डम्बर खतिवडा
हिन्दीमा एउटा उखान छ– ‘उपरवाले देता है तो छप्पर फाडके देता है !’ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि भर्खरै सम्पन्न आम चुनाव यस्तै सावित भएको छ । मतदातालाई ‘उपरवाले’ र रवि लामिछानेको पार्टीलाई ‘भक्त’ मान्ने हो भने भगवानले भक्तलाई छानो फोरेरै मत दिएका छन् ।
विश्व राजनीतिमा नै पनि यस्ता घटना विरलै भएका छन् । कुनै पनि स्वरुपको आन्दोलन विना नेपालको राजनीतिक इतिहासमा त यो पहिलो घटना हो । पार्टी गठन गरेको केही महिना नबित्दै यो स्तरको चुनावी सफलता कुनै राजनीतिक दलले पाएका थिएनन् ।
नेपालमा कांग्रेस, कम्युनिस्ट र राजावादी दललाई परम्परागत शास्त्रीय दल मान्ने प्रचलन छ । विचारका हिसाबले यी उदार लोकतान्त्रिक, साम्यवादी र सम्वर्द्धनवादी दल हुन् । १९९० सालयताको करिब एक शताब्दी समय देशको राजनीति यिनै तीन दल र विचारका वरिपरि नै घुम्ने गरेको थियो । यो चुनावमा पनि यी तीन दल र विचारधारा कुनै न कुनै रूपमा अस्तित्ववान र शक्तिशाली नै रहे । यो दशकौं पुरानो प्रवृत्तिकै पुनरावृत्ति भएको हुँदा यसमा कुनै आश्चर्य वा नयाँपन भएन ।
तर, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी चर्को गरी घन्टी बजाएरै उदायो । नयाँ र मध्यम वर्गीय शहरिया जनमत भएका निर्वाचन क्षेत्रमा मात्रै हैन, हारेका निर्वाचन क्षेत्रहरूमा पनि जुन सम्मानजनक मत ल्यायो । यो आश्चर्यजनक र नयाँ प्रवृत्ति नै हो । यो किन र कसरी संभव भयो ? यसका संकेत थिए कि यो आकस्मिक रूपमा भएको हो ? यसले भविष्यका लागि के संकेत गर्दछ ? यी निकै रोचक प्रश्न हुन् ।
कांग्रेस, कम्युनिस्ट र राजावादी बाहेकको प्रगतिशील–लोकतान्त्रिक वा समावेशी दल बनाउने प्रयत्न यसअघि नभएका हैनन् । २०४६ सालपछि नै डा. देवेन्द्रराज पाण्डेको नेतृत्वमा लोक दल बनाउने प्रयत्न भएको थियो । त्यसैगरी, कुवेर शर्माले ‘ग्रीन’ अवधारणालाई पक्रेर हरियाली पार्टी बनाउने प्रयत्न गरे । गजेन्द्रनारायण सिंहले मधेश मुद्दामा सद्भावना पार्टी र गोरेबहादुर खपाङ्गीले जनमुक्ति पार्टी बनाएका थिए । यी कुनै पनि प्रयास यो स्तरमा सफल भएनन् ।
निर्वाचन आयोगमा हरेक निर्वाचन अघि नयाँ–नयाँ दल दर्ता भए । यी सबैको सपना र सोच हुँदो हो– अहिलेको घन्टीले जस्तो तरक्की गर्ने । तर, कुनै पनि सफल भएनन् । २०७० को दशकमा तीन वटा दलले नयाँ राजनीतिक धार पक्रिन खोजे । उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली, रवीन्द्र मिश्र नेतृत्वको साझा र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी ।
यी पार्टीको पनि चर्चा र होहल्ला कम थिएन । तर, २०७४ को स्थानीय चुनावमा रञ्जु दर्शना र किशोर थापाले काठमाडौंमा पाएको मत कमजोर थिएन । २०७४ कै आम निर्वाचनमा दुई दल मिलेर बनेको विवेकशील साझाले झण्डै राष्ट्रिय थ्रेसहोल्ड छोएको थियो । प्रत्यक्षतर्फका यसका उम्मेदवारले उपत्यकामा अधिकांश निर्वाचन क्षेत्रमा सम्मानजनक तेस्रो मत ल्याएका थिए । बागमती प्रदेशको थ्रेसहोल्ड काटेर तीन जना प्रदेश सभा सदस्य पाएको थियो । यी प्रारम्भिक सफलताले भविष्यका लागि राम्रै संकेत गर्थे ।
तर, रवि लामिछानेले अहिले पाएका सफलता अगाडि ती निकै साना र पुड्का थिए । नेपाली मतदाताले रवि लामिछानेमा त्यस्तो के संभावना र आकर्षण देखे जो डा. देवेन्द्रराज पाण्डे, कुवेर शर्मा, गजेन्द्रनारायण सिंह, गोरेबहादुर खपाङ्गी, उज्ज्वल थापा, रवीन्द्र मिश्र, डा. बाबुराम भट्टराईमा पाएनन् ? यो आफैंमा एक रोचक अध्ययनको विषय हो ।
अब एक अन्तिम प्रश्नमा प्रवेश गरी यो आलेख बिट मार्न चाहन्छु । त्यो हो– रवि लामिछानेको नेतृत्व क्षमता र उनको पार्टीको भविष्य के ? कतै यो पार्टी हिजोको विवेकशील साझा जस्तो त हुँदैन ? रवि अर्को रवीन्द्र मिश्र त हुँदैनन् ? के हो यो पार्टीको नीति, सिद्धान्त, विचार र एजेण्डा ? के रविले यति धेरै भोटको गरिमा र इज्जत जोगाउन सक्लान् ?
वास्तवमा संसारमा जुन कुनै र जे–जति परिघटना हुन्छन्, त्यसमा जे परिणाम आउँछन्, त्यसैको आफ्नै ‘टाइम एण्ड स्पेश’, आफ्नै परिवेश र पारिस्थितिकी हुन्छन् । त्यसका तारतम्य मिल्यो भने आश्चर्यजनक र चामत्कारिक परिणाम आउँछन् । मिलेन भने जस्तै भुखुन्ड प्रयत्नले पनि परिणाम नदिन सक्दछ ।
यस–पटकको चुनावमा कुनै न कुनै प्रकारको ‘ब्यालेट विद्रोह’ हुन सक्दछ भन्ने अनुमान गत स्थानीय चुनावमा ‘अन्डर करेन्ट’ थियो तर, यसपटक सतहमा आइसकेको थियो । विशेषतः स्थानीय चुनावमा बालेन्द्र शाह र हर्क साम्पाङको विजयले त्यसको संकेत गरिसकेको थियो । तर, तथाकथित मूलधारका शीर्ष नेताहरूले यो बुझ्दै नबुझेका पनि हैनन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदको रोष्टमकै उभिएर ‘हामी बढारिन पनि सक्दछौं’ भनेका थिए । नभन्दै घन्टीको लहरले स्वयं उनकी छोरी मानुषी यमी भट्टराई पनि बढारिइन्, जो तुलनात्मक रूपमा ‘रातो स्टिकर’ टाँसेको ‘थोत्रो पुरानो’ दल की ‘नयाँ, असल र सक्षम’ उम्मेदवार मानिएकी थिइन् ।
तर, पुराना शीर्ष नेताहरूको ‘नयाँ करेन्ट’ लाई ‘रेस्पोन्स एण्ड ट्याकल’ गर्ने तरिका भने ठीक उल्टो थियो । उनीहरूले गठबन्धन र तालमेलको नाममा राजनीतिक सिन्डिकेटतन्त्र खडा गरी मतदाताका विकल्पहरू सीमितीकरण गर्ने र मतदातालाई छेकारो मारेर आफ्नो ढोक्सीमा हाल्ने मूर्ख र अलोकतान्त्रिक तरिका अवलम्बन गरे । फलतः मतदातामा असन्तुष्टि र विद्रोहको लहर झनै विस्तार भयो ।
रवि लामिछानेको उदय बालेन्द्र शाह उदयकै अर्को शृंखला हो । यी दुई घटनाबीच प्रष्ट देखिने तारतम्य छ र सायद आन्तरिक सहकार्य पनि । रवि लामिछानेको ‘घन्टी पार्टी’ मा बालेन्द्र शाहका समर्थकहरू कुनै न कुनै रूपमा सक्रिय थिए । त्यसैगरी पूर्वविवेकशील साझाका पुकार बम र विराजभक्त श्रेष्ठ लगायतकाहरू जोडिएको कारणले पनि त्यो आन्दोलनको विस्तार भएको थियो ।
रञ्जु दर्शना र मिलन पाण्डे गत चुनावमा उपत्यकामा नयाँ पुस्ताका ‘आइकन’ वा ‘हिरो’ जस्ता थिए, यो चुनावमा उनीहरूले जमानत पनि कटाउन सकेनन् । यसमा उनीहरूको कुनै दोष वा कमजोर छैन । यो सबै परिवेश र पारिस्थितिकीको खेल हो । संसारमा कुनै पनि मान्छे त्यति शक्तिशाली हुँदैन, र त्यति कमजोर पनि हुँदैन कि उसले ‘टाइम एण्ड स्पेस’ बाहिर गएर नतिजा दिओस् । मान्छेको सक्षमता त्यतिखेर देखिने हो जब उसले ‘टाइम एण्ड स्पेस’ सँग तारतम्य मिलाएर कदम चाल्छ वा स्वाभाविक तवरले मान्छेले चालेका कदम ‘टाइम एण्ड स्पेस’ सँग अनुकूल हुन पुग्दछन्– संयोगले नै किन नहोस् ?
रवि लामिछानेको उदय हुनु पछाडि प्रष्ट देखिने पाँच वटा ठूला कारण छन् ।
एक– विगत पाँच वर्षमा देशमा भएका बेथिति, भ्रष्टाचार, अस्थिरता, दम्भ, अहंकारको लडाईं र कुशासनबाट विरक्त भएको युवा पुस्ता र शहरिया मध्यम वर्ग । ग्रामीण क्षेत्रका आम जनता पनि यी चिजबाट विरक्त थिए तर, शहरमा मान्छे विद्रोही मनोविज्ञानको सशक्तीकरण भइसकेन ।
दुई– नयाँ पुस्ताको मतदाता अनुपातमा वृद्धि । उत्तरआधुनिक युगको नयाँ पुस्ताले हिजोको जस्तो शास्त्रीय ‘इनडक्ट्रिनेसन’ मन नपराउनु स्वाभाविक थियो । भनिन्छ– गत वैशाखको स्थानीय चुनावदेखि पहिलो पटक मतदान गर्न थालेको नयाँ पुस्ताको संख्या ३० लाख पुग्न लागेको छ ।
तीन– डिजिटल स्पेसको बढ्दो प्रभाव र ग्लोबल सिटिजनको भावना । युट्युब र सामाजिक सञ्जालले परम्परागत मिडिया वा कुनै संस्थाले मान्यता दिएपछि मात्रै कसैको व्यक्तित्व स्थापित भएको मानिने र त्यस्तो व्यक्तित्वलाई भोट गर्ने प्रचलन अब आम रूपमा बाँकी रहेन ।
साथै, विश्वभरि धेरै छरिइसके । भर्खरै प्रकाशित संयुक्त राष्ट्रसंघको एक जनसंख्या प्रतिवेदनका अनुसार सन् २०१०–२०२१ बीचमा सबैभन्दा बढी अन्तरदेशीय बसाइँसराइ गर्ने देशमा नेपाल चौथो स्थानमा छ । यस १० वर्षमा कम्तीमा १६ लाख नेपाली विश्वभरि छरिएका छन् । ती सबै नेपालको जनगणनाको तथ्यांकमा समेटिएका पनि छैनन् ।
यसले गर्दा नेपालीले विश्वभरिको विकास, सुशासन र आर्थिक समृद्धि देख्ने अवसर पाएका छन् । आफ्नो देश पनि त्यस्तै भइदिएहुन्थ्यो भन्ने आकांक्षा, अपेक्षा, भावना र सपना उनीहरूमा व्यापक वृद्धि भएको छ । उनीहरूले नेपालमा बस्ने परिवार सदस्य र आफन्तलाई नयाँ राजनीतिक शक्तिलाई साथ दिन अनुरोध गरे । आफूलाई वैश्विक नागरिकका रूपमा अनुभूत गर्दै गएपछि मान्छेको दिमाग स्थानीय मुद्दाको प्रभावबाट बाहिर आउँछ, र त्यसले नयाँपनलाई स्वाभाविक मान्दछन् । त्यसको समेत व्यापक प्रभाव प¥यो ।
चार– यसपालि वैकल्पिक राजनीतिको ‘स्पेस’ पूरै खाली त थिएन तर त्यो एकोहोरिएको थियो । रवीन्द्र मिश्रको राप्रपा प्रवेश र डा. बाबुराम भट्टराईको ‘माओवादी फिर्ती’ ले हिजो विवेकशील, साझा र नयाँ शक्तिले बनाएका अभियन्ता, समर्थक र मतदाता तितरवितर भएका थिए । यो स्पेशमा थोरै प्रतिस्पर्धा लौरो अभियानले गरिरहेको थियो तर, मान्छेको ध्यान घन्टीको आवाजले खिच्यो ।
र, पाँचौं– अन्तिम समयमा राजनीतिक दलहरूले बनाएको गठबन्धन र तालमेल नामको सिन्डिकेटतन्त्रबाट असन्तुष्ट मतदाता । जसले सामान्यतया माओवादी केन्द्रको हँसिया हथौडा चिहृनमा मतदान गर्न इच्छा राखेनन् ।
विचार लुकाएर, एजेण्डामा अस्पष्ट वा मझधार बसेर अघि बढ्न सक्ने संभावना अब रविका लागि समाप्त भएको छ । संसदमा सत्ताको चाबी उनको पार्टीसँग आउने संभावना पनि छ । कसको गठबन्धनमा किन सामेल हुने र त्यो सरकारले कस्ता नीति, योजना र कार्यक्रम ल्याउने भन्ने विषयमा कुनै तटस्थता हुनसक्दैन
म काठमाडौंको त्यस्तो टोलमा डेरा बस्छु, जहाँ अधिकांश मतदाता कांग्रेस समर्थक मात्र हैन, कांग्रेसका क्रियाशील सदस्य र कमिटीमा समेत आबद्ध छन् । तिनले माओवादी केन्द्रबाट उठेकी पूर्वसभामुख ओनसरी घर्तीलाई मत दिने कुनै इच्छा राखेनन् । बरु राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई भोट दिए । गौतमले जितिनन् मात्र घर्तीले शर्मनाक जस्तो हार बेहोरिन् । सभामुख भइसकेकी राष्ट्रिय व्यक्तित्व त्यति ठूलो गठबन्धनबाट चुनाव लड्दा प्रमुख प्रतिस्पर्धी समेत बन्न सकिनन् ।
के यी मतदाताले अब कांग्रेससँगको सम्बन्ध तोड्छन् ? भन्न सकिन्न । उनीहरू कांग्रेसकै पार्टी संगठन र राजनीतिक जीवनमा फर्किन पनि सक्दछन् । तर, देशैभरि त्यहाँ–त्यहाँ घन्टीले धेरै भोट पाएको देखिन्छ जहाँ–जहाँ कांग्रेस समर्थक मतदाताको बहुलता र माओवादी केन्द्रका उम्मेदवार थिए । अर्कोतिर त्यस्ता निर्वाचन क्षेत्रमा पनि घन्टीले धेरै भोट पाएको देखिन्छ, जहाँ कांग्रेस एमालेका निकै पटक दोहोरिएका पुराना उम्मेदवार थिए ।
रवि लामिछानेको आक्रामक टिभी एङ्करिङको व्यक्तित्वले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको विश्लेषण सतही हो । हुन सक्छ, त्यसको पनि अधिकतम २५ प्रतिशतसम्म योगदान छ । तर, मुख्य कुरा– माथिका पाँच कारण हुन् ।
अब एक अन्तिम प्रश्नमा प्रवेश गरी यो आलेख बिट मार्न चाहन्छु । त्यो हो– रवि लामिछानेको नेतृत्व क्षमता र उनको पार्टीको भविष्य के ? कतै यो पार्टी हिजोको विवेकशील साझा जस्तो त हुँदैन ? रवि अर्को रवीन्द्र मिश्र त हुँदैनन् ? के हो यो पार्टीको नीति, सिद्धान्त, विचार र एजेण्डा ? के रविले यति धेरै भोटको लाज जोगाउन र इज्जत धान्न सक्लान् ?
अक्सर आकस्मिक उदाएका नेताहरू उसरी नै हराएका उदाहरण विश्व राजनीतिमा धेरै छन् । भारतीय राजनीतिमा अमिताभ बच्चन कुनै यसरी नै उदाएका थिए । तर, पछि आफैं स्वीकार गरे– ‘राजनीति मेरो क्षेत्र हैन रहेछ ।’ त्यसो त युक्रेनका जेलेन्स्की जस्ता उदाहरण पनि छन्, जो सेलिब्रेटी व्यक्तित्वबाट एकाएक राष्ट्रपति भएर युद्धजस्तो असहज परिस्थितिमा पनि डटिरहेका छन् ।
रविको पार्टीले संघीयता, समावेशिता र आरक्षणको विरुद्धमा जाने प्रष्ट संकेत दिइसकेको छ, जो नेपाली राजनीतिको पछिल्लो एक महत्वपूर्ण प्रगतिशील मुद्दा हो । त्यसैको सन्देश दिन पार्टीले प्रदेशसभातिर उम्मेदवारी दिएन । रविले प्रदेशको व्यालेटमा भोट हालेनन् । बालेन्द्र शाहले प्रदेशतिर मतदान गर्न अस्वीकार मात्र गरेनन् मतदान केन्द्रका सामु ‘हिरोइज्म’ प्रस्तुत गरेर उनी यी मुद्दाप्रति कति नकारात्मक छन् भन्ने छर्लङ्ग पारे ।
विचार लुकाएर, एजेण्डामा अस्पष्ट वा मझधार बसेर अघि बढ्न सक्ने संभावना अब रविका लागि समाप्त भएको छ । संसदमा सत्ताको चाबी उनको पार्टीसँग आउने संभावना पनि छ । कसको गठबन्धनमा किन सामेल हुने र त्यो सरकारले कस्ता नीति, योजना र कार्यक्रम ल्याउने भन्ने विषयमा कुनै तटस्थता हुन सक्दैन ।
नागरिकता ऐन संशोधन विधेयक र राष्ट्रपतिको असंवैधानिक अप्रमाणीकरणको मुद्दा जटिल भएर बसेको छ । यस मुद्दामा रवि र उनको पार्टीको पक्षधरता के रहन्छ ? प्रधान न्यायाधीशको थाती महाअभियोग मुद्दामा उनका सांसदले कता भोट हाल्लान् ?
यी त केही उदाहरण मात्र हुन् । संसदमा राष्ट्रिय जीवनका यस्ता केही न केही मुद्दा आइरहन्छन् । त्यसमा रवि र रविको पार्टीको धारणा र पक्षधरता के कस्तो हुन्छ ? रास्वपाको वास्तविक परीक्षा अब सुरु हुन्छ ।
यस्ता सबै परिबन्धबाट गुज्रेर वा बचेर पनि रविले पार्टीले जोगाए भने मान्नुपर्छ, उनीसँग राजनीतिक नेतृत्वको क्षमता छ र देशका लागि उनले केही योगदान गर्न सक्लान् । अन्यथा अर्को चुनावसम्म पुग्दा नपुग्दा उनी पनि अर्को रवीन्द्र मिश्र नहोलान् भन्न सकिन्न ।
अहिलेलाई भने विना पूर्वाग्रह शंकाको सुविधा दिन पर्छ । रास्वपा र यसका नेता रवि लामिछानेलगायत सबै अभियन्तालाई हार्दिक बधाई तथा शुभकामना !