लेखक-उदय मैनाली
हाम्रो पुर्वीय दर्शनको महत्वपूर्ण अंगको रुपमा रहेको अभिवादन गर्ने संस्कार निकै पुरानो र बोधगम्य छ । साना, ठुला, साथीभाई, गुरु, माता पिता, आफन्त, कुटुम्ब, इष्टमित्र, छरछिमेकी सबैलाई सम्बन्ध र उमेर अनुसारको अभिवादन गर्ने चलन रहेको छ । अभिवादन गर्ने धेरै प्रकारका तरिका र प्रचलन रहेतापनि नमस्कार वा नमस्ते नै सबैभन्दा प्रचलित र सर्वमान्य प्रकृतिको रहेको छ । नमस्कार आम रुपमा सबैले कुनै न कुनै समयमा कसै न कसैलाई गरेको सामान्य विषय हो तथापी आज आलेख मार्फत पङ्तिकारले नमस्कार वा नमस्तेको आध्यात्मिक महत्ता उजागर गर्न खोजेको छ । आध्यात्मिक दृष्टिकोणमा नमस्कारको अर्थ र महत्वलाई प्रष्ट पार्न खोजीएको छ ।
नमस्कार वा नमस्ते भारतीय महाद्धिपमा अभिवादन गर्ने एक प्रचलित चलन हो । यसको प्रयोग कुनै व्यक्तिसँग मिल्ने अथवा बिदाई गर्ने समय दुवैमा प्रयोग गरिन्छ । नमस्कार गर्ने समय व्यक्तिको पीठ अगाडी तर्फ झुकी छातीको मध्यमा हात एक आपसमा जोडी, औँलाहरु आकाशतर्फ हुन्छन् । यो मुद्राको साथ साथै व्यक्ति नमस्ते वा नमस्कार शब्द उच्चारण गर्दै अभिवादन गर्दछ । हात र शरिरको यो मुद्रालाई नमस्कार गरेको भनिन्छ । नमस्कार एक संष्कृत शब्द हो जुन संष्कृत भाषाको नमः शब्दबाट लिएको हो, जसको अर्थ हो प्रणाम गर्नु भन्ने हुन्छ । हाम्रो हिन्दु धर्म संष्कृति अनुसार हामी प्रत्येक प्राणी भित्र ईश्वरीय शक्ति रहेको हुन्छ, जसलाई हामी आत्मा भन्दछौँ । नमस्कार गर्दा एक व्यक्तिको आत्माले दोस्रो व्यक्तिको आत्मालाई अभिवादन गरेको विश्वासका आधारमा हामी नमस्कार गर्ने गर्दछौँ । नमस्कारको आध्यात्मिक शोध गर्दा एक व्यक्तिले अर्को व्यक्तिलाई नमस्कार गर्दा आध्यात्मिक रुपले प्रशस्त लाभ र सात्विक अभ्यासको विकास हुने रहेछ । कसैलाई नमस्कार गर्नु भनेको उक्त व्यक्तिमा दैवी रुप देख्नु हो अतः यसको अभ्यासले जीवमा दैवीक चैतन्य आकर्षित भई आध्यात्मिक भावको बास हुन्छ ।
जुन भावबाट हामीमा कृतज्ञता र भक्ति उत्पन्न भई अध्यात्मको विकास हुन्छ । हामीले नमस्कार गर्ने संस्कारको पालना गर्दा हामीमा विनम्रता बढ्ने र अहमताको अन्त्य हुँदै जाने हुन्छ । किनकी नमस्कार गर्दा हामीमा यस्तो विचार उत्पन्न हुन्छ की जसलाई नमस्कार गरिन्छ उक्त व्यक्ति प्रति श्रद्धा बढ्दछ र तपाई म भन्दा श्रेष्ठ हुनुहुन्छ, म तपाईको अधिनस्त छु, म भन्दा ज्ञानी र सर्वज्ञ हुनुहुन्छ भन्ने भावनाको श्रीगणेश भई अहंकार कम हुँदै जान्छ ।केही शाष्त्रार्थीहरुको विचारमा पुर्वीय दर्शनको अनमोल धनको रुपमा रहेको नमस्कार गर्ने मुद्रा दैवी चैतन्य भन्दा देहमा अवशेषीत रहन्छ भनेका छन् । नमस्कार वा नमस्ते शब्द उच्चारण गरी मुद्रा धारण गर्नाले आकाशतत्वको आवाहान हुन जान्छ । पृथ्वीतत्वको पनि आवाहन हुन्छ । त्यस्तै सृष्टीका पाँच तत्व पञ्च महाभुतको आवाहन हुन्छ र मानव देह सकारात्मक अध्यात्मिक स्वरुपमा विकसित हुँदै जान्छ । त्यती मात्र आजको वैज्ञानीक युगमा समेत उच्च कोटीको अभिवादनको स्वरुप मानिएको नमस्कारले व्यक्ति–व्यक्ति बिच हुने शारीरिक सम्पर्क कम गराउँदछ, जसले गर्दा अर्को व्यक्तिमा भएको नकारात्मक उर्जा प्रवाहलाई न्युन गराउँदछ । साथै विज्ञानको विकाससँगै भित्रिएका विभिन्न सरुवा संक्रामक रोगहरुबाट बच्न मद्दत गर्दछ । यसरी नमस्कार गर्ने दुवै व्यक्तिहरु बिचको नकारात्मक स्पन्दन कम भई सात्विक स्पन्दनको लाभ प्राप्ती हुन्छ ।
नमस्कारबाट उत्पन्न हुने सुक्ष्म ज्ञानको बारे शोधकर्ता कु. प्रीयंका लोटलीकरले अति सक्रिय छैठौँ इन्द्रियको प्रयोग गरी नमस्कार गर्दा पैदा हुने अध्यात्मिक ज्ञानको आवृति दर्शाउन नमस्कारबाट उत्पन्न हुने स्पन्दनको सुक्ष्म चित्रको विकास गर्नु भएको छ । जसानुसार जसलाई नमस्कार गरिएको छ उसको अध्यात्मिक स्तर ५० प्रतिशत हुन्छ भने जसले नमस्काु गर्दछ उसको अध्यात्मिक स्तर ३० प्रतिशत हुन्छ भनिएको छ । उनका अनुसार जब एक व्यक्ति अर्को व्यक्तिलाई नमस्कार सहित अभिवादन गर्दछ उससँग यस्तो भावनाको उत्पती हुन्छ की म सक्षम व्यक्तिको आत्मा प्रति आफ्नो श्रद्धा प्रकट गरिरहेको छु । तब त्यस व्यक्ति भित्र भावको एउटा चक्रको निर्माण हुन्छ । सामान्यतया हामी एक हातले, अथवा दुवै हात नजोडी, मुखले नमस्कार उच्चारण गरेर मात्र अथवा अन्य विभिन्न तरिकाले नमस्कार अभिवादन गर्ने गर्दछौँ तर रित पूर्वक नमस्कार गर्न अन्तकरणदेखी आँखा बन्द गरेर, दुवै हातमा कुनै पनि वस्तु नराखी, शरीरको मध्य भाग भन्दा माथी र गर्धनभन्दा तल, शरीरबाट नजीकको दुरीमा राखी नमस्कार गरिएको व्यक्तिसँग स्पष्ट हुने गरी नमस्कार उच्चारणको साथ गर्नुपर्दछ । सारांशमा संसार भरी चलेका अभिवादनका सबै प्रकारहरु मध्ये नमस्कार वा नमस्तेलाई Spiritual Science and Research Foundation ले सर्वाधिक सात्विक र उत्कृष्ट अभिवादनको विधि भन्दै यसलाई सकेसम्म व्यवहारमा प्रयोग गर्न सुझाएको छ ।
यो एक प्रकार साधना वा योगको प्रकार समेत भएको भन्दै उक्त संस्थाले कसैको संस्कार वा प्रथामा नमस्कारको चलन छैन भने शुरु गर्न सम्म भनेको छ । भावपूर्ण नमस्कारले अनुशासन, साधना, भक्ति, श्रद्धा र व्यक्तिमा सकारात्मक सोचको उदय गराउँदछ । तर निरन्तर यसको अभ्यासमा कमी आउँदै गरेको हाम्रो समाजमा आजकालका आधुनिक मानिएका व्यक्तिहरु हाँसो र मजाकको विषय बनाउने गरेका छन् । कतिपयलाई त नमस्कार वा नमस्ते भन्न लाज लाग्छ समेत भनने गरेका छन् । वास्तवमा हाम्रो संस्कार र संष्कृति भनेको नमस्कारबाट शुरु हुन्छ, जसको मूर्त दृष्टान्त हरेका दिनको शुरुवात सूर्य नमस्कारबाट गरिनु पनि हो । हामीले आजैदेखी हाम्रा कलिला बालबालिकालाई सरकारी विद्यालय र गुरुकुलमा पढ्ने पढाउनेले मात्र नमस्कार भन्नु पर्छ, हामी अंग्रेजी माध्याम पढ्ने पढाउनेले गुड मर्निङ र गुड इभिनिङ भन्ने हो खालको विचार नसिकाई नमस्कारलाई राष्ट्रिय अन्तराष्ट्रिय सबै ठाउँमा प्रयोग गरिने अभिवादनको विशिष्ट स्वरुप हो भनेर सिकाउन जरुरी भइसकेको छ ।