Kanakai Online

साप्ताहिक लेख-विजुलीका पर्याय कुलमान


आइतवार, असोज २५, २०७७ |

✍️उदय मैनाली – आजकालको पत्रपत्रिकाको हेडलाइन बनेको कुलमान घिसिङ र बिद्युत प्राधिकरण सम्बन्धी समाचार नपढ्ने र नसुन्ने नेपाली सायद नै कम होलान् । यथार्थ मै बिजुली भन्ने बित्तिकै कुलमान सम्झने हामीमा छाप परिसकेको छ । सचेत मानिसको के कुरा गर्नु र मेरो ४ बर्षको छोरो पनि बिजुली जाँदा कुलमान गयो भन्छ । वास्तव मै अहिले देशमा कुलमान र बिजुली पर्यायवाची शब्द जस्ता भएका छन् । मेरी श्रीमतिले फेसबुकमा खबर पढ्दै सुनाउँछे आजकाल फेरी इन्भटर र जेनेरेटरको व्यपार बढ्दा व्यवसायी चकित । हुन पनि आजकाल अघोषित रुपमा झ्यापझ्याप बत्ती जाने समस्याले सबै जना हैरान छौँ । त्यसमाथि कोरोनाका महामारीमा विद्यार्थीको अनलाइन कक्षा संचालन गर्न बिजुलीको बढ्दो प्रयोग छ । हिजो विद्युत प्राधिकरण कुलमानले पाइला टेक्नु अघिसम्म कुलमानको नाम सिमित व्यक्तिको परिचयमा थियो तर आज सामान्य भन्दा सामान्य नागरिकको पहिचानको व्यक्ति हो कुलमान घिसिङ ।

कुलमान विद्युत प्राधिकरणको प्रमुख हुनु भन्दा अगाडीसम्म लोड सेडिङको तालिका हेर्नका लागि भनेर किनेका पत्रिकाको सम्झना अझै छ हामी सँग  तर कुलमानको आगमन पश्चात त्यो दिन फेरी दोहोरिन दिइएको थिएन । हुनत उनको कार्यकालमा पनि कहिलेकाँही बत्ति जाने गथ्र्यो नै तर कुलमान हुँदासम्म लोडसेडिङ चै हुँदैन भन्ने विश्वास जनतामा थियो । विदेशमा भएका आफन्त, साथिभाईसँग कुरा गर्न, आफ्नो दैनिक कार्य तालिका बनाउन लोडसेडिङको कार्यतालिकासँग बाझिनु हुँदैन भन्ने हाम्रो स्थितिबाट छुटकारा पाएकैले गर्दा होला आज कुलमानको ख्याती यत्तिका हदसम्म भएका ।

तर, चार वर्षको उनको कार्यकाल सकिए सँगै र उनको बहिर्गमनसँगै दैनिक रुपमा हुन थालेको आकस्मिक विद्युत कटौतीले फेरी नेपालीको मनमा ढ्यांग्रो बजाउन थालेको छ । जनताले विद्युत प्राधिकरणप्रति शंकाको दृष्टिले हेर्न थालेका छन् । नेपाली समाजमा पुरानो काहावत छ चितुवा कराउनु र बाख्रा हराउनु, जसले गर्दा यो एकै पटक भएको घटनाक्रमले जनतामा नियोजित हो वा संयोग छुट्याउन हम्मे हम्मे परेको छ ।

राजनीतिक रुपमा धेरै सुनेको शब्द कायापलट वास्तवमै कुलमानले बिद्युत प्राधिकरणमा देखाएको हो भन्न सायदै कोही चुक्ला किनकी देशमा उज्यालो युगको शुरुवात क्ुलमानबाटै भएको यथार्थ हामी सामु छर्लङ्गै छ । उनको कामको प्रशंसा र सम्मान गर्ने म मात्रै हैन विश्व भरी छरिएर रहेका सारा नेपालीले गरिरहेका छन् । जे होस् कुलमानको लोडसेडिङ अन्त्य गर्ने महान कार्यले ठप्प पारेको सोलार, इन्भटर र जेनेरेटरको व्यापार बढाउनका निमित्त आजकालको अघोषित विद्युत कटौती पुष्टि नहोस भन्ने नै आम सर्वसाधारणको आसा छ । 

हुनत देशका विभिन्न  ठाउँमा आइरहेका प्राकृतिक विपत्ति र मौसम परिवर्तनले विद्युत कटौती गरेको हुन सक्छ सँगसागै हुने प्राविधिक समस्या पनि अर्को कारण हुन सक्छ तर कुलमानको बहिर्गमनसँगै प्राधिकरणको कार्यालयमा मुसा पसेर लाइन काटिएको हो भने जनताले त्यसको जवाफ राम्रै दिनेछन् । कुलमान सँगै  सुधारिएको विद्युत सेवाको अप्रत्यासित अवसान जनताले हेरेर भने पक्कै बस्नेवाला छैनन् । कतिपय अवस्थामा सामान्य प्राविधिक समस्याले हुने विद्युत कटौतीलाई कुलमानको अनुपस्थितिको उपज भएको संज्ञा दिनु केही हतारिनु पनि हो तर कुलमानको कार्यकाल सकिने बित्तिकै इन्भटर लगायतका विदुतिय सामाग्रीको व्यापारमा बृद्धि भएका समाचार भने निकै गम्भिर छन् । विभिन्न नाकाबाट यस प्रकारका सामाग्री लादिएका लोरीहरु भित्रिनुले यसभित्र रहेका रहस्यको बारेमा शंका उत्पन्न हुनु स्वभाविक देखिन्छ ।

अहिले आएर कुलमान समर्थकको सडक र संजालको आन्दोलन केही मत्थर भने पक्कै भएको छ । यता विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक पनि चयन भइ नसकेको अवस्था छ साथै कुलमान कुन क्षेत्रमा काम गर्न फर्कने हुन भन्ने पनि चासोको विषय बनेको छ । सायद सरकार पनि यो विषयमा गम्भिर भएकै हुनुपर्दछ । त्यसैले यदि यस्तै प्रकारले अनेकेन प्रकारेन विद्युत कटौती बढ्दै गएको खण्डमा अहिले देखिएको सन्नाटा तुफान अघिको सन्नाटामा परिणत हुन बेर लाग्ने छैन ।

नेपालको परिप्रेक्षमा कृषि, विदुत र पर्यटन नै आर्थिक आम्दानीका मुख्य दिर्घकालिन स्रोत हुन । यी तीन क्षेत्रको विकासले मात्र देश समृद्धिको दिशामा अघि बढ्न सक्छ । तसर्थ यिनै तीन क्षेत्रको विकासलाई प्राथमिकता दिनु पर्छ जसका लागि कुलमान जस्ता निडर, स्वच्छ छविका प्रशासकको खाँचो सदैव विदुत प्राधिकरणमा खड्किरहने नै छ । उनी भन्दा अगाडीका निर्देशकको भनाईमा त तामाकोशी, कुलेखानी जस्ता परियोजना बने पनि नेपालबाट लोढसेडिङ अन्त्य हुने छैन भन्ने नै रहेको थियो तर कुलमानको आगमन सँगै ती सबै कुरा झुठा साबित भए । उनी नै त्यस्ता निर्देशक हुन जो त्रिशुली कोरीडोरको बनिरहेको प्रसारण लाइनमा प्रत्यक्ष गएर अवरोध गर्ने एक स्थानीय नेतालाई निकै ठुलो स्वरमा हप्काउँदै कानूनी कारवाही गर्ने सम्मका कुरा गर्न हिम्मत राखेका हुन् । तसर्थ उनको आवश्यकता फेरी पनि प्राधिकरणमा छ । यदि प्राधिकरण मै नभए पनि अन्य सार्वजनिक निकायमा उनका नेतृत्व बिल्कुलै जरुरी छ ।

विद्युत जस्तो विकासको मेरुदण्डलाई अझ मजबुत बनाउन धेरै कार्य गर्न बाँकी छन् । हिमालमा हिटर जोड्नु छ तराइमा एसी जोड्नु छ । ठुला ठुला कोल्ड स्टोर संचालन गर्नु छ । औद्योगिक क्षेत्रमा चौबिसै घण्टा काम संचालन गर्नु छ । घर घरमा ग्याँस चुला विस्थापित गरी विद्युतिय भान्साघरको व्यवस्थापन गर्नु छ । स्वास्थ्य, शिक्षा, प्रशासनिक कार्यालय सबैतिर बिदुतिय सेवा प्रवाह गर्नुपर्ने हुँदा केही मिनेट वा समयको विद्युत कटौतीले धेरै ठुलो क्षती हुने देखिन्छ ।

माथि भनिएका योजना र कार्यक्रम सफल बनाउन सहज र निरन्तर विद्युत प्रसारणको व्यवस्थापन गर्न कुलमान जस्ता नेतृत्व नै आवश्यक हो भन्ने सबैको भावना रहेको छ । तथापी उहाँको अभावलाई पुरा गर्न प्राधिकरणले कुलमानले देखाएको बाटोमा हिँड्न सक्ने सक्षम कार्यकारी निर्देशक प्राधिकरणमा नियुक्त गरेर आम नेपालीको समृद्धि र उज्याले देशमा बाँच्न पाउने सपना साकार पार्न सबैले सोच्ने बेला आएको छ ।

उज्यालो नेपालका व्यवस्थापक कुलमानले अब कुन बाटो दिन्छन् र उनको व्यवस्थापकीय सिप र क्षमता कहाँ प्रयोग गर्लान भन्ने चासोको विषय रहने नै छ । उनी जहाँ गए पनि देशको मुहार फेर्ने र जनताको मुहारमा खुशी ल्याउने काममा लागि परुन भन्ने शुभकामना ।

लेखक बिर्तामोड नगरपालिका-२ चारपाने निवासी हुन।हाल झापा गाउँपालिका-५/६ वडा कार्यालयमा वडा सचिवमा कार्यरत छ्न।

सम्बन्धित खबर