कनकाई अनलाईन
सिँचाइका लागि पानी नपाउँदा मध्य झापाको ५ हजार हेक्टर क्षेत्रफलका किसान प्रभावित भएका छन् । ढुंगा, गिट्टी र बालुवाका लागि जथाभावी उत्खननले नदीको सतह गहिरिँदा कनकाई सिँचाइ प्रणालीको हेडवर्क्स क्षतिग्रस्त भएको थियो ।
त्यसको मर्मत चलिरहेकाले यतिबेला सिँचाइका लागि नहरमा पानी चलाइएको छैन । चैते बाली लगाउने किसान खेतमा पानी नआउँदा मर्कामा परेका हुन् । सिँचाइ व्यवस्थापन कार्यालय गैंडेका अनुसार सतह करिब १५ फिट गहिरिँदा पुरानो हेडवर्क्समा क्षति भएको थियो । शिवसताक्षी १० दोमुखास्थित चुरेको फेदमा रहेको हेडवर्क्स जोगाउन मुस्किल परेको इन्जिनियर मुकेशकुमार गामीले बताए । ‘पछिल्लो केही वर्षयता नदीको सतह लगातार गहिरिँदै गएको छ । अहिलेकै अवस्थामा नदी गहिरिने हो भने अबको ४(५ वर्षमा हेडवर्क्स नै झुन्डिने अवस्थामा पुग्छ’, उनले भने, ‘मर्मत भइरहेको छ ।’ कार्यालयले हेडवर्क्स मर्मतको काम अघि बढाएको छ । नयाँ डन्डी राखेर थप ८ इन्च ढलानको काम अघि बढाइएको कार्यालय प्रमुख प्रदीप बान्तवाले जानकारी दिए । उक्त प्रणालीले जिल्लाको शिवसताक्षी ९, गौरादह नगरपालिका, कमल र गौरीगञ्ज गाउँपालिकाको १(१ गरी १२ वटा वडाको ७ हजार हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुर्याउँदै आएको छ । यो सिँचाइ प्रणालीबाट १७ हजार १ सय ३१ घरपरिवार किसानलाई खेतीपातीमा सघाउ पुर्याएको छ ।
‘सिँचाइ सुविधा पाएका यस क्षेत्रका ९० प्रतिशत किसानले दुई बाली धानखेती गर्छन्, झन्डै दुई हजार बढी परिवारले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्’, कार्यालयका कृषि परियोजना प्रमुख भूमिप्रसाद काफ्लेले भने । हेडवर्क्स मर्मत चलिरहेकोले चालु वर्ष मध्य झापाको ५ हजार हेक्टर क्षेत्रफलका किसान प्रभावित भएका छन् । सिँचाइ प्रणालीमार्फत पानी सञ्चालन नहुँदा शिवसताक्षी, कमल, महाभारा र बैगुन्धुराका किसानले चैते धान लगाउन तथा बेमौसमी खेती गर्न नपाउने भएका हुन् । नदीले वर्षात्मा बगाएर ल्याउने ढुंगा–गिटीले पनि हेडवर्क्समा असर पुगेको बान्तवाको भनाइ छ । ‘नदीले बर्सेनि बगाएर ल्याउने ठूल्ठूला ढुंगाले हेडवर्क्समा क्षति पुर्याएको छ,’ उनले भने । १४ मिटर चौडाइ र ९९ मिटर लम्बाइको हेडवर्क्सको पूरै भाग मर्मतको काम चलिरहेको उनले बताए । विराटनगरको विकास एन्ड ब्रदर्स एसएएस ओम गणेशाय जेभीलाई ४ करोड ६७ लाख ९ हजार २ सय ८८ रुपैयाँमा मर्मत ठेक्का दिइएको बान्तवाले बताए । मर्मत अवधि असार २५ सम्म भए पनि चैतभित्रै पूरा हुने गरी काम भइरहेको छ । उक्त प्रणालीको हेडवर्क्स २०३५ मा बनेको थियो ।