कनकाई अनलाईन
झापाको भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको उपाधि आयोजक भद्रपुर ब्लेजर्सले हात पारेको छ । शुक्रवार सम्पन्न फाईनल खेलमा झापाकै अर्को टिम झापा ११ लाई २—० को सहज जित निकाल्दै आयोजकले उपाधि रक्षा गरेको हो । उपाधिसगै आयोजक भद्रपुरले नगद १३ लाख रुपैँया प्राप्त गर्यो । उपबिजयी बनेको झापा ११ ले ७ लाख रुपैँया प्राप्त गर्यो ।
आयोजक भद्रपुरले खेलको ३० औँ मिनेटमा खेलमा अग्रता लियो । डिबक्स बाहिरबाट मिलन राईको सर्टपासमा पेनाल्टी एरियाभित्रबाट कप्तान आशिष चापागाईंले बललाई जाली चुमाउँदै टिमलाई १–० ले अग्रता दिलाउनुभयो ।
खेलको इन्ज्युरी समयमा भद्रपुरका सत्यम शर्माले गोल गर्दै टिमको जित थप निश्चित बनाउनुभयो । अवयोमीको हेड बललाई २५ यार्डको दूरीबाट कडा प्रहार गरेर शर्माले जाली चुमाउदै झापा ११ लाई निराश बनाउनुभयो ।
दुवै टिमलाई घरेलु दर्शकको समर्थन रहेको खेलको १४ औँ मिनेटमा भद्रपुरका विवेक पौडलको प्रहार क्रस बारबाट बाहिरिदा अग्रता बनाउनबाट भद्रपुर चुकेको थियो । खेलको ४० औँ मिनेटमा भद्रपुरका कुलदिप कार्कीको लङ प्रहारमा विदेशी खेलाडी अवयोमीको हेडरलाई झापाका गोलकिपर सन्दिप लिम्बूले बचाउदा अग्रता दोब्बर बनाउने अवशर भद्रपुरले खेर फालेको थियो ।
खेलको १८ औँ मिनेटमा झापा ११ का रोहण कार्की गोलगर्नबाट चुक्नुभयो । खेलको २३ औँ मिनेटमा समिर तामाङको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा झापा गोल बिहिन हुनपुग्यो ।
खेलको ४३ औँ मिनेटमा समिर तामाङले खेललाई बराबरी ल्याउने अवसर गुमाउनुभयो । बबिन बोहोराको क्रस पासमा तामाङको प्रहार क्रसबारको मध्यभाग लागेर फर्किदा झापा उपाधिबाट टाडा हुनपुग्यो ।
फाइनल खेलको प्लेयर अफ म्याच भद्रपुरका विशाल दर्जी हुदै नगद २१ हजार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्ट भद्रपुरका कप्तान आशिष चापागाईं हुदै नगद एक लाख पाँच हजार र ट्रफी प्राप्त गर्नुभयो ।
विधागत तर्फ उदयीमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल हुदै जनही नगद २५ हजार प्राप्त गर्नुभयो ।
फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टिभिएस राइडर मोटरसाइकल र अर्का दर्शक भद्रपुरका विक्रम बरालले सुनको सिक्री प्राप्त गर्नुभयो ।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुली लगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टिकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार र नगद वितरण गर्नुभयो ।