सन्तोष शर्मा
कनकाई, १७ जेठ । झापाको कनकाई नगरपालिका–३ स्थित कृषि बजारमा सुविधा सम्पन्न कृषि बजार भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
कनकाई नगरपालिकाको महत्वपूर्ण आयोजनाका रुपमा आर्थिक वर्ष २०८०÷०८१ मा कृषि बजार भवनको निर्माण कार्य प्रारम्भ गरिएको थियो । हाल उक्त कृषि बजार भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । नगरपालिकाले बजेट सुनिश्चित गर्दै बहुवर्षीय योजना अन्तर्गत कृषि बजार भवन निर्माण कार्यको थालनी गरेको थियो ।
एकीकृत बजार सञ्चालनको योजना
कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले बजारलाई एकीकृत बजार गर्ने सोचका साथ कृषि बजार भवन निर्माण कार्यको थालनी गरिएको बताउनुभयो । ‘प्रदेश सरकारबाट करिब २५ लाख रुपैयाँ प्राप्त भएपछि भवन निर्माण शुरु गरिएको हो’, उहाँले भन्नुभयो, ‘त्यसपछि नगरपालिकाकै बजेटबाट भवन निर्माण कार्य भइरहेको छ ।’
बजारको पश्चिमतर्फ राजमार्ग रहेको बाटो काटेर बजार पुग्न समस्या हुन नदिन ‘ओभरहेड ब्रिज’ र ‘अण्डर ग्राउण्ड पास’ निर्माण गर्ने योजनाका साथ आफूले पहल समेत गरिरहेको उहाँले बताउनुभयो । भवनको भुइँतलामा कृषि उपर बिक्री कक्षहरु रहने छन् भने माथिल्लो तलामा शितभण्डारण गृह (कोल्ड स्टोरेज) बनाउने गर्ने सोचसमेत रहेको छ ।
‘ढिलो चाँडो भए पनि व्यवस्थित बजार सञ्चालन गर्ने योजनाका साथ अघि बढेका छौं’, नगर प्रमुख पोखरेलले भन्नुभयो, ‘केही समस्या र अप्ठ्यारा समेत रहेका छन्, ती समस्या समाधानका लागि पहल भइरहेको छ ।’
साढे चार करोडको योजना
कृषि भवनको पहिलो तलामा ६१ वटा कृषि उपज बिक्री कक्ष रहनेछन् । हाल दोस्रो तलामा छत मात्र ढलान गरिएको छ । दोस्रो तलामा विभिन्न प्रकारका व्यावसायिक पसल, बैंक तथा वित्तीय संस्था लगायतका व्यावसायिक प्रतिष्ठानसमेत रहने योजना रहेको छ ।
४ करोड ५० लाख २९ हजार ११२ रुपैयाँ ५६ पैसामा भ्याट र पीएससहित कृषि भवन निर्माणको ठेक्का लागेको कनकाई नगरपालिकाका इन्जिनियर विशाल थेवेले जानकारी दिनुभयो । २०८३ जेठ १५ गते निर्माण सम्पन्न गर्ने गरी एलेक्स–शान्ति निर्माण जेभीसँग २०८१ जेठ ९ गते सम्झौता भएको इन्जिनियर थेवेले बताउनुभयो । कृषि भवन १ हजार ३ सय ८ दशमलव ४५ वर्गमिटरको रहेको छ ।
पेबर्स र शौचालयको काम हुँदै
कृषि बजार भवनसँगै शौचालय निर्माण र भुइँमा पेबर्स बिछ्याउने कार्य धमाधम भइरहेको छ । संघीय सरकारको ६६ लाख ७० हजार ५५३ रुपैयाँ ७ पैसा लागतमा शौचालय र पेवर्सको बिछ्याउने काम भइरहेको इन्जिनियर थेवेले जानकारी दिनुभयो ।
‘कृषि बजार पूर्वाधार निर्माण तथा निरन्तरता शीर्षक अन्तर्गत दुवै काम भइरहेका छन्’, उहाँले भन्नुभयो, ‘हाइड्रोलिक इन्टरलक लगाउने काम र सार्वजनिक शौचालय निर्माण धमाधम भइरहेको छ ।’
श्री क्यु.एन.सी. कन्स्ट्रक्सन प्रालिले सार्वजनिक शौचालय निर्माण र पेबर्स बिछ्याउने कामको ठेक्का पाएको छ । २०८२ माघ २८ गते निर्माण सम्झौता गरिएको थियो भने २०८३ वैशाख २५ गते निर्माण सम्पन्न गर्नुपर्ने समयावधि रहेको थियो ।
नमुना कृषि बजार बन्ने
कृषि बजार भवन निर्माण भएपछि नेपालकै नमुना कृषि बजारका रूपमा यो बजार स्थापित हुने बजार व्यवस्थापन समितिका डिल्ली उप्रेतीले विश्वास व्यक्त गर्नुभयो । ‘किसानले उत्पादन गरेका कृषि उपजलाई थप व्यवस्थित रूपमा बजारीकरण गर्न यो बजारले महत्वपूर्ण योगदान पु¥याउँछ’, उहाँले भन्नुभयो ।
कृषि बजार भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेकाले निर्माण कम्पनीले जेठ मसान्त भित्रमा भवन निर्माणको काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्ने उहाँले बताउनुभयो ।
टहरामा कृषि उपज बिक्री गरिरहेका किसान तथा व्यवसायीलाई नयाँ भवनमा स्थान्तरण गर्ने र सहुलियत भाडा दरमा विक्री कक्ष प्रदान गरिने उहाँले बताउनुभयो । भवन भन्दा बाहिर रहेका टहराहरुमा गैर कृषि वस्तुहरू जुत्ता–चप्पल, कपडा लगायतका पसल रहने उहाँले बताउनुभयो ।


