द भयो ।
असफलताहरूबाट कत्तिपनि हरेश नखाएका दर्नालले अहिले एकल स्वामित्वमा झापाको बिर्तामोडको पुरानो हिकोला रोड कृषिथोक जाने बाटोमा ‘गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङ’ व्यवसाय सञ्चालन गरेका छन् । विशेषत संखुवासभावाट ल्याइएको अल्लोको कपडाको कोट, तेह्रथुम र भक्तपुरमा बनेको खादीको कपडाको दौरा–सुरुवाल उनको पसलको विशेषता हुन् । ‘नेपाली मौलिकता बचाऔं, आफ्नै पोशाक लगाऔं’ भन्ने मुल नारा बनाएका उनले व्यवसाय मात्र नभएर अल्लो, ढाका, खादीका कपडा उत्पादनमा लागेका मानिसहरूको जीवनस्तर माथि उकास्न आफूले यसमा बढी जोड दिएको उनी सुनाउँछन् । अर्को खादीको दौरा सुरुवाल र चौबन्दीलाई नेपाली समाजमा स्थापित बनाउने पनि उनको मुख्य उद्देश्य हो ।
त्यहि व्यवसायलाई बृहद् बनाउँदै लैजाने सोँच बोकेका दर्नालले अहिले झण्डै १५ जनालाई रोजगारी दिएका छन् । उनको टेलरिङ सपमा काम गर्ने हेड मास्टरले ५० हजार तलब मासिक खान्छन् । दर्नालले सबै खर्च कटाएर मासिक ६० हजार भन्दा बढी आम्दानी गर्छन् । ढेडवर्ष अघि १५ लाख लगानी गरेर सुरु गरेको उनको व्यवसायमा अहिले १ करोड लगानी भइसकेको छ । उनलाई जीवन संगीनी जुनिता घलेले पनि साथ दिएकी छन् । ‘यहि वर्ष नै तीन चार ठाउँमा ब्रान्च खोल्ने तयारी गरेको छु, गोर्खाको नाममा विदेशमा पनि सामान निर्यात गर्ने सोँच थियो, तर त्यो सोँच तत्काल पूरा गर्न सकिने स्थिति छैन, हेरौ भविष्यमा के गर्न सकिन्छ’ उनले सर्सती आफ्नो योजना सुनाए । माघ २२ गते कनकाई ३ सुरङगामा पनि आफ्नो ब्रान्च विस्तारको तयारीमा रहेका छन् उनी ।
दर्नालले अर्को एउटा ठूलो सोच पनि बनाएका छन् । ‘गोरखा फाउन्डेसन’ नामक संस्थामार्फत देशभरीको टेलरिङको होलसेलरको काम गर्ने । उनले गोर्खा फाउन्डेशनलाई सामाजिक संस्थाका रुपमा लैजान चाहेको बताए । भन्छन् ‘गोर्खा फाउन्डेशनमार्फत टेलरिङ व्यवसायको होलसेलरको काम र यसबाट आम्दानी हुने केही प्रतिशत रकम सामाजिक काममा पनि लगाउने सोचेको छु ।’
दर्नाललाई कतारको डेढ लाख तलबले फेरि पनि जाउँ जाउँ नलागेको भने होइन । तर, नेपालमा रहँदा बिर्ता जेसिसको महासचिव हुँदै उपाध्यक्षको समेत जिम्मेवारी सम्हालेका दर्नालले आफ्नो समुदायलाई माथि उकास्नुपर्छ र राज्यका हरेक अंगमा आफ्नो समुदायको प्रतिनिधित्व गराउनु पर्दछ भन्ने सोँच बनाए । त्यहि सोँचलाई पूरा गर्न उनी कतार नगएर देशमै केही गर्ने सोँच बनाएर व्यवसायमा होमिएका हुन् । दर्नाल भन्छन् ‘हाम्रो समुदायबाट म जस्तै धेरै पढेलेखेको व्यक्तिहरू विदेशमा छन् । हामी ज्ञान भएका र संसार बुझेकाहरू विदेश पलायन भयौ भने हाम्रो समुदायको उत्थानमा को लाग्छ र भन्ने सोचेर विदेश जान लम्किएका पाइला रोकेको हुँ ।’
दर्नालले गोर्खा फाउन्डेसनमार्फत दलित समुदायका बालबालिकालाई सुरुमा १५–२० जना र पछि १ सय जना सम्मलाई निःशुल्क रुपमा बोडिङ पढाउने व्यवस्था गर्ने, एसएलसी पास गरेपछि लोकसेवा आयोगको परीक्षा दिनका लागि फाउन्डेशनमै रहेर ट्रेनिङ तथा खानबस्न फ्री गरेर आर्थिक बोझबाट मुक्त गरी सरकारी क्षेत्रमा प्रवेश गर्न सहयोग गर्ने, राम्रो क्षेत्रमा काम गर्ने दलित अगुवालाई सम्मान गर्ने, नेपाली मौलिक पोशाकहरू लगाएर देशका विभिन्न सहरमा फेशन सो गर्ने लगायतका काम गर्ने पनि दर्नालले सुनाए ।
गोर्खा फाउन्डेसनबाटै दलित अगुवा स्वर्गीय विसे नगर्ची, इलामका सामाजिक अभियन्ता स्वर्गीय काले दमाई, नेपाली काँग्रेसका महामन्त्री समेत भइसकेका राजनीतिक अगुवा स्वर्गीय धनमान सिंह लगायत दलित सामाजिक अभियन्ताहरूको नाममा सामाजिक क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन गर्न पुरस्कार तथा सम्मान कार्यक्रम राखिने पनि दर्नालले बताए ।
प्रस्तुति चन्दा थापा ऐक्यबद्धताबाट