कनकाई अनलाईन
झापामा तीव्र प्रतिस्पर्धाका कारण स्कुल बस दुर्घटनामा पर्न थालेपछि स्कुलका सवारी चालकलाई तालिम दिन सुरु गरिएको छ ।
दिनानुदिन सडकमा स्कुल बस जुध्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले स्कुलका चालक सहचालकहरुलाई जम्मा गरेर तालिमको आयोजना गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ट्राफिक प्रहरी निरिक्षक नवराज न्यौपानेले बताउँनुभयो । पाँच दिनअघि बिर्तामोड ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा दुईवटा स्कुल बस एकापसमा जुधेको थियो । तीब्र गतिका कारण तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुल र निदी सेकेन्डरी स्कुलको बस जुध्दा चालक र सहचालक गरी दुईजना घाइते बनेका थिए । सो घटना भएको पाँच दिनपछि आइतवार बुद्धशान्तिस्थित बुधबारे पुलचोकको हडिया पुलमा एरा एभरग्रीन स्कुलको बस पल्टिएको छ ।
गत मंगलवार बिर्तामोडमा दुर्घटना हुँदा र आज बुधवारेमा दुर्घटना हुँदा ती स्कुल बसमा विद्यार्थी सवार थिएनन् । जसबाट ठूलो क्षति हुन जोगियो । झापाका विभिन्न विद्यालयका स्कुल बसहरु तीब्र गतिमा चलाउने गरेको पाइएको छ । चालकको लापरवाहीका कारण स्कुल बस दुर्घटना बढ्दै गएको छ । चालकलाई सचेत नगराए अझ ठूलो दुर्घटना हुने देखेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्कुल बसका चालक तथा सहचालकहरुलाई अभिमुखीकरण गर्न थालेको छ ।
यसक्रममा शुक्रवार बिर्तामोडको न्यूटन्स् एजुकेशन एकेडेमी र तक्षशिला एजुकेशन फाउन्डेशनमा कार्यरत सवारी चालक तथा सहचालकहरुलाई कार्यालयमा उपस्थित गराई ट्राफिक सचेतना तथा अभिमुखीकरण कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख , प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो । न्यौपानेले दुई–दुई वटा विद्यालयको दरले जिल्लाका सबै विद्यालयका सवारी चालक र सहचालकहरुलाई अभिमुखीकरण गरिने जानकारी दिनुभयो ।
झापामा गति मापन गर्ने यन्त्र नभएका कारण सवारी साधनको गति मापन गर्न सकिएको छैन । स्कुल बसका चालकहरुलाई नसिहतसहित संझाउने बुझाउने गरिएको ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले बताउँनुभयो ।