Kanakai Online

कनकाई र शिवसताक्षीमा बाढी रोक्न बाँसको पाईलिङ्ग


आइतवार, साउन १३, २०८१ |

कनकाई अनलाईन
पछिल्लो समय झापामा कम रकममा धेरै र प्रभावकारी काम हुने भएपछि खोलाको अस्थायी रोकथामका लागि बाँसको पाईलिङप्रति आकर्षण बढेर गएको छ ।


झापाको कनकाई नगरपालिकाको विरिङ खोला र शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाईलिङ्गको सफल प्रयोग गरेर खोला फर्काइएको छ । कनकाई नगरपालिका ७ दुर्गापुरस्थित विरिङ्ग नदिको पश्चिमतिरको तटमा कनकाई नगरपालिका र स्थानीय उपभोक्ताको सामुहिक लगानीमा १५ लाख रुपैँया खर्चिएर आधा किलोमिटर क्षेत्रमा बाँसको अस्थायी पाईलिङ्ग निर्माण गरिएको छ । बाँसको पाईलिङ्गबाट यस अघि समेत सफल अभ्यास भईसकेकोले यस बर्ष पनि नगरपालिका र स्थानीयको साझेदारीमा बाँसको पाईलिङ्ग राखेका कारण विरिङ्ग नदिको कटानबाट गाउँलाई बचाउन सकेको तटबन्धन उपभाक्ता समितिका अध्यक्ष अनिरुद्र चापागाईँले बताउँनुभयो । उक्त तटबन्धका लागि चापागाईको अध्यक्षता तथा राजा आङथोपो सचिव रहेको उपभोक्ता समिति समेत गठन गरिएको थियो ।
यता झापाको शिवसताक्षी नगरपालिकाको कमल खोलामा बाँसको पाइलिङ्ग निर्माण गरिएको छ । कमल खोलाले धार परिर्वतन गरी वडा नं. ३ पाराबारीको पश्चिमको कटान सुरु गरेपछि नगरपालिकाले अल्पकालिनका लागि बोरा र बाँसको पाइलिङ्ग लगाएर तटबन्धन गरेको हो ।
नगरपालिकाले १ सय मिटर पाइलिङ्ग गरी खोलाको धार पुरानै तर्फ फर्काएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । गएको आषाढको पहिलो सातामा परेको अविरल बर्षातका कारण खोलाले धार परिर्वतन गर्दा करिब ५० विगाह धान खेत बगरमा परिणत गरेपछि नगरपालिकले पानीको बहाव कम भएपछि बाँसको पाइलिङ्ग लगाएर कटान रोकथामका लागि जुटेको थियो ।
नगरले बर्षातको समयमा आएको भेललाई रोक्न सँधै भन्दा फरक तरिकाले काम गरेको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउँनुभयो । खोलामा पानी बाहव बढेपछि बाँसको पाइलिङ्गको मात्र भर नहुने हुँदा पाइलिङ्गसँगै बोरामा बालुवा भरेर समेत लगाइएको छ । पाइलिङ्ग, बोरा र बाटो लगाएर बाँध कसिएकाले अब आउने भेललाई रोक्ने नगरप्रमुख थोप्राले बताउँनुभयो । उक्त स्थानमा दिर्घकालिन तटबन्धन निर्माणका लागि ठूलो बजेटको व्यवस्था गर्नु पर्ने र नगरको आन्तरिक श्रोत कमजोर हुँदा तत्कालका लागि बाँसको पाइलिङ्ग र बोरा लगाइएको नगरप्रमुख थोप्राको भनाई छ ।
नगरपालिकाले पहिलो चरणमा बालुवाको मात्र च्यानल बनाएर पानीलाई पुरानै धारतर्फ फकाउँने योजना भएको तर त्यसले पूर्णरुपले पानी बहाव नथाम्ने भएकाले बाँस र बोरामा माटो भरेर लगाएर पानीलाई च्यानालाइज गरिएको नगरका इन्जिनियर कृष्ण राईले बताउँनुभयो ।
कमल खोलाको धार पुरानै अवस्थामा फर्काएपछि खोलाले यस वर्ष धानखेत कटान रोकिने अपेक्षा गरिएको स्थानीय मेघराज ओझाले बताउँनुभयो । कमल खोलाले वर्षेनी यहाँका नागरिकलाई दुःख दिदै आएको र सयौ विगाह धानखेती बगाउँदै आएको थियो ।
फोटो ः कनकाईको विरिङ नदिमा बनाइएको बाँसको पाइलिङ्ग र शिवसताक्षी नगरप्रमुख थ्रोपा बाँसको पाईलिङ्गको निरिक्षण गर्नुहुदै तस्वीर लीलाराज खड्का