लीलाराज झापाली
विर्तामोड , पुस २२ गते । झण्डै डेढ दशक भारतीय मुलुक हरियाणामा मौरी पालनमा मजदुरको रुपमा काम गरेर नेपाल फर्कनुभएका झापा कनकाई नगरपालिकाका ४ का भुवन अधिकारीले अहिले स्थानीय ठाउँमानै जानेका ज्ञानशीपको सदुपयोग गर्दै आउनुभएको छ ।
उहाँले हाल गाउँमानै कनकाई मौरी पालक कृषक समुह गठन गरेर मौरीपालन सम्बन्धि ज्ञान गाउँमा अन्य सदस्यहरुलाई समेत दिदै आउनुभएको छ । हाल अधिकारीले आफ्ना दाजु र भाई लाई समेत यहि पेशामा लगाउनुभएको छ । अधिकारी दाजुभाईले अहिले २ सय घार मौरी पाल्नुभएको छ । पहिले पहिले गाउँमा चेतना नहुदा कृषकहरुले वालीमा विष हालिदिने मौरीले टोकेर विरुवा मर्यो भन्नेजस्ता अप्ठयाराहरुको सामना गर्नुपर्यो यी अधिकारी दाजुभाईले तर पछिल्लो समयमा मौरी र वालीविचको परागसेचनका वारेमा सवैलाई जानकारी हुनथालेपछि हाल फोन गरेरै कृषकहरु आफ्नो खेत वारीमा मौरी ल्याइदिनु भनी फोन गर्ने गरेको भुवन वताउँनुहुन्छ । पहिले मौरीलाई चरणका लागि नेपालका विभिन्न जिल्लाहरुमा लैजानु परेकोमा अहिले चरणको समस्या नभएको अधिकारी वताउँनुहुन्छ । उहाँले अहिले मौरीपाल्न चाहने कृषकहरुलाई यसवारेमा आवश्यक तालिम र सुलभदरमा आफैले उत्पादन गर्दै आएको मौरीको आधुनिक घारसमेत विक्रि गर्दै आउनुभएको छ । कुनैवेला परिवार पाल्न समस्या परेर भारतीय भुमिका रोजगारीका लागि जानुभएका अधिकारी अहिले घरमा १३ जनाको परिवार मात्रै पाल्नुभएको छैन हाल खर्च बटाएर वार्षिक १२ लाख रुपैँयासम्म आम्दामी गर्दै आउनुभएको छ ।
प्रतिघार वार्षिक ३० किलोसम्म मह उत्पादन गर्दै आउनुभएका अधिकारी वार्षिक ३० क्वीटलसम्म मह उत्पादन हुने वताउँनुहुन्छ । नेपालमा ५ वर्षदेखि नियमित मौरी पालन गर्दै आउनुभएका यी ३५ वर्षे युवा कृषक अघिल्लो वर्षमात्रै विश्व खाद्य दिवशको अवशरमा नेपाल सरकारले नेपालकै दोस्रो उत्कृष्ठ कृषकका रुपमा नगद सहित सम्मान गरेको थियो । सरकारले आफुहरुजस्ता शीप सिकेका युवालाई अनुदान तथा सहुलियत दरमा ऋण प्रवाह गर्ने हो भने यस ठाउँमै सयौँ युवा स्वरोजगारहुने कृषक अधिकारीको भनाई छ , हामीले अझैँपनि आर्थिक अभावमा यस पेशालाई चाहेजति विस्तार गर्न सकिरहेको छैनौँ उहाँले भन्नुभयो ।
अधिकारीले उत्पादन गरेको मह आफैँ प्रशोधन गरी वजारमा विक्री समेत गदैै आउनुभएको छ भने जडीवुटी कम्पनीले प्रतिकिलो ६ सयका दरले घरैबाट मह लैजानेगरेको समेत अधिकारीको भनाईँ छ बजारमा भने प्रतिकिलो ८ सयका दरले खुद्रा मुल्यमा विक्रि हुने गरेको उहाँले वताउँनुभयो । झापामा अधिकारी जस्ता २ सय जना कृषकहरुले सानोठुलो रुपमा मह उत्पादन गर्दै आएपनि आधादर्जन संस्था र व्याक्ति बाहेक अझैपनि मौरीपालक कृषक पुर्ण व्यावसायिक हुन नसकेको कृषकहरुको भनाई छ ।
फोटो ः कनकाई नगरपालिका ४ का मौरीपालक कृषक भुवन अधिकारी आफ्ना दाजुभाईसग मिलेर मह झिक्दै