Kanakai Online

प्रजापतिमा असोज २८ बाट वडास्तरीय फुटबल


शुक्रवार, असोज २४, २०८२ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ स्थित प्रजापति सामुदायिक वन समुहको खेल मैदानमा आगामी असोज २८ गतेदेखि कार्तिक २ गतेसम्म प्रथम वडास्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
लामो समयदेखि यस क्षेत्रमा खेलकुदको प्रतियोगिताहरु नभइरहेको अवस्थामा लियो क्लव अफ कनकाई दुर्गापुर आयोजनामा लोकप्रिय मानिने फुटबल खेलको वार्डस्तरीय प्रतियोगिता हुन लागेको हो ।
आजै खेल मैदानमा आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारीको वारेमा जानकारी गराएको छ ।


आयोजक समिति लियो क्लव अफ कनकाई दुर्गापुरकाका अध्यक्ष अविशेक खड्काका अनुसार प्रजापति सामुदायिक वनको खेल मैदानमा हुने प्रतियोगितामा कनकाई नगरपालिकाका सबै ९ वटै टिमको सहभागिता रहने छ । जसमा प्रथम हुने टिमले नगदै २५ हजार ११५ रुपैँया र दोस्रो हुने टिमले नगद १५ हजार ११५ र ट्रफि पाउने छन । विधागत सबै उत्कृष्ट खेलाडीले समेत नगद र ट्रफि पाउने छन ।
खेल सम्पन्न गर्न नगद २ लाख ४ हजार २३० रुपैँया खर्च हुने र यो रकम कनकाई नगरपालिका कनकाईका ९ वटै वार्ड कार्यालय, प्रजापति सामुदायिक वन समुह लगायात यस क्षेत्रका विभिन्न संघ संस्था व्यावसायिक सस्था तथा दाता महानुभावहरुबाटै संकलन गरिन लागेको आयोजक लियो क्लव अफ कनकाई दुर्गापुरका दितिय उपाध्यक्ष गप्पु अग्रवालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
स्वास्थ, मनोरञ्जन मात्रै नभएर यस क्षेत्रबाट समेत राष्ट्रिय अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन भइरहेको र यसको अझै प्रतिभावान खेलाडीको खोजीको मद्धतका लागि यस प्रतियोगिताको आयोजना गरिएको खेल समितिका संयोजक समेत रहेका लियो क्लव अफ कनकाई दुर्गापुरका सचिव रिजन तिम्सिनाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
खेल फिफा नियम अनुसार गराईने र सम्बन्धित वार्ड बाहिरका खेलाडीहरुलाई खेल्न प्रतिबन्ध लगाइने समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा आयोजक समितिका सहसचिव त्रिसा भित्रीकोटी, सहकोषाध्यक्ष सुप्रिया पाठक, सदस्य सम्रचना खरेल, सोनिका ढकाल लगायातको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर