कनकाई अनलाईन
मोफसलकै लोकप्रिय झापा गोल्डकपको सातौ संकरण आज शनिवारबाट झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा सुरु हुने भएको छ ।
आजोजक झापा गोल्डकपले पत्रकार सम्मेलनको आयोजना गर्र्दै प्रतियोगिताको तयारी पूरा गरिएको जानकारी दिएको हो ।
आज हुने उदघाटन खेलमा आयोजक झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन ।
प्रतियोगिताका लागि खेलमैदान र १० हजार दर्शक बस्न मिल्ने बाँसको अस्थायी प्यारापिट निर्माणलगायतका काम सम्पन्न भएको आयोजक समितिका अध्यक्ष केदार गिरीले बताउँनुभयो । खेलमैदानमा दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओछ्याइएको छ ।
यो प्रतियोगितालाई पूर्वअध्यक्ष विनोद बस्नेतको स्मृतिमा समर्पित गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेताले नगद ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एकथान यामाहाको मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले नगद ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताका प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लबसहित चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ फुटबल क्लब मलेसियाको सहभागिता रहने छ ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । सञ्चालनको लागि एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।


