कनकाई अनलाईन
टेलिफोनमा प्रयोग हुने केवलका तार चोरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् ।
शनिवार दिउँसो मेचीनगर नगरपालिका –७ इटाभट्टास्थित बस स्टेन्डमा शंकास्पद रुपमा ४ जना भारतीयलाई फेला पारी उनीहरुले बोकेको ७ वटा बोरा चेकजाँच गर्दा उक्त बोराभित्र टुक्रा– टुक्रा बनाई प्याकिङ गरेको टेलिफोनमा प्रयोग हुने केवल तार फेला परेको थियो । ती तार मोरङ बेलबारी बजार आसपासमा निर्माणाधिन अवस्थामा रहेको सडक तथा पुल भएको स्थानमा जमिनमुनि गाडेको ठाउँबाट उनीहरुले चोरी गरेको खुलेको छ । भारतको पानीट्याङ्कीमा रहेको कवाडीको दोकानमा बिक्री गर्न उनीहरुले लैजान लागेका थिए ।
पक्राउ पर्नेहरुमा पश्चिम बंगाल, दार्जिलिङ जिल्ला पानीट्याङ्की बस्ने २४ वर्षीय महमद राजेश , ३२ बर्षिय राहुल अधिकारी, नेपाल भारत सिमास्थित बतासी बस्ने २२ वर्षीय दिनबन्धु सरकार ,सोही ठाउँ बस्ने २४ वर्षीय शुबंकर दास रहेका छन् । उनीहरुलाई दसीका सामानसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ । पछिल्लो समय झापा तथा मोरङका विभिन्न स्थानमा रातीको समयमा टेलिफोनको तार चोरी गर्ने घटना बढदै गएसगै प्रहरीले यसवारेमा खोजविन र गस्ती बढाएको थियो ।


