कनकाई अनलाईन
दक्षिणी झापाको कचनकवल गाउँपालिकामा करिब १४ महिनाअघि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर सेवा जडान नहुँदा एक जना बिरामीले अकालमै ज्यान गुमाउनु परेको छ ।
कचनकवल गाउँपालिका–५ खुमरुभिट्टा निवासी ६५ वर्षीय नेहरुलाल टुडूलाई शनिवार बिहान ५ बजे विषालु सर्पले बायाँ खुट्टामा डसेको थियो । आफ्नै घरको ग्वालीमा पराल निकाल्न जाँदा टुडूलाई सर्पले डसेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी लगिएको थियो । समयमै उपचार केन्द्र पु¥याउन नसक्दा उनको शरीरभरी विष फैलिसकेकोले भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था आयो । तर, केन्द्रमा भेन्टिलेटर सेवा नहुँदा उनलाई थप उपचारका लागि भद्रपुर पठाइएको थियो । उनलाई उपचारका लागि ओम साई पाथीभरा हस्पिटल भद्रपुर पु¥याउनासाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी पाठकले बताए ।
‘बिरामीलाई बिहान करिब ५ बजे सर्पले डसेको थियो, उहाँलाई झन्डै डेढ घण्टापछि उपचार केन्द्रमा ल्याइयो’– उपचार केन्द्रका अहेव हृदय नारायण साहले भने– ‘उहाँलाई किङ कोब्राले डसेको रहेछ, कोब्राको विष शरीरमा छिट्टो फैलिन्छ, भेनम दिँदा पनि उहाँको स्वास्थ्यमा केही सुधार आएन ।’ ‘उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने अवस्था आयो, तर केन्द्रमा चिकित्सकसहितको भेन्टिलेटर सुविधा नहुँदा उहाँलाई अन्यत्र पठाउनुप¥यो’– अहेव साहले भने ।
बिरामीलाई किन ढिलो ल्याइयो भनेर छरछिमेकलाई बुझ्दा उनीहरुले सर्पले डस्दा उनको घरमा कोही नभएको बताए । श्रीमती कामले बाहिर गएकी र उनी एक किलोमिटर जति हिँडेको छिमेकीले बताएका छन् । सर्पले डस्दा हिँड्डुल गर्नु हुँदैन, ३० मिनेटभित्र उपचार केन्द्रमा ल्याई सक्नुपर्ने हुन्छ, तर उनी त्यसो केही नगरेका कारण उनको अकालमै मृत्यु भएको छिमेकीले बताएका छन् । उपचार केन्द्रले पहिलोपटक बिरामी बचाउन असफल भएको भन्दै अहेव साहले भने– ‘भेन्टिलेटर हुँदा उहाँलाई बचाउन सकिन्थ्यो होला ।’ भेन्टिलेटर नहुँदा अहिलेसम्म दुई जना बिरामीलाई अन्यत्र रेफर गरेको उनको भनाइ छ ।
स्थानीयको चर्को बिरोध र आन्दोलनपछि गाउँपालिकाले २०७८ साल असार ३ गते कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी हाताभित्र सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको थियो । सर्पदंशका बिरामीको सेवा सुविधालाई मध्यनजर गरी अन्तर्राष्ट्रिय सहयोगी संस्था सेवा क्यानडा र पोखराको सामाजिक संस्था युथ फर सेवाले २०७८ भदौमा एउटा भेन्टिलेटर, डिजिटल एक्स–रे, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
दाताले दिएको सो स्वास्थ्य उपकरण प्राथमिक स्वास्थ्य केन्द्रभित्र थन्क्याएर राखिएको छ । दाताले दिएको भेन्टिलेटर, बेड, एसी र दुई जना अहेवको तालिमका लागि लिखित रूपमै बजेट माग गरे पनि गाउँपालिकाबाट हालसम्म सम्बोधन नभएको स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए ।
‘स्वास्थ्य शाखाले ७ देखि ८ लाख रुपैयाँ बजेट गाउँपालिकासँग माग गरेको हो’– शाखा प्रमुख यादवले भने, ‘कार्यपालिका बैठकमा निर्णय हुने र फायल थन्क्याउने काम मात्र अहिलेसम्म चलिरह्यो ।’ ‘बजेट छैन भन्दै निर्णय कार्यान्वयनका लागि विगतको स्थानीय सरकारले खासै चासो देखाएन’– उनले भने– ‘अहिले निर्वाचित भएर आएका जनप्रतिनिधिले यसलाई पूरा गर्नुहुन्छ भन्ने विश्वास छ ।’
स्वास्थ्य शाखाले तीन दिनअघि मात्र भेन्टिलेटर जडानसहितको आवश्यक बजेट मागको लागि पुनः प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई फायल पेश गरेको उनले बताए । ‘तीन दिन अघि फायल पेश गरेको आजै भेन्टिलेटर नहुँदा घटना घट्यो’– उनले थपे । उपचार केन्द्रले १४ महिनाको अवधिमा ३३९ जना सर्पदशंका बिरामीको सफल उपचार गरेको छ ।