कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाको भलिबल टिमले १८ औ कोशी प्रदेश स्तरीय भलिबलको उपाधि जित्दै नगद २ लाख २२ हजार २२२ रुपैँया राशीको पुरस्कार जित्न सफल बनेको छ ।
धनकुटाको हिलेमा आयोजित कोशी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा फाईनल खेलमा रामप्रसाद राई गाउँपालिका भोजपुरलाई ३÷० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
उपबिजयी बनेको रामप्रसाद राई गाउँपालिकाको टिमले भने नगद १ लाख ११ हजार १११ रुपैँयामा चित्त बुझायो । यसैगरि विधागत तर्फका प्राय सबै पुरस्कार समेत कनकाईले हात्त पार्यो । जसमा कनकाईका अंकित कोइराला प्लेयर अफ द म्याच बने उनले नगद ५ हजार रुपैँया प्राप्त गरे । यसैगरी कनकाईकै वेस्ट सेटर शन्देश आचार्य, वेस्ट स्पाईकर अमृत मल्ल ठकुरी, बेस्ट ब्लकर कनकाईकै अनिश निरौला हुदै नगद ३ हजार सहित ट्रफि पाएका थिए ।
हिले भलिबल क्लवको आयोजनामा भएको यस प्रतियोगितामा कोशी प्रदेशका ९ वटा पालिकाको भलिबल टिमको सहभागिता रहेको थियो । जसमा कनकाई नगरपालिका झापा, भोटपुरको आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका यसैगरि धनकुटाको पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका यसैगरि संखुवासभाको सभापोखरी गाउँपालिकाको टिम सहभागिता रहेको थियो ।


