कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा विभागिय टीम सशस्त्र प्रहरी वलको एपिएफ फाईनलमा प्रवेश गरेको छ ।
शुक्रवार आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा आयोजक झापा ११ फुटबल क्लवलाई ट्राईब्रेकरमा स्तब्ध पार्दै एपिएफले फाईनलको यात्रा तय गरेको हो ।
फाईनल प्रवेशसगै एपिएफले कम्तीमा ७ लाख ५० हजार राशी सुरक्षित गरेको छ । एपिएफले उपाधिका लागि शनिवार हुने त्रिभुवन आर्मी र मछिन्द्र फुटबल क्लवको बिजेतासग खेल खेल्ने छ । प्रतियोगितामा अवधिभर खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो ट्राईब्रेकरबाट गरिएको थियो ।
टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गर्नुभयो भने नविन लामाको प्रहार झापाका गोलकिपर सन्दिप लिम्बुले विफल पार्नुभयो ।
झापाका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले प्रहार मात्रै गोलमा प्रवेश गरेको थियो । झापाका नारायण क्षेत्री र गौरव धिमालको बल एपिएफका गोलकिपर एञ्जल श्रेष्ठले बचाउनु भयो ।
प्रतियोगितामा खेलमा अग्रता भने झापा ११ ले बनाएको थियो । खेलको ६१ औँ मिनेटमा झापाका नारायण क्षेत्रीको कर्नर प्रहारमा झापाका विदेशी खेलाडी रिचार्ड विल्सनले गोल गर्दै आयोजकलाई अग्रता दिलाउनुभयो ।
झापाको अग्रता ६ मिनेट पनि टिक्न सकेन । एपिएफका स्ट्राइकर नविन लामाले ६७ औँ मिनेटमा खेललाई बराबरीको अवस्थामा पुर्याउनुभयो । लामाले डिबक्स बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दै गोलमा परिणत भएको थियो ।
झापाका तर्फबाट खेलको ३९ औँ मिनेटमा रोहन कार्कीको प्रहार बारमा लागेर फर्किंदा खेलमा अग्रता लिने अवसरबाट झापा बञ्चित भएको थियो । खेलको ५७ औँ मिनेटमा झापाका रिचार्ड विल्सनको लङ रेञ्जर सट बारको केही माथिबाट बाहिरिएको थियो ।
एपिएफले ३० औँ मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । दिपेश धिमालले पाएको सुन्दर अवसर खेर फाल्नुभएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ हुनुभयो । उहाँले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।


