कनकाई अनलाईन
मेचीनगर,१५ पुस ÷ गुरुङ समुदायको महानपर्व २६०२औँ तमू ल्होसार शनिबार झापा मेचीनगरका गुरुङ (तमू) समुदायले विविध कार्यक्रम गरी उल्लासमय ढंगले मनाएका छन् । नगरभरिका तमूहरु एक ठाउँमा जम्मा भई एक आपसमा शुभकामना आदान प्रदान, साँस्कृति कार्यक्रम तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै यो पर्व मनाएका हुन ।
तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद मेचीनगर समितिले आयोजना गरेको कार्यक्रममा तमू समुदायका ज्येष्ठ सदस्य ८४ वर्षीय अमृत तमु र ७२ वर्षीया योविना तमुलाई सम्मान गरिएको थियो । ङग्यूर देछछेन छोलिङ्ग गुम्बा मेचीनगर—७ परिसरमा परिषदका अध्यक्ष नारायण गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य,विशिष्ट अतिथि उपप्रमुख मिना पोखरेल उप्रेतीले सम्मान पत्रसहित दोसल्ला र अविर टिकाले सम्मान गर्नुभएको थियो ।
शनिबारबाट शुरु गुरुङहरुको नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउँदै आएका छन् ।‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमंग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका थिए । तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइबीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथिहरुले विचार व्यक्त गरेका थिए ।
तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा शुभकामना व्यक्त गर्दै एक जातिको चाडपर्वमा अर्को जातिले पनि रमाइलो गर्नु, ती चाडपर्व आफूले अंगीकार गर्नु नेपालीको मौलिक विशेषता बताईएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश भएकाले एक जातिले अर्र्काे जातिको कला, संस्कृति, रीतिरीवाज धर्म साँस्कृतिकको सम्मान गर्नु सवैको दायित्व रहेको सहभागी वक्ताहरुको भनाई थियो ।
वक्ताहरुले नेपालको संविधानले धर्म, जात, लिङ्ग र रंगको आधारमा हुने सवै खाले विभेदलाई संवैधानिक रुपले अन्त्य र राष्ट्रले देशभित्रका सबै धर्म संस्कृति परम्परा र रितीरिवाजप्रति सम्मान र व्यवहार गर्ने विचार राखेका थिए । सबै जातजाति, वर्ग समुदायहरुले आफुले परापूर्वकालदेखि मानिन्दै आएका चाडपर्व मौलिक भेषभूषालाई बचाई राख्नुपर्नेमा जोड दिएका थिए । आफ्नो भेषभुषा ,भाषा रीतिरीवाज संस्कृति हराउदै गए आफ्नै अस्तित्व संकटमा पर्ने सहभागीहरुको भनाई थियो । अहिले विभिन्न कारण परम्परागत मौलिक चाडपर्वहरु लोपहुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले सबैलाई यस्लाई बचाई राख्न्न आग्रह गरेका थिए
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती, मेचीनगर वडानम्बर—७ का वडाध्यक्ष चन्दन मेचे, गोर्खा मेमोरियल फाउण्डेसन नेपालका अध्यक्ष नरेन्द्र गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन मुल इकाई समिति मेचीनगरका अध्यक्ष खडानन्द भण्डारी,नेवा समाज मेचीनगरका अध्यक्ष कमल गुभाजु, तामाङ घेदुङ मेचीनगरका कोषाध्यक्ष रामबहादुर वाइवा, नेपाल मगर संघ मेचीनगर अध्यक्ष कृष्ण सिञ्जालीलगायतले बोलेका थिए । कार्यक्रममा गुरुङ समुदायको कला संस्कृति झल्किने भेषभूषमा किरण, केशव तमू, ममता स्वस्तिका तमुस्यो, जिया तमूस्यो, रिञ्जी तमूस्यो, ममता तमुस्यो, सगुन तमुस्यो, कल्पना, नानु, सीता, अनु, मिना, मनिका तमुस्योलगायतका कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । परिषदका सचिव सुभास गुरुङले सञ्चालन गरेको कार्यक्रमको औचित्य माथि प्रकाश होमराज गुरुङले तथा स्वागत वलिमान गुरुङले गरेका थिए ।