✍️उदय मैनाली
परिचय
नेपालमा जब जब बलत्कारका जघन्य अपराधका घटना बढेको सार्वजनिक हुन्छन्, तब तब यस्ता अपराधमा संलग्नलाई मृत्युदण्ड दिने कानूनी व्यवस्थाको माग जोडतोडले हुने गर्दछ । मृत्युदण्ड एउटा प्रचलित अवधारणा हो । समाज निरन्तर परिवर्तनशिल छ र यही क्रमले मानवीय सभ्यता पनि परिवर्तन भई मृत्युदण्ड जस्तो सजायलाई क्रमशः हटाउँदै जाने चलन चल्दै आएको छ ।
मृत्युदण्डको इतिहास
—मृत्युदण्ड मानव समाजमा आदिम कालदेखी आजसम्म प्रचलित छ, तर यसको पछाडीको कारण र कार्यान्वयनको तरिकाहरुमा भने निरन्तर परिवर्तन आएको छ ।
— यसको पहिलो उल्लेख इसा पूर्वको अठारौँ शताब्दीको हम्मुराबी विधान संहितामा भएको पाइन्छ । जसमा पच्चिस प्रकारका अपराधको लागि मृत्युदण्डको व्यवस्था गरिएको पाइन्छ । त्यस्तै इसापूर्व चौधौँ शताब्दीको हिट्टाइट दण्ड संहितामा पनि यसको व्याख्या पाइन्छ ।
—इसा पूवृको सातौँ शताब्दीमा एथेन्सको ड्रेकोनियन कोडमा त झन सबै अपराधका लागि मृत्युदण्डको प्रावधान थियो भने पाँचौ शताब्दी तीर रोमन कानूनमा पनि यसको उल्लेख थियो ।
—त्यस्तै प्राचिन भारतीय उपमहाद्धिपमा पनि यसको उपस्थिति रहेको प्रमाण कौटिल्यको अर्थशाष्त्रमा उल्लेख भएबाट प्राप्त हुन्छ । सम्राट अशोकले पनि पशुबलीको रोक गरे तर प्राण दण्डलाई निरन्तरता दिएको पाइन्छ ।
— वर्तमान विश्वमा हेर्दा एमनेष्टी इन्टरनेशनलको रिपोर्ट अनुसार करिब ४० वटा देशमा मृत्युदण्डको व्यवस्था गरिएको छ भने १०१ वटा देशमा यसलाई प्रतिबन्ध लगाइएको छ । विगत १० बर्षको रेकर्ड हेर्ने हो भने ३३ देशले एक जनालाई पनि मृत्युदण्ड दिएका छैनन् ।
आजको विश्व आधुनिक प्रविधि र उच्चतम सभ्यताको सिढि चढेर एउटै गाउँको रुप लिइरहेको छ । यसको प्रभावमा नेपाल पनि नपर्ने कुरै भएन तसर्थ नेपालले पनि जस्तोसुकै परिस्थिति भएपनि नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी विगतमा विभिन्न प्रकारका अन्तराष्ट्रिय सन्धी, सम्झौता र अभिसन्धीहरुमा हस्ताक्षर गरिसकेको मृत्युदण्ड दिने गरि कानून बनाउन तिनै सन्धी, अभिसन्धीहरु बाधक भएको छ ।
जसरी एसिड आक्रमणमा संलग्नलाई कम सजाय भई भर्खरै सरकारले अध्यादेश मार्फत कानून संसोधन गरी कडा सजायको व्यवस्था गर्न सक्यो त्यसरी नै बलत्कार जस्तो जघन्य अपराधमा पनि सजाय कम भएको र यसमा संलग्न अपराधीलाई पनि कडा कानून ल्याएर मृत्युदण्डसम्मको सजाय दिनु पर्छ भन्ने आवाज उठिरहेको छ ।
तर नेपालले मृत्युदण्डलाई अस्वीकार गर्ने गरी विभिन्न मानवअधिकार सम्बन्धी २४ वटा बढी सन्धी महमसन्धीहरुमा हस्ताक्षर र अनुमोदन गरेकाले नेपाल यस्ता सन्धी सम्झौताबाट पछि हट्न सक्दैन र यही अवस्थामा नेपालले मृत्युदण्डलाई अस्वीकार गर्दछ ।
तर बलात्कारको लागि नेपाली समाजको पुरुषप्रधान सोच जिम्मेवार भए पनि यसको दोष उल्टै महिलामाथि लगाएर पानी माथिको ओभानो हुने प्रयत्न हाम्रो समाज गर्दै आएको छ । सभ्य भनिएको यो युगमा बलत्कारमाथि कानूनी प्रतिबन्ध लगाइएको भएता पनि महिला भनेको पुरुषको भोग्य वस्तु हो र उनिहरुको स्थान पुरुषभन्दा सधैँ तल नै हुन्छ भन्ने मानसिकताले जबसम्म जरो गाडेर बस्छ तबसम्म बलत्कारको सिकारमा हाम्रो समाज लिप्त भइरहने छ ।
हुनत पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै बनेको प्रचलित फौजदारी संहितामा बलात्कार जस्तो जघन्य अपराधमा आजीवन कारावासको व्यवस्था गरेको छ तर यतिले मात्र नपुग्ने र मृत्युदण्ड नै आवश्यकता भएको बहसहरु यत्रतत्र आइरहेको छ ।
मृत्युदण्डको पक्षम तर्क
मृत्युदण्डको सवालमा बहस गर्दा केही सिद्धान्त र तर्कहरुको बारेमा जानकारी लिनु पर्ने हुन्छ । जसमा ः
–प्रतिकारबादी तर्क अनुसार बदलाको भावनाले काम गर्छ । यसले मुख्यतः प्रतिसोध साँध्ने नै तर्क गर्दछ । जसानुसार अपराधीले जघन्य अपराध गरी आफुलाई स्वयं मृत्युदण्डको भागीदार बनाएको हो । अपराधको अनुपातमा दण्ड दिनु पर्ने भन्ने नै यस तर्कको मुल विषय रहेको छ ।
– स्वतन्त्र संकल्पको सिद्धान्तका अनुसार प्रत्येक व्यक्ति आफ्नो निर्णय लिन स्वतन्त्र छ र उसले समाज र राष्ट्रका विषयमा जस्तो निर्णय लिन्छ समाज वा राष्ट्रले पनि उसलाई त्यही प्रकृतिको निर्णय लिन बाध्य हुनुपर्छ । यस सिद्धान्तले समाजमा हत्या, बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई समाजले मृत्युदण्ड कै निर्णय गर्नुपर्छ ।
– उपयोगिताबादी सिद्धान्तका अनुसार अधिकतम व्यक्तिको लागि अधिकतम सुख भन्ने आदर्श मार्गदर्शक दर्शन रहेको हुन्छ । यसमा गरिएको तर्क अनुसार मृत्युदण्डले अपराधीद्धारा गरिएको कुकृत्यलाई दोहोराउने सम्भावनाको अन्त्य गर्दछ भने अर्कोतिर दण्डहिनताको भयाभवबाट समाजलाई मुक्ति दिन्छ र अपराधिक तत्वलाई हतोत्साहित गर्दछ ।
– त्यस्तै प्रबोधनवाद दर्शनका पक्षपाती सत्रौँ शताब्दीका महान दार्शनिक जोन लकले मृत्युदण्डको पक्षमा मत दिदै भनेको छन् मानिसले जबसम्म राज्यको संविधान र नियम कानूनको परिपालना गर्दछ तबसम्म मात्र प्राकृतिक हक अधिकारको लागि योग्य हुन्छ ।
– जापानी मनोविश्लेषण बमोजिम पनि समाजमा राम्रोको लागि राम्रो र नराम्रोको लागि नराम्रो हुनुपर्दछ । जसले गर्दा अन्ततः समाजको भलाई नै हुन्छ र धेरै सामाजिक समस्याबाट जुझिरहेको समाजमा सकारात्मक एवं धैर्यवान बनाउन मद्दत गर्दछ ।
– त्यस्तै सिग्मन्ड फ्राइड र कार्ल माक्र्स जस्ता विद्धान पनि मान्दछन् की कुनै पनि अपराधिक घटना घट्नुकोे पछाडी व्यक्तिको भन्दा समाजको उत्तरदायित्व बढी हुन्छ र जघन्य अपराध घटेपटि यो प्रश्न उठ्नु स्वभाविक हुन जान्छ की के समाज आफ्नो जिम्मेवारीबाट पछि हट्न मिल्छ त ?
मृत्युदण्डको विपक्षमा तर्क
–मृत्युदण्डको सजाय घोषणा गरेदेखी मृत्युदण्ड दिने समयसम्मको लामो अवधि अपराधीको परिवारको सदस्यहरुका लागि यातनामय भएकाले यस यातनाको केही न केही जिम्मेवार राज्य भएकाले यसको पक्षपोषण गर्न सकिदैन ।
– मृत्युदण्डसँग जोडिएको सबैभन्दा ठुलो समस्या भनेको यदी राज्य कसैलाई जीवन दिन सक्दैन भने कसैको जीवन कसरी लिन सक्छ ? प्रतिसोधको भावनामा वृद्धि गराएर समाजमा नैतिकता र मानवता हराएर जाने खतरा बढेर जान्छ ।
– प्राण दण्डले समाजमा क्रुरता र नग्न हिंसालाई प्रसय दिन्छ र पुरा न्याय प्रणालीलाई नैतिक संकटको घेरामा ल्याउँदछ ।
–मृत्युदण्डमा हुने अर्को समस्या भनेको न्याय प्रणालीबाट पनि गल्ती हुने सम्भावना उत्तिकै रहन्छ र यो व्यवस्था पनि मानव निर्मित समूहबाट बनेको हुनाले पुर्वाग्रही सोचको कारण निर्दोषले मृत्युदण्ड पाएमा यसका प्रभाव दिर्घकालिन रहनेछ ।
निष्कर्ष ः
माथि उल्लेखित तमाम तर्क र विश्लेषणमा जे जस्तो विषयहरुको उठान भएपनि नेपालको परिस्थ्तििमा बलात्कार जस्तो जघन्य अपराध रोक्ने उपाय र नीतिगत सुधार सँगसँगै बलत्कारीसँगै बलात्कारी उत्पादन गर्ने सामाजिक संरचनाप्रति पनि राज्य तथा समाजको ध्यान जानु जरुरी छ । नेपालको सामाजिक संरचनामा बलत्कारलिाई मृत्युदण्ड दिदैमा समस्याको समाधान हुने भन्दा मुख्यरुपमा बलत्कारी जन्माउने सामाजिक संरचनाको अन्त्य गर्नुपर्दछ । यसका लागि छोरीलाई पनि छोरा सरह पैतृक सम्पतिमा समान हक, छोरीलाई अंशमा समानता र बुहारी अंश सहित भित्रिने व्यवस्था कायम गर्न सके सामाजिक सन्तुलन बन्ने थियो । त्यस्तै महिलालाई उत्पादनमुलक क्षेत्रमा आय उपार्जनका लागि राज्यबाट निव्र्याजी ऋण उपलब्ध गराउने तथा सम्पतिमाथि महिलाको समान सामाजिक हैसियत कायम गर्न सके मात्र स्वतः बलात्कार लगायतका महिला हिंसामा कमि आउने छन् ।
लेखक मैनाली बिर्तामोड-२ चारपाने निवासी हुनुहुन्छ।हाल झापा गाउँपालिका-५/६ वडाका वडा सचिवमा कार्यरत हुनुहुन्छ।