Kanakai Online

झापा १ हेभिवेटका शर्मा र खरेलको प्रतिस्पर्धा


सोमवार, असोज ३१, २०७९ |

कनकाई अनलाईन
नेपालको पुर्वीद्धार झापा १ मा नजिकिदो मंसिर ४ को निर्वाचनको मितिसगै चुनावी सरगर्मी बढेको छ ।
झापा १ यस अर्थमा पनि महत्वपुर्ण रहेको छ कि यस क्षेत्रबाट दुई हेभिवेट उम्मेद्धारहरु नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्व कानुनमन्त्री अग्नि खरेल आमने सामने हुनुभएको छ । झापा १ मा यसपटक प्रतिनिधिसभामा १५ र प्रदेशसभाका दुई क्षेत्रबाट १६ जना उम्मेद्धारहरु चुनावी दौडमा रहनुभएको छ ।
यसअघि प्रतिनिधिसभाका राप्रपा नेपालका उम्मेद्धार सन्तराज कार्कीले उम्मेद्धारी फिर्ता लिनुभएको थियो । झापा १ मा मुख्य प्रतिस्पर्धा कांग्रेस, माओवादी र नेकपा एसका गठबन्धनका उम्मेद्धार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र एमाले र राप्रपाका उम्मेद्धार एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलविच हुने भएको छ ।

कांग्रेसहितका सत्ता गठबन्धनका दलहरूको साथ, राजनीतिक रूपमा निरन्तर अग्लिँदै गएको आफ्नै व्यक्तित्वको बलमा महामन्त्री शर्माले बलियो संगठन भएको र क्षेत्रमा रहेको स्थानीय सत्ताको नेतृत्व गरेर बसेको एमालेका खरेलसँग
प्रतिस्पर्धा गर्नुपर्नेछ ।

झापा–१ मा दुबै प्रतिस्पर्धी ढुक्क हुने अवस्थामा नरहेको दुबैको चुनावी प्रचार शैलीले समेत देखाएको छ । आफ्नो स्थानीय क्षेत्रको लाभ शर्मालाई रहेको भएपनि परम्परागत जनमतका हिसाबले एमाले बलियो रहेकोले यसको लाभ भने खरेलले पाउँने अडकलबाजी गरिएको छ ।
शर्मालाई आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएको आधारमा एमालेको ठूलो जनमत आफूतिर तान्नुपर्ने चुनौती थपिएको छ ।

२०७४ को स्थानीय चुनावमा यो क्षेत्रमा वाम गठबन्धन झन्डै १४ हजार मतान्तरले अघि रहेको पाइएको छ । तर, चुनावी परिणाम सार्वजनिक हुँदा शर्माले उल्लेख्य आकारमा यो मतअन्तर घटाउनुभएको थियो । त्यसबेला राम कार्कीले ३६ हजार १७३ मत पाएर जित्दा शर्माले ३३ हजार ३१० मत पाउनुभएको थियो । यसरी १४ हजारले पछि परेको क्षेत्रमा शर्माले भने २ हजार ८६३ मतले मात्रै पराजय व्यहोनुपरेको थियो ।

कांग्रेस र गठबन्धन दलका नेताहरूको स्थानीय चुनावको गणित शर्माले बदल्ने दाबी छ । जनप्रतिनिधि नहुँदै पनि शर्माले यो क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएको र त्यसबारे जनता जानकार रहेको गठबन्धनको दावी छ ।

‘स्थानीय चुनावको गणितले काम गर्दैन भन्ने २०७४ सालमै देखिसकेको छ। त्यसबेला कांग्रेसको २४ हजार हाराहारी मात्रै मत भएका बेला ३३ हजारभन्दा बढी मत आयो। यदि त्यो गणितले काम गर्थ्यो भने मतान्तर ज्यादै ठूलो हुनुपर्ने होइन र?,’ कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भन्नुभयो ।

शर्माले जनप्रतिनिधि नहुँदै पनि क्षेत्रको विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बाहुनडाँगीमा हात्ती छेक्ने बार लगाउन पहल गरेको र शर्माकै पहलमा ग्रेटर रिङरोडको अवधारणा अघि सारेको शर्मा समर्थकको भनाई छ । कांग्रेसका समर्थकहरूले समेत क्षेत्रमा अहिले विश्वप्रकाशले जिते कांग्रेसमा ‘गगन–विश्व’ को पुस्ता नै प्रधानमन्त्री बन्ने अवस्था सिर्जना हुने र त्यसले परिवर्तनको सुरूआत हुने नारा लगाउदै भोट माग्ने गरेको पाइएको छ ।

यता एमाले र राप्रपा समर्थकहरू पनि खरेल ओलीको विश्वासपात्र भएकाले ओली प्रधानमन्त्री हुँदा खरेल मन्त्री बन्ने प्रचार गर्दै घरदैलोमा रहेको पाइएको छ । एमाले राप्रपा नेताहरूको पनि दावी खरेलले विकासका काममा नेतृत्व गर्ने क्षमता राख्ने र यस क्षेत्रमा विकासका योजना ल्याउने तर्क छ ।

खरेलको विकासका काममा नेतृत्व गर्ने क्षमता पनि छ, नेपालको ब्युरोक्रेसीमा राम्रो पकड भएका कारण पनि उहाँलाई त्यो काम गर्न सहज छ’, एमाले नेता श्रीप्रसाद मैनालीले भन्नुभयो , ‘उहाँले झापाका डोमालाल रंगशाला भूमाफियाबाट फिर्ता ल्याउनेदेखि विकास निर्माणका धेरै काममा नेतृत्व गर्नुभएको छ।’
यसबाहेक पार्टीको संगठन र स्थानीय चुनावको मतले पनि खरेलको पक्षमा बलियो माहोल रहेको मैनालीले दाबी गर्नुभयो ।

दुवै पक्षले आ–आफ्नो दाबी अघि सारिरहेका बेला आउँदो चुनावमा पछिल्लो स्थानीय चुनावकै गणित निर्णायक हुने अवस्था कायम रह्यो भने झापा–१ मा तेस्रोपटक चुनावी परीक्षामा होमिएका महामन्त्री शर्मा फेरि समस्यामा पर्न सक्ने तर यसअघि दुई पटक पराजित भइसकेका उनले मतदाताको सहानुभूति पाउने सम्भावना पनि उत्तिकै रहेको भन्दै ‘जतिपटक हारे पनि क्षेत्र नछोड्ने’ शर्माको छविप्रति मतदाता सकारात्मक बन्ने अपेक्षा कांग्रेस वृत्तमा छ ।
मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरका ९ र १० नम्बर अनि बुद्धशान्ति गाउँपालिकाका चार वटा वडाहरू ४, ५ , ६, ७ समेटिएको यो क्षेत्रमा १ लाख २० हजार ३७५ मतदाता छन् ।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार २ सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ। राप्रपासँग ५ हजार ९२२ मत रहेको क्षेत्रमा माओवादीसँग ३ हजार ९०५, एकीकृत समाजवादीसँग १ हजार २५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २६२ मत छ।

यो हिसाबले एमाले–राप्रपा गठबन्धनसँग यहाँ ३७ हजार १५४ मत छ भने सत्ता गठबन्धनसँग २९ हजार ४७८ मत छ। यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ। प्रदेश सभाको क्षेत्र ‘ख’ पाएको राप्रपाबाट सविना बजगाईं उम्मेदवार बनेकी छन् भने टिकट नपाएपछि राप्रपाका पुराना नेता कल्याण खड्काले राप्रपा नेपालबाट उम्मेदवारी दिनुभएको छ ।
झापा १ बाट यसअघि विश्वप्रकाश शर्माले दोस्रो संविधानसभामा एमालेका रविन कोइरालासग र गत २०७४ सालको प्रतिनिधिसभामा माओवादीका उम्मेद्धार राम कार्की पार्थ सग पराजित हुनुपरेको थियो । यसकारण पनि तेस्रो पटकमा रागो पनि छिनाउने भन्दै विश्वप्रकाशले पटक पटक चुनावी सभामा बोल्दै आउनुभएको छ ।

एमाले उम्मेद्धार खरेलको झापा क्षेत्र नम्बर २ मा आफ्नो गतिविधि गर्दै आएपनि निर्वाचनमा भने एमालेका विश्वासपात्र मानिने खरेललाई झापा १ मा टिकट दिएको छ । यो क्षेत्रमा एमालेका तर्फबाट केन्द्रिय सदस्य रविन कोइरालाको एकल नाम सिफारिस भएको भएपनि टिकट भने खरेललाई दिइएको छ । प्रतिनिधिसभाका उम्मेद्धार कोईरालालाई भने प्रदेशमा टिकट दिइएको छ ।

सम्बन्धित खबर