कनकाई अनलाईन
झापाको हल्दिवारी– १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सीसीटीभी फुटेजका आधारमा ती महिलाको पहिचान गरिएको हो । उनी बिर्तामोड १० की भएको बताइएको छ । मृत शिशुको पोस्टमार्टम भइनसकेकाले ती महिलालाई प्रहरीले निगरानीमा राखेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि उनीमाथि कार्वाही गर्ने जनाइएको छ । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको बेन्चमा बसेको देखिएको छ । शनिवार दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हो । ती महिला पेट दुखेर अस्पतालमा आएको र सौचालयभित्रै शिशु जन्माएर फरार भएको पाइएको प्रहरीले जनाएको छ । ती महिलाका श्रीमाना वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ । महिला तथा वालवालिका सम्बन्धि कुरा भएकोले हाललाई पक्राउ परेकी महिलाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णबहादुर चन्दले कनकाई अनलाईनलाई बताउँनुभयो । यो वैदेशिक रोजगारीका कारण समाजमा बढेको विकृतिकै एउटा रुप हो प्रहरी प्रवक्ता चन्दले भन्नुभयो ।


