कनकाई अनलाईन
यहाँस्थित नवयुग शिक्षा निकेतनका शिक्षकको पिटाईबाट कक्षा १० का १५ बर्षिय विद्यार्थी सख्त घाईते बनेका छन ।
कनकाई नगरपालिका १ का नवयुग शिक्षा निकेतनका विज्ञान शिक्षक निश्चल लिम्बुको पिटाईबाट सोहि विद्यालयमा कक्षा १० मा अध्यानरत् विद्यार्थी अंकित गुरागाई सख्त घाईते बनेका हुन ।
अध्यायनका बेला होहल्ला गरेको आरोपमा ती शिक्षकले विद्यार्थीको टाउकोमा २५ पटक भन्दा बढी प्रहार गरेको र घाईते विद्यार्थीलाई उपचारका लागि विएण्डसी अस्पतालमा सुधार नभएपछि थप उपचारका लागि काठमाण्डौस्थित न्युरो अस्पतालमा लगिएको पिडित विद्यार्थीका पिता अर्जुन गुरागाईले कनकाई अनलाईनलाई बताउँनुभयो ।
अहिले छोराको अवस्था दिनानुदिन जटिल बनिरहेको छ, छोरामाथि धेरैनै कुटपिट भएको रहेछ साथीहरुले नछुट्टाएको भए ज्यानै तलमाथि हुने रहेछ गुरागाईले भन्नुभयो ।
यता सोही विद्यालयमा अध्यान गर्ने एक अर्का विद्यार्थीले निश्चल लिम्बुलले पछाडि फर्किएर साथीलाई नोटबुक दिएको निउमा धेरैनै कुटपिट गरेको र कक्षामा अन्य विद्यार्थीहरुले छुट्टाएको बताए । यसवारेमा इलाका प्रहरी कार्यालय विर्तामोडले विद्यार्थीमाथि अमानविय हिसाबले पिटेको निवेदनका आधारमा सोही विद्यालयका विज्ञान शिक्षक फिदिम नगरपालिका ६ घर भई हाल कनकाई नगरपालिका १ बस्ने २३ बर्षिय निश्चल लिम्बुलाई बुधवार नियन्त्रणमा लिएको जनाएको छ ।
यता वालमैत्री नगरमा विद्यार्थीमाथि कुटपिट भएको भन्दै कनकाई नगर बाल सञ्जालले आपत्ति जनाएको छ । सञ्जालका अध्यक्ष आदित्य बुडाथोकी र सचिव अंकुर उप्रेतीले एक विज्ञप्ति जारी गर्दै वालमैत्री नगरमा वालअधिकार हनन हुनु दुखद भएको बताइएको छ ।


