कनकाई अनलाईन
झापाको बिर्तामोडमा सुरु झापा गोल्डकपमा विभागिय टीम नेपाल पुलिस क्लवलाई २—१ को कठिन जित निकाल्दै बिजयी सुरुवात गरेको छ । उदघाटन खेलमा आयोजकको टिम झापा–११ फुटबल क्लबले १—० गोलले पछि परेको अवस्थाबाट खेलमा फर्कदै २—१ को जित निकालेको हो । यो जितसगै झापाको डोमालाल राजवंशी रंगशालामा आयोजित एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए ।
खेलको १२ औँ मिनेटमा पुलिसले खेलमा अग्रता लिएको थियो । पुलिसका लागि धीरेन्द्र साहको क्रस पासमा जोन विष्टले वान टचमा गोल गरेका थिए ।
झापाले पहिलो हाफको इन्ज्युरी समयमा गोल फर्कायो । झापाका लागि राजेश दाहालले गरेको प्रहारलाई डिबक्समा अनमार्क रहेका शिशिर लेखीले गोल गर्न सफल भए । झापाका लागि निर्णायक गोल भने राजेश दाहालले गरे । ५९ औँ मिनेटमा शिशिर लेखीको फ्रिकिकलाई दाहालले पोस्टको दिशा दिए । उनको गोल नै झापाको जितका लागि पर्याप्त बन्यो ।
पुलिसले भने पाएका थप सुन्दर अवसरहरु पुलिसले सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ । ३५ औँ मिनेटमा विजय उराउले पाएको अवसर झापाका गोलकिपर सन्दिप लिम्बुले विफल बनाए । ५७ औँ मिनेटमा गोलकिपर अगाडि बढेको अवस्थामा पाएको अवसर पनि पुलिसले सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरिएको छ ।
झापाका एरोन थापा मगरले ४१ औँ मिनेटमा डिएरियाबाट गरेको हेडबल बारमा लागेर फर्किएको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका राजेश दाहाल भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । भोलि आइतबारको खेल त्रिभुवन आर्मी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाइ स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगितामा नेपालका तीन विभागीय क्लब नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, लालिगुराँस एसोसिएसन पोखरा, चर्च ब्वाइज युनाइटेड, आयोजक झापा–११ तथा भारतको सिङलिङ स्पोर्टिङ क्लब, भुटानको रोयल थिम्पु कलेज र मलेसियाको एन पेनाङ एफसीको सहभागिता रहेको छ ।
फोटो ः रातो जर्सीमा नेपाल पुलिस क्लव र हरियो जर्सीमा आयोजक हरियो जर्सीमा प्रतिस्पर्धा गर्दै


