Kanakai Online

झापाकै ठूलो मुर्रा भैसी फर्म राज्यको नजरमा पर्न सकेन


आइतवार, माघ १५, २०७९ |

द्रोण अधिकारी

भद्रपुर । नेपालको तराइमा पाइने रैथाने जातको उन्नत नश्ल क्षमताको मुर्रा भैसी संकटमा परिरहेको तथ्याङ्क सार्वजनिक गरेर राज्यको निकाय चीर निन्द्राको शैलीमा बसिरहेको भए पनि संभवत झापाकै ठूलो मुर्रा भैसी फर्म राज्यको सानो सहयोग समेत नपाएर संकटले चलिरहेको अवस्थामा छ ।

सुवेदी कृषि फर्म नाममा भद्रपुर १ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्रा भैसी सहितको फारम रहेको छ । संकट पूर्ण अवस्थामा चलिरहेको भए पनि सो फर्मलाई सहज बनाउन राज्यका कुनै निकायले साथ सहयोग नदिँदा संकटमै चलिरहेको छ ।

भद्रपुर १ हिमाली चौक पृथ्वीनगरका ३५ वर्षीय अर्जुन सुवेदी रोजगारीका शिलशिलामा ११ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । ११ वर्ष कतारमा मजदुर भएर पसिना बगाएका अर्नुनले माशिक एक लाख ५० हजार तलव आइरहेको कम्पनी त्यागेर आफ्नै देशमा केही गर्ने सोच पालेर तीन वर्षयता भैसी पालनमा रमाइरहेका छन् ।

हुन त अर्जुनको परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको हो । यस यात्राले उनलाई अहिले आएर भने आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब उनी परदेशी माटोमा होइन आफ्नै देशको माटोमा निरन्तर रगत पसिना बगाउने अभियानमा छन् ।

उनले ३ वर्षयता भद्रपुर १ थाना चौक कमानसिंह मार्गको बस्तीमा आफ्नै स्वामित्वमा रहेको ७ कठ्ठा जग्गामा २६ लाख लगानीमा आधुनिक गोठ निर्माण गरी ५४ वटा भंैसी राखेर व्यवसायिक पशुपालन सुरू गरेका हुन् ।

उनले प्रदेश २ को सिराहा जिल्लाको लहानबाट अधिकाम्स मुर्रा जातका पाडीहरू खरिद गरेर ल्याएकोमा अब केही पाडीहरू बच्चा दिने तयारीमा पुगी सकेका छन् । स्थानीय रैथाने प्रजातिका मुर्रा भैसी भए पनि प्रतिभैंसी १० लिटरसम्मा दूध उत्पादन हुँन सक्ने उनको अनुमान छ । राज्यको कुनै निकायबाट सहयोग नपाइ कर्म गरिरहेका सुवेदीले अहिलेसम्म लगानीमै सिमित छन् । उनले एक वर्षका लागि ६ लाख रूपैयाको पराल मात्र खुवाउने गरेको बताउँछन् ।

वैदेशिक रोजगारको अनुभवले आफ्नै स्वरोजगार सोच पभलेर व्यवसायिक पशुपालन तथा कृषि उत्पादनको क्षेत्रमा होमिएका उनी वजारको उचित प्रबन्ध हुने हो भने दैनिक २ सय ५० लिटर बढी दूध उत्पादन गर्ने सोचमा छन् । उनले आफ्नो फर्मबाट उत्पादन हुने दुध खरिदका लागि केही दुग्ध डेरी सञ्चालकहरूले खरिद गरिदिने भन्दै फर्ममा आउने गरेको बताएका छन् । स्थानीय पशुपालक कृषकका सानो सानो परिणमको दूध संकलन गर्ने लक्ष्यका साथ चिस्यान केन्द्रले खोल्ने सोच समेत सुनाएका सुवेदीले १३ विगाह जमीन भाडामा लिएर घाँस खेती तथा कृषि उपज उत्पादन पनि गरिरहेका छन् ।

७ बिगाह जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी घास खेती गरेर पशु आहारको व्यवस्थापन गरिरहेका उनले मौसमी खेताका लागि ६ विगाह जमीन उपयोग गरिरहेका छन् । आफू सहित ३ जनालाई पूर्ण रोजगारी समेत दिएको सुवेदी फर्मबाट यतिखेर ४ विगाह क्षेत्रमा हरावरा तोरी फुलिरहेको दृष्यले त्यहा पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । पशु पालन र कृषि उपज तरकारी खेती तथा अन्न तेलहन खेती साथ साथै अगाडि लाने सोच पालेका उनको अनुरोध रोजगारीका लागि विदेशिने युवाहरूलाई अवसरका ढोकाहरू आफ्नै देशमा रहेको सुनाउँछन् ।

देशमै बसेर समृद्धिको वातावरण तयार गर्न रात दिन लागिरहेका सुवेदी जस्ता युवालाई स्थानीय सरकारले समेत नजिकबाट निहाल्न सकेको छैन ।

अघिल्लो नेतृत्वले बेवास्ता गरेपछि स्थानीय सरकारका कामप्रति अविश्वास पाल्न बाध्य अर्जुनले वर्तमान नगर नेतृत्वसित पनि खासै आशा पाल्न नसकेको बताउँछन् । जसलाई सरकारको सहयोग आवश्यक छ त्यसलाई सहयोग गर्न सरकारी पक्ष नलागेकै कारण युवाहरू विदेशिन बाध्य भएको तीतो अनुभव सुनाउने सुवेदी अर्काको देशको लाखले मात्र भविष्य सुनिश्चित नहुने भन्दै आफ्नै माटोमा केही वर्ष थोरै कमाइमा रमाएर भविष्य सुन्दर बनाउन सके देशको समृद्धिको यात्रामा एउटा इटा थपिने उनको कथन छ ।

नातावाद, कृपावा वा कागजी सहयोगका सबै विभेद बन्द गरेर वास्तविक उद्यमी युवालाई प्रोत्साहनको पोको खोलिनु पर्छ अनि मात्र देशले समृद्धिको यात्रा तय गर्न सक्ने छ भन्ने सोच पालेका सुवेदीले अहिलेसम्म सरकारका कुनै पनि निकायबाट सहयोग भने पाएका छैनन् ।

उनको फर्मसम्म पुग्ने बाटो वर्षादमा हिलाम्मे हुन्छ भने हिउँदमा हिडेर जान समस्या नभए पनि असहज अवस्थाको सामना गर्नु पर्छ । फर्म सञ्चालन वापत वडा कार्यालयलाई वार्षिक ७ हजार सहित ४३ हजार कर राज्यलाई बुझाइ रहेको सुवेदी कृषि फर्मले सुविधान भने एक पैसाको पनि पाउन सकेको छैन ।