Kanakai Online

भद्रपुर नगरपालिकाले बृक्षारोपण गरेर मनायो विश्व वातावरण दिवस


आइतवार, जेठ २३, २०७८ |

गंगा बराल
भद्रपुर नगरपालिकाले नगरपालिकाभित्रका विभिन्न स्थानमा बृक्षारोपण गरेर ४८ औं विश्व वातावरण दिवस मनाएको छ ।
नगरप्रमुख जीवनकुमार श्रेष्ठको अग्रसरतामा नगरपालिकाको नयाँ प्रशासनिक भवन, वडा नं ५ र ७ नवनिर्मित वडा कार्यालय परिसरमा विभिन्न जातका फलफूल तथा वनस्पतिका विरुवा रोपेर नगरपालिकाले शनिबार विश्व वातावरण दिवस मनाएको हो ।
नगरपालिका परिसरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख श्रेष्ठले विरुवा रोपेर बृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो । वातावरण शाखा प्रमुख प्रमोद प्रधानले सञ्चालन गरेको संक्षिप्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले प्राणीजगतका लागि स्वच्छ वातावरण र स्वच्छ वातावरणका लागि बोटविरुवाको महत्वका बारे प्रकाश पार्नुभएको थियो । बृक्षारोपणमा उपप्रमुख चन्द्रा श्रेष्ठ, शाखा प्रमुखहरु, नगरप्रहरी, सरसफाइ कर्मचारीहरुसमेतको सहभागिता रहेको थियो ।
नगरपालिकाले लिची, आँप, अमला, जामुन, लटहर, कागती, तेजपत्ता, अम्बा, इन्चाज जातका करिब सयवटा विरुवा रोपेको थियो ।
यस वर्षको वातावरण दिवसको राष्ट्रिय नारा‘नयाँ सोच र श्रृजना, प्राकृतिक प्रणालीको पुनस्र्थापना“ भन्ने रहेको छ ।
यसैगरी, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले पनि आफ्नो वन परिसरमा बृक्षारोपण गरेर दिवस मनाएको समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिनु भयो ।

सम्बन्धित खबर