कनकाई अनलाईन
आफ्नो धर्म सस्कृतिको रक्षा र पछिल्लो पुस्तालाई धर्म सस्कृतिका वारेमा जानकार गराउने उद्धेश्यका साथ झापाको सुरुङ्गामा यस बर्षदेखि हनुमान जयन्ती मनाइने भएको छ ।
हनुमान जयन्तीको भव्य तयारी सकिएको आयोजक संस्था पाथिभरा माडबाडी समाज र अग्रवाल समाजले हनुमान जयन्तीको तयारी थालेको हो । जयन्तीको तयारीको वारेमा सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरि तयारीको जानकारी गराएको हो ।
यहि बैशाख ११ गते मंगलबार विहान ९ बजे कनकाई उद्योग बाणिज्य संघ छेउमा रहेको हनुमान मन्दिरबाट झण्डासहितको र्याली सुरु गरिने आजोजक समितिले जनाएको छ ।
प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । यस अवसरमा हनुमानको पूजा आराधना गरेमा बल, बुद्धि र विद्या मिल्ने तथा दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ ।
हनुमान जयन्तीको अवसरमा कनकाईमा पहिलो पटक हुन लागेको निसान यात्रा र पुजा अर्चना सहितको विशेष कार्यक्रममा उपस्थित भइदिन सम्पूर्ण नगरवासीहरुमा पाथीभारा मारबाडी समाजका अध्यक्ष ईश्वरचन्द्र गोयलले अनुरोध गरेका छन् । समाजका अध्यक्ष गोयलको अध्यक्षता एवं सदस्य सचिन वंशलले सहजीकरण गरेको पत्रकार भेटघाट कार्यक्रममा समाजका सक्रिय युवा मुकेशकुमार गोयल र राहुल वंशलले कार्यक्रमको थप व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।
कनकाई उद्योग वाणिज्य संघको आसपासमा रहेको हनुमान मन्दिरबाट मंगलबार विहान ९ बजेदेखी सुरुङ्गा बजार क्षेत्रमा निशान यात्रा सुरु हुने साथै मन्दिर परिसरमा अखण्ड रामायण पाठ, अष्टयाम संकीर्तन एवं निशान पुजनसहित संचालन हुने हनुमान जयन्तीमा गुरु पुरोहितहरुको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन लगायत कथा प्रवचन हुने आयोजक समितिले जनाएको छ । सोही अवसरमा आयोजक समितिले दिउँसो ११ बजेदेखी महाप्रसाद (भण्डारा) संचालन गर्ने जनाएको छ । सन्ध्याकालिन समयमा समेत विशेष कार्यक्रम संचालन गर्ने जनाइएको छ ।
संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ ।
अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्वप्रतिष्ठित ‘देव’ बनाएको बताइन्छ ।
हनुमान जयन्तीका अवसरमा स्त्री–पुरुष, बाल–वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजा आराधना गर्दछन् । हनुमानलाई बजरङ्गबलि पनि भनिन्छ किनकि हनुमानको शरीर एक बज्रको समान रहेको मान्यता छ ।
हनुमान पवनपुत्रको रूपमा चिनिन्छन् किनभने पवन देव (हावाको देवता)ले हनुमानको पालनपोषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धार्मिक मान्यता छ । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चतत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छ भनी शास्त्रीय ग्रन्थमा उल्लेख भएको पाइन्छ ।
हनुमानको पूजा आराधना गरेमा रोग व्याधि, बाधा, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिएकामा यस वर्ष हनुमान जयन्ती मङ्गलबार नै परेकाले पनि यसलाई विशेष अवसरका रुपमा लिन सकिन्छ ।