✍️उदय मैनाली
कोरोना भाइरस (कोभिड १९) महामारी फैलिएको पनि महिनौँ भइसक्यो । तर यो महामारीले विदा लिने संकेत अहिलेसम्म देखाएको छैन । यस महामारी कहिले शान्त होला त ? सबैको मन मष्तिस्कमा यही प्रश्नले डेरा जमाएको छ । सन् २०२० को शुरुदेखि नै विश्वका हरेक मानिसको जिज्ञासाको विषय बनेको कोरोना महामारी समग्रमा मानव जाति र मानव सभ्यताका लागि चुनौतीको विषय बनेको छ । यसको उचित र सन्तोषजनक अवतरणको प्रतिक्षामा छ समग्र विश्व ।
विद्यालय बन्द छन्, लामो यात्रा र पर्यटनमा बन्देज छ, ठुलो संख्यामा भेला हुन पाइँदैन, सभा सम्मेलन, भेटघाट, सेमिनार, छलफल सबै ठप्प छन् । व्यापार व्यवसाय, दैनिक ज्यालादारीमा काम गर्ने जनसंख्या सबैको आयआर्जन ठप्प छ । विज्ञ देखी सरकारसम्म यस महामारीको नियन्त्रण र उपचारका विकल्पहरुको खोजीमा व्यस्त छन् ।
विश्व स्वास्थ्य संगठन र सरुवा रोग विशेषज्ञहरुको मत र धारणा पनि एक आपसमा बाझिने किसिमको आइरहेको परिप्रेक्ष्यमा के विश्व स्वास्थ्य संगठनले भने जस्तै यही समर सिजनसम्ममा यस महामारीबाट हामीले छुटकारा पाउनेछौँ त ? कतिपय विशेषज्ञका अनुसार यो महामारी केही दशक अगाडीको सार्स महामारीसँग तुलना गर्दै सिमित समयभन्दा लामो नरहने विश्वास गर्दछन् । कतिपयले यो भाइरस गर्मी मौसममा बाँच्न नसक्ने भन्दै गर्दा भारत, ब्राजिल जस्ता गर्मी मुलुकमा संक्रमणले तिव्रता लिनु आँफैमा विरोधाभाषी देखिन्छ ।
यस प्रकारका विश्लेषण र धारणा खासै प्रमाणित र सत्य साबित हुन नसकिरहेको अवस्थामा यस प्रकारका धारणाहरुलाई राजनीतिक टिप्पणी मात्र भन्दा फरक नपर्ने कतिपयको तर्क रहेको छ । साथै एउटा निश्चित रुप पार गरेपछि आफै यस महामारीले छाड्दै जान्छ भन्ने कतिपयको बुझाइ पनि यथार्थमा असत्य नै साबित भयो ।
बटलर विश्वविद्यालयका पब्लिक हेल्थ स्पेसियालिष्ट सहप्राध्यापक ओग्बोन्नाया आमेन्काको विचारमा पनि कुनै पनि फ्लू चिसो मौसममा शुरु भएर गर्मी मौसममा अन्त्य हुन्छन् तर यहाँ त समर सिजन सकिएर विन्टर सिजन बित्ने बेला भयो तर दिनानुदिन झन् बढ्दो क्रममा रहेको यस महामारीले अझ कतिको ज्यान लिने हो हेर्न बाँकी नै छ । यस बाहेक अफ्रिकी मुलुकहरुमा पनि संक्रमण देखिनुले यस भाइरसलाई तातो वा चिसोले त्यति फरक पार्ला भनेर भन्न सकिने अवस्था छैन । बरु विज्ञहरुले सरकारहरुलाई दिएको सुझाव बमोजिम स्वास्थ्य सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्दै हाम्रो द्रैनिक व्यवहार र आनिबानीमा चलाखीपुर्ण सुधार गरेमा संक्रमणको आयु घट्न सक्छ ।
त्यसो त अहिलले अपनाइएका प्रतिबन्धात्मक रणनीतिहरु दिगो नरहने र यसले सामाजिक र आर्थिक रुपमा डरलाग्दो क्षती हुने संकेत देखिसकेको छ । यस्तो परिस्थितिमा संसारबाट यसको उचित निकासको बाटो खोज्ने काम भइरहेको छ तर कोरोना भाइरसको संक्रमण फैलन कुनै कमी भएको छैन । यो महामारी विश्वका लागि वैज्ञानिक र सामाजिक चुनौती हो । यस विषयमा विश्वका ठुला शक्तिराष्ट्रहरु पनि मार खाइरहेको अवस्थामा अब कहिले सम्म महामारीले बिदा लेला त ? सबैको चासोको विषय बनेको छ ।
यो परिस्थितिबाट बाहिर निस्कन विज्ञहरुले मुख्यतया तीन वटा उपायहरु सुझाएका छन् । खोपको विकास गर्नु, रोग प्रतिरोध क्षमता बढाउनु र दैनिक व्यवहार र आनीबानीमा व्यापक परिवार्तन गर्नु । तर यी तीन उपायहरु मध्ये प्रभावकारी उपाय भनेको खोपको विकास नै हुन् । तर यसको परिक्षण र प्रयोग गर्न करिब १ वर्षभन्दा बढी नै लाग्ने देखिन्छ किनकी खोपको विकास अझै पनि सुरुवाती चरणमा छ । बिबिसिमा उल्लेख भए अनुसार कम्तिमा १२ देखी १८ महिनासम्ममा खोप विकास र परिक्षण भए पनि यसको आम स्तरमा पुग्न अवष्य पनि अर्को वर्षदिन लाग्छ ।
अर्को ठुलो उपाय भनेको रोग प्रतिरोध क्षमता बढाउनु हो । केही विज्ञहरुका अनुसार अझै केही बर्ष यो संक्रमण कायम रहने हो भने मानव शरिरमा यसको प्रतिरोधी क्षमता स्वत बढ्दै जाने हुन्छ तर त्यतिबेर सम्ममा यो महामारीले धेरै मानिसको ज्यान दिइसकेको हुनेछ ।
बरु तेस्रो उपायको रुपमा रहेका मानिसको दैनिक व्यवहार र आनीबानीम परिवर्तन गरेर यस महामारीको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु भने झै यस उपायले केही हदसम्म हामीलाई यस भाइरसबाट बचाउन मद्धत गर्छ । तर यो उपचार विधि नभएर रोकथाम विधि मात्र हो । तर चिनको वुहानमा जस्तो उच्च सतर्कता अपनाउन सके यो भाइरसबाट बच्न सकिने उदाहरण प्राप्त भएको छ ।
यस संक्रमणको आयु आजसम्म कसैेले ठ्याक्कै यति नै हो भनेर कसैले यकिन गर्न सकेका छैनन् तथापी यसलाई नियन्त्रण गर्न सम्भव रहेको र दिगो समाधानका दिशामा विश्व कै ध्यान आकृष्ट भएको अवस्था छ ।
यो विश्व मानवका लागि ज्वलन्त विषय हो र यस ज्वलन्त विषयमा सबैको ज्वलन्त प्रश्न भनेको यसको अन्त्य कहिले हुने हो ? भन्ने नै रहेको छ ।
इतिहासलाई फर्केर हेर्दा विगतमा दुई हजार वर्षयता प्लेग रोगको महामारी संसारले खेपेकै हो । त्यस्तै अठारौँ शताब्दीको मध्य तिर विफरले पनि महामारीको रुप लिएकै हो । सन् १९१८ मा फैलिएको इन्फ्लुएन्जा महामारी पछि पनि क्वारेन्टाइन, सामाजिक दुरी जस्ता शब्द अभ्यासमा आएकै हुन् । विगतका यस्ता महामारीको अन्त्य भए झैँ कोरोना महामारीको पनि अन्त्य होला त ?
विगतका महामारी नासिए जस्तै यस पटकको महामारी पनि नासिएला नै तर कोरोना महामारीलाइ स्वास्थ्य विज्ञानले भन्दा पहिले मानिसले सामाजिक तवरले नष्ट गर्न सक्छन् । यसको खोप वा औषधी आउन लाग्ने समय पुर्व मानिस सामाजिक दुरी र लकडाउनबाट दिक्क मान्नेछन् र यसलाई महामारी मान्न छाडिदिनेछन् । जसले गर्दा मानिसको रोग प्रतिरोध क्षमता कोरोना भाइरसमाथि विस्तारै बलियो हुँदै गएर भाइरसको प्रभाव कम हुनेछ ।
मानिसहरुमा उत्पन्न नैरश्यता र थकानले सामाजिक र मनेवैज्ञानिक असरहरु देखिन थालेको परिस्थितिमा मानिसहरु जसरी पनि आफ्नो सामान्य दैनिक जीवनमा फिर्ता जान चाहन्छन् र जसको शुरुवात भइसकेको पनि छ । मानिसहरु स्वत स्फुर्त रुपमा गाडी, पसल, व्यवसाय, कार्यालय, उद्योग कलकाखाना खोल्न थालिसकेका छन् ।
तसर्थ अब यसको अन्त्यबारे सोच्ने बेला आइसकेको छ । नागरिक समाज र बुद्धिजीवि वर्गले कोरोना महामारीको सामाजिक अन्त्यबारे सोच्न थालिसकेको छन् ।
लेखक मैनाली बिर्तामोड-२ चारपाने निवासी हुनुहुन्छ।हाल उहाँ झापा गाउँपालिकामा वडा सचिवमा कार्यरत हुनुहुन्छ।