कनकाई अनलाईन
नियोजित ढंगले हत्या गरेपछि बोरामा हालेर रतुवा पुलमाथिबाट फालेकी रमा तिवारीको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा हत्याराको पहिचान भइसकेको र हत्याराको नजिक पुगिसकेको जनाइएको छ । शव फेला परेको भोलिपल्ट हिजो शवको पहिचान भएर सनाखत भइसकेपछि प्रहरीलाई अनुसन्धान गर्न सजिलो भएको हो । दमक वडा नं। ८ बसन्त टोल बस्ने नारायण तिवारीकी छोरी वर्ष २१ की रोमा भन्ने रमा तिवारीको हिजो परिवारले सनाखत गरेका छन् । रमा तिवारी जेठ १३ गते राति ९ः३० बजे घरबाट आफूखुसी हिडेकोमा घर फर्किएकी थिइनन् । उनी त्यति धेरै घरमा बस्ने नगरेको बुझिएको छ । उनका साथी संगतबाटै घटना भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको जनाइएको छ ।
शनिवार बिहान ११ बजे दमक–१० स्थित सेतुमारी पुलमुनि रमाको शव फेला परेको थियो । बोरामा बाँधेर रतुवा खोलाको पानीमा फालेको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अबस्थामा शव भेटिएको थियो ।
सेतुमारीमा रहेको रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा रमाको २र३ दिन अगाडीदेखि पानीमा रही ढाडिएको, रातो भेस्ट, जिन्सको पेन्ट लगाएको शव सेतो प्लाष्टिकको बोरामा पोको पारी शंकास्पद अवस्थामा फेला परेको थियो ।
पाइपले घाँटीमा कसेर उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । उनको घाँटीमा पाइपले कसेको चिन्ह रहेको प्रहरीले जनाएको छ ।
उनको शव बगेर आएको नभई हत्या गरेर रतुवाको पुलमाथिबाट फालेको हुनसक्ने आशंका गरिएको छ । पुलमाथिबाट फाल्दा बोरा फुटेर हात र कपाल बाहिर निस्किएको हुनसक्ने अनुमान गरिएको छ ।


