Kanakai Online

साप्ताहिक लेख-कोरोना संक्रमणको नियन्त्रण र शब व्यवस्थापन


आइतवार, असोज ११, २०७७ |

✍️उदय मैनाली

ज्युँदाको जन्ती र मर्दाको मलामी भन्ने नेपाली चलनले हाम्रो सामाजिक र धार्मिक संस्कारलाई महत्वका साथ दर्शाउँदछ । कोरोना संक्रमणबाट यदी कसैको मृत्यु भएमा हाम्रो सामाजिक सहभागिता र मानवताको महत्व कतिको कायम रहला ? हाम्रो समाजमा पनि कोरोनाबाट मृत्यु हुने क्रम बढिसकेको छ । हिजोसम्म समाचार र सामाजिक संजालमा देखिएका हृदय विदारक दृश्यको प्रत्यक्ष साँची बस्ने दिन आइसक्यो । देश भरी नै यस महामारीबाट मर्नेको सख्यात्मक ग्राफ उकालो लागिसक्यो । शुरु शुरुमा कहि कतै एक दुई जनाको निधन हुँदा कहाँ, कसरी, कस्तो भनेर खोजी खबर गर्ने हामी आज आफ्नै अगाडी घटना हुँदा पनि चौकन्य नभई सामान्य दिनचर्याको रुपमा लिइरहेका छौँ । हामी कोरोना प्रकोपबाट बच्ने उपायमा ध्यान दिनुभन्दा यति जनाको निधन भयो, यति जना संक्रमित थपिए भन्ने तथ्यांक सुन्ने र हेर्ने मात्र गर्न थालेको अनुभूति हुन थालेको छ ।

कोरोनाको कारणले निधन भएका व्यक्तिको शब व्यवस्थापन र दाहसंस्कार अन्तराष्ट्रिय अभ्यासमा विधिवत् र आफ्नो संष्कृति परम्परा अनुसार गर्न नपाएका समाचार इटाली र कतिपय देशबाट हामीले सुनेका र देखेका छौँ । धेरै मुलुकहरुमा सामूहिक रुपमा खाल्डो खनेर गाडेको तथा परिवारका सदस्यलाई समेत छुन नदिई सुरक्षाकर्मीले व्यवस्थापन गरेका छन् ।

मृत्युको पिडा आफुलाई नपर्दासम्म संवेदनशिल नहुने आजको समाज यसलाई एउटा तथ्यांकको रुपमा मात्र हेर्ने बानी बसाल्दै छन् । आफुलाई यस्तो घटना पर्दा कति गारो हुन्छ, मृत्यु अगाडीका सबै आशा निराशामा बदलिने छन्, अमुल्य जीवनको निरर्थकता बाहेक केही हुँदैन, समयको चक्र स्तब्ध मात्रै हैन दुनिया नै प्रलय भए जस्तो हुन्छ । खुसिमय जीवनमा अनायसै बज्रपात पर्दा प्रियजनको अन्तिम बिदाईमा समेत सरिक हुन नपाउँदा त्यो क्षण नै भयभित र निर्दयी भएको भान हुन्छ ।

हाम्रो जस्तो सामाजिक र सांष्कृतिक जगमा अडिएको समाजमा यस प्रकारको मृत्युवरणलाई अन्तिम संस्कारको पहुँचबाट अलग्याउनु पर्दाको क्षण दुखद नै हुन्छ । हाम्रो समुदायको दाहसंस्कार विधि आ–आफ्नै संष्कृति र परम्परा अनुसार भिन्न भिन्न छन् । श्रद्धा सुमन अर्पण गर्ने तरिका फरक छन् । हाम्रो संस्कारमा कसैको मृत्यु भएमा आफन्त, छरछिमेकी, समाज, समूह, संघ संस्थाका सदस्य भेला हुने, अन्तिम पटक मुख हेर्ने, मलामी जाने, जलाउने वा गाड्ने, १३ दिनसम्म शुद्ध भइ कोरामा बस्ने जस्ता साझा विधि रहेका हुन्छन् । मानवीय सभ्यतामाथिको गतिलो प्रहारको रुपमा आएको कोरोना महामारीको कारण कसैको मृत्यु भएमा यी विधि र संस्कार पुरा गर्न पाइन्छ त ? पक्कै पनि पाइदैन । तसर्थ यस्तो विपदबाट कसैको पनि देहान्त नहोस भन्ने नै हाम्रो मुख्य ध्येय हुनु पर्छ ।

नेपालमा कोरोनाबाट मृत्यु भएका मानिसहरुको शब व्यवस्थापन गर्न सरकारी तवरबाट कार्यविधि बनाइएको छ । जसानुसार मृतक व्यक्तिको शबलाई स्यानिटाइज गरिएको सेतो पारदर्शी प्लाष्टिकमा बेरेर पिपिईमा राख्ने तथा पिपिई लगाएका स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीद्धारा शववाहन वा एम्बुलेन्समा राखेर घाटसम्म वा तोकिएको स्थानसम्म लैजानु पर्ने रहेको छ । हाम्रो संस्कार अनुसार मृतकको अन्तिम पटक मुख हेर्न सेतो र पारदर्शी प्लाष्टिकको प्रयोग गरिएको हो । यसरी अन्तिम संस्कार गर्ने स्थानसम्म लैजादा कोही पनि मलामीको रुपमा जान नपाउने व्यवस्था गरेको छ ।

परिवारका सदस्य कसैलाई पनि शब नजिक जान दिइदैन । ३ मिटरको दुरीमा रहेर मुख हेर्नुपर्ने र दाहसंस्कार स्थलमा पनि ३ मिटरको दुरीमा बसेर मात्र दाहसंस्कार विधि सुरु गर्नुपर्ने भन्ने रहेको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा तीन जना परिवारका सदस्यलाई मात्र अन्तिम संस्कारम सहभागी हुन दिने व्यवस्था रहेको छ । ती तीन जनाले पनि अनिवार्य रुपमा पिपिई सेट लगाएको र उनिहरुबाट सुरक्षित रुपले दागबत्ती दिने वा गाड्ने विधि पुरा गर्ने गराइन्छ ।

हाम्रो संष्कृति र परम्परा अनुसार अन्तिम संस्कारम पुरोहित लगाउने प्रचलन छ तर यस्तो घटनामा पुरोहितलाई पनि पिपिई लगाएर ३ मिटरको दुरीमा बसी मन्त्र उच्चारण र अन्य पुजा विधि सम्पन्न गर्नुपर्नेछ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । नेपाली सेना प्रत्यक्ष सहयोग र स्वास्थ्यकर्मीको समन्वयमा हालसम्मका मृतकहरुको दाहसंस्कार गरिएको छ । रोग नफैलियोस भनेर बनाइएको यस कार्यविधिमा केही हदसम्म संसोधन हुनु पर्ने आवाज पनि कतिपय विश्लेषक र जानकारहरुले उठाउन पनि थालेका छन् । किनकी नेपालको अधिकांश भुभाग ग्रामिण इलाका रहेको र नेपाल सरकारले कोरोना रोकथाम, नियन्त्रण र शब व्यवस्थापनमा चालेका कदम र कार्यविधिहरु चिनको वुहान, इटालीको मिलान, अमेरीकाको न्युयोर्क वा भारतको नयाँ दिल्लि जस्ता शहरहरुमा अपनाएका व्यवस्थासँग मिल्ने प्रकृतिका छन् । नेपाल जस्तो गाउँमय मुलुकका लागि यस प्रकारका कार्यविधि र रणनीति कतिको व्यवहारिक छन् त ? सोचनिय विषय बनेको छ ।

सरकारले तय गरेका ६ टि रणनीति यानकी ट्राभल रेष्ट्रिक्सन (यात्रा निषेध ), टेस्टिङ ( परिक्षण ), ट्रेसिङ ( सम्पर्क खोजबिन ), ट्रयाकिङ ( संक्रमित निरिक्षण ), ट्रिटमेन्ट ( उपचार ) र टुगेदर ( सबैको सहकार्य ) भने पनि यसको उचित र ठोस कार्यान्वयनको अभावले गर्दा यतिका समयसम्ममा पनि सोचे जस्तो परिणाम आउन सकेको छैन ।

त्यसैले ग्रामिण क्षेत्रका लागि अलिक फरक रणनीति र कार्यविधि ल्याउन पर्छ । जसका लागि देहायका विधि अपनाउन सकिन्छ ।

१. हरेक वडामा र टोलमा सर्वपक्षीय कोरोना नियन्त्रण तथा रोकथाम समिति बनाई सबैको सहकार्य र सहभागितामा स्थानीय नेतृत्वसँग हातेमालो गरेर आवश्यक विषयमा निर्णय गर्ने ।

२. विदेश तथा अन्य स्थानबाट गाउँ फर्केका मानिसहरुका लागि स्थानीय वडामा वा टोलमा क्वारेन्टाइनको व्यवस्था गर्ने जसले गर्दा पराई ठाउँमा बस्दा जस्तो अपहेलित र असुरक्षित महसुस नहुने र मनोबल उच्च रहने हुन्छ ।

३. संक्रमणको उच्च जोखिममा रहेका गर्भवति महिला, जेष्ठ नागरिक, बालबालिका, दिर्घ रोगीलाई अलग स्थानमा राख्ने । टेस्टिङ प्रक्रियालाई चुस्त राख्ने ।

४. स्थानीय तहमा पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्था गर्ने र गाउँ घरमा उपलब्ध हुने मध्यमस्तरका स्वास्थ्य जनशक्तिको प्रयोग गर्ने । आपतकालिन सवारी साधन एम्बुलेन्स, शब बाहनहरुको व्यवस्था गर्ने ।

५. कोरोना संक्रमणबाट बच्न अनिवार्य रुपमा पालना गर्नुपर्ने स्वास्थ्य सम्बन्धी मापदण्डको बारेमा जानकारी मुलक कार्यक्रम चलाउने । बजारमा तथा स्वास्थ्यकेन्द्रहरुमा पर्याप्त मास्क तथा स्यानिटाइजरको व्यवस्था मिलाउने ।

६. हात धुने स्थानहरुको व्यवस्था गर्ने, आ–आफ्नो करेसा, खेतीबारीमा कृषी उत्पादन बढाउने किसिमका स्वरोजगारमुखी कार्यक्रम चलाउने ।

७. ग्रामिण भेगका जनता आर्थिक रुपमा सबल नहुने भएकाले सम्भावित उपचार तथा शब व्यवस्थापनका लागि स्वास्थ्य बिमा तथा कोरोना बिमा गर्न प्रोत्साहन गर्ने ।

८. अनावाश्यक स्वाब संकलन नगर्ने जसले गर्दा शंकास्पद बिरामीलाई पिसिआर किट उपलब्ध भई अकालमा ज्यान गुमाउन नपरोस् ।

९. व्यवस्थित सुचना प्रणाली कायम राखी विश्वसनीय सुचना प्रवाह गरी अफवाह र भ्रमबाट जनतालाई मुक्त राख्ने । समुदायको व्यापक सहभागिता र जन उत्तरदायित्व बढाउने ।

यसरी हामिले अबको आइपर्ने विपदमा एकजुट भएर गाउँस्तरदेखी नै लागि परेमा कोरोना नियन्त्रण उन्मुख हुन सक्छ र स्वस्थ र सुखि समाज निर्माणमा टेवा पुग्न सक्छ । अन्यथा कोरोनाको प्रकोपले अकालमा हाम्रा आफन्त, परिवारको ज्यान गएमा मुख पनि हेर्न नपाउने जटिल समस्याको भागिदार हामी नै हुनुपर्नेछ ।

लेखक मैनाली बिर्तामोड नगपालिका-२ चारपाने निवासी हुनु हुन्छ।हाल झापा गाउँपालिका-५/६ वडामा वडा सचिवमा कार्यरत हुनुहुन्छ।