कनकाई अनलाईन
आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभाको निर्वाचनमा आचारसंहिता पालनामा कडाई गरिने र निर्वाचनलाई व्यवस्थित बनाउन मतदाता शिक्षामा जोड दिने भएको छ ।
शुक्रवार झापाको चन्द्रगढीमा आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताउँनुभयो ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन आयोगले यही फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । सोही अन्तर्गत झापाका १३१ वटा वडामा कार्यक्रम हुनेछ ।
प्रत्येक वडामा एक–एकजना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेपालले जानकारी दिनुभयो । स्वयम्सेवकले मतदाताको घर, बस्तीमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको नेपालको भनाइ छ ।
मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कार्यालयको विश्वास छ । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागिएको कार्यक्रममा नेपालले जानकारी दिनुभयो । यता झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले झापामा निर्वाचन आचारसंहिता पालनामा कडाई गरिएको बताउँदै नियमविपरित राखिएका बोर्ड र प्रचार सामाग्री प्रथम चरणमा उम्मेद्धार स्वयमलाई हटाउने भनिसकिएको र अटेर गरेको पाइएमा प्रहरीले हटाउने र उक्त उम्मेद्धारको उम्मेद्धारी खारेजीसम्मको लागि सिफारिस गरिने बताउँनुभयो । निर्वाचनलाई भय रहित बनाउनका लागि सुरक्षाको सबै प्रबन्ध मिलाइसकिएको समेत प्रमुख जिल्ला अधिकारी गेलालको भनाई थियो ।
कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आचारसंहिता लागुमा थप कडाई गरिएको बताउँनुभयो ।
अन्तरक्रियामा झापाका मुख्य निर्वाचन अधिकृत क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले निर्वाचनलाई सफल बनाउन सबैको भुमिका अपरिहार्य रहेको बताउँनुभयो ।
अन्तरक्रिया कार्यक्रममा झापाका प्रहरी प्रमुख बसुन्धरा खड्का, नेपाली सेना अरिदमन गण चारआलीका प्रमुख सेनानी सरोज थापा, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेडक्वाटर झापा प्रमुख अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका प्रमुख उमेश पाण्डे लगायतको आआफ्नो धारणा राख्नुभयो । झापामा कुल ७ लाख १३ हजार ५३७ जना मतदाता रहेको र २८५ मतदान स्थालमा ८१५ वटा मतदान केन्द्रहरु स्थापना गरिएको छ । झापामा ५ निर्वाचन क्षेत्रमा विभिन्न पार्टी तथा स्वतन्त्र गरि कुल ९० उम्मेद्धार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।


